एक सय दिनका काम सार्वजनिक

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष विनोदसिंह विष्टले आफूले कार्यभार सम्हालेदेखि हालसम्म गरेका काम सार्वजनिक गरेका छन् । अध्यक्ष विष्टले एक सय दिनका काम २२ वटा बुँदामा समेटेका छन् ।

यस अवधिमा विद्यालयहरूका भवन निर्माण तथा मर्मत सुधार, विभिन्न सडक विस्तार, स्तरोन्नति, तटबन्धन, विद्युतीकरण र वडाभित्र नक्सापास विना निर्माण गरिएका संरचना हटाउन सार्वजनिक सूचना जारी गरिएको लगायतका काम सार्वजनिक गरिएको हो ।

यस्तै, एक सय दिनमा विभिन्न स्थानमा ढल निकासका लागि कलभर्ट निर्माण तथा समन्वय, खोर्केखोलाबाट गिट्टी बालुवा चोरी निकासीलाई पनि पूर्ण नियन्त्रण गरिएको विष्टले बताए । ‘छोटो समयमै वडाबाट थुप्रै विकास निर्माणका कामहरू सुरु भएका छन्,’ उनले भने, ‘हामीले वडालाई योजनाबद्ध रूपमा विकास गर्न समुदायसँग पनि उत्तिकै हातेमालो गरिरहेका छौँ ।’

वर्षाैंदेखि विवादित बनेका सडकहरूको कामसमेत सहमति जुटाएर अघि बढाइएको उनले जनाए । नयाँ नेतृत्व आएपछि वडा कार्यालयले विभिन्न व्यक्तिका झै झगडाका ११ वटा विवाद समाधान गरी मेलमिलाप गराएको जनाइएको छ । वडाले यस अवधिमा करिब पाँच सय जनालाई स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गरेको छ ।

प्रकाशित मितिः   २६ भाद्र २०७९, आईतवार ०५:०२