सिंजा सभ्यता संरक्षणसम्बन्धी विधेयक पास गर्न दबाब

जुम्ला: जुम्लाका नागरिक अगुवाहरूले सिंजा सभ्यता संरक्षण र पर्वतीय विश्वविद्यालय विधेयक पास गर्न कर्णाली सरकारको ध्यानाकर्षण गराएका छन् । जुम्ला भ्रमणमा रहेका कर्णालीका प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजिवी र नागरिक समाजका अगुवाहरूले विधेयक पास गर्न ध्यानाकर्षण गराएका हुन् । कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता भएका सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक अघि बढाउन सरकारलाई दबाब दिइएको हो ।

मुख्यमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा ती विधेयक कर्णालीको अस्तित्वसँग जोडिएको भन्दै पास गर्न किन कन्जुस्याइँ गरिएको भनेर प्रश्न गरिएको छ । जुम्ला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीसहितको टोलीले मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा भनिएको छ, ‘आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा वर्तमान प्रदेश सांसदहरूको कार्यकाल समाप्त हुनु अगाबै माथि उल्लेखित महत्वपूर्ण विधेयकहरू अविलम्ब अगाडि बढाइ पास गर्नको लागि नेतृत्वदायी भूमिका निर्वाह गरिदिन हुन हामी सम्पूर्ण जुम्लीबासी अनुरोध गर्दछौँ ।’

मुख्यमन्त्री शाहीले यसअघि तीन वर्ष मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाही र जुम्लाकै सांसद नरेश भण्डारी मन्त्री हुँदा पनि विधेयक पास नभएको बताए । कर्णालीकै स्रोतले विश्व विद्यालय चलाउन नसकिने देखिएकाले पनि यो विधेयक अघि बढाउन सहज नभएको उनको भनाइ थियो । कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारी विधेयक हो । यस्तै, सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक भने गैरसरकारी हो । सांसद भण्डारीले उक्त गैरसरकारी विधेयक दर्ता गराएका थिए । सरकारले यी दुवै विधेयक अघि बढाउन चाहेको छैन । विधेयक पारित गर्न सत्तापक्षकै सांसददेखि नागरिक समाजका अगुवाहरूले दबाब दिँदै आएका छन् । सरकारले केही दिन पहिले यी विधेयक अघि बढाउन नसकिने आसयको धारणासमेत सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मितिः   २६ भाद्र २०७९, आईतवार ०५:०१