समानुपातिक प्रणालीको दुरूपयोग

संविधानले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रर्णालीलाई अबलम्वन गरेको छ । सिमान्तकृत वर्ग, समुदायलाई नीति निर्माणको तहमा ल्याउन समानुपातिक प्रर्णालीको प्रावधानलाई आत्मसाथ गरिएपनि त्यसको दुरूपयोग हुने गरेको छ । आउँदो मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि राजनीतिक दलहरूले गरेका उम्मेदवार सिफारिसको सूचि हेर्दा पनि त्यही देखिन्छ । दलहरूले प्रत्यक्षसँगै समानुपातिक निर्वाचन प्रणालीका लागि पनि उम्मेदवार सिफारिस गरिसकेका छन् । समानुपातिकतर्फको सिफारिस सूचिमा भने पटक–पटक अवसर पाएकाहरू नै दोहोरिएका छन् । प्रमुख राजनीतिक दलको समानुपातिक सिफारिस विवरण हेर्दा पहुँचवाला नेता, केन्द्रीय नेतृत्वका निकटस्थ तथा बारम्बार सांसद र मन्त्री भइसकेका अनुहार नै बढी छन् ।

उदाहरणका लागि नेपाली कांग्रेसका नेता शिवराज जोशी सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिभा सदस्यका लागि समानुपातिकतर्फ सिफारिस भएका छन् । २०४८ सालदेखि पटक–पटक चुनाव लड्दै आएका जोशी पूर्वमन्त्रीसमेत हुन् । कांग्रेसले उनैलाई अहिले फेरि प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनाएको छ । कांग्रेसले कर्णाली प्रदेश सरकारका बहालवाला मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई पनि यसपालि प्रतिनिधिसभामा पठाउन चाहेको छ । उनलाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरिएको छ । बुढाक्षेत्री २०७४ को निर्वाचनमा समानुपातिकबाटै प्रदेशसभा सदस्य भएका थिए । उनी अहिले कर्णालीका सामाजिक विकासमन्त्री छन् । कांग्रेसकै अर्का नेता खड्कबहादुर बस्याल प्रदेशसभातर्फ समानुपातिकमा सिफारिस भएका छन् । बस्याल संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्रीसमेत हुन् । उनी संविधानसभा सदस्यमा समानुपातिकबाटै गएका थिए । एमालेबाट संघीय सांसद समेत रहेका नवराज रावत प्रदेशसभातर्फको उम्मेदवारमा समानुपातिक सीटमा सिफारिस भएका छन् । २०७४ मा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष चुनाव जितेका उनी आसन्न निर्वाचनमा प्रतिस्पर्धा सहज नदेखिएपछि समानुपातिकतर्फ लागेका हुन् । नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभाकी उपसभामुख पुष्पा घर्ती (विष्ट) लाई अब प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ । उनी २०७४ को निर्वाचनमा समानुपातिकमा प्रदेशसभा सदस्य बनेकी थिइन् । माओवादी केन्द्रले समानुपातिकमा फेरि पनि उनैलाई अवसर दिन लागेको हो ।

समानुपातिक कोटाका लागि उम्मेदवार सिफारिस भएका यी केही प्रतिनिधिमूलक पात्र मात्रै हुन् । दलहरूले सिफारिस गरेका अधिकांश उम्मेदवार पुरानै छन् । प्रत्यक्षतर्फ भन्दा समानुपातिकमा पहुँचवालाहरूको रजाइँ धेरै देखिएको छ । त्यसरी नाम सिफारिस भएका आफू अनुकूल व्यक्तिलाई नै दलहरूले समानुपातिक सांसद बनाउने पक्का छ । पार्टीका महङ्खवपूर्ण जिम्मेवारीमा रहेका, दशकौंदेखि चुनाव जितेर सांसद तथा मन्त्री भइसकेका व्यक्तिहरू नै धमाधम समानुपातिकतर्फ सिफारिस भइरहेका हुन् । यसले समानुपातिक निर्वाचन प्रणालीकै धज्जी उडेको छ । प्रत्यक्ष चुनाव लड्न नसक्ने सीमान्तकृत वर्ग र समुदायलाई मूलधारमा ल्याउनु समानुपातिक सिद्धान्तको मर्म भए पनि यसकै नाममा पहुँचवालाकै रजगज बढी देखिएको हो ।

प्रकाशित मितिः   २६ भाद्र २०७९, आईतवार ०५:०३