स्वास्थ्य संस्थाको संवेदनशीलता

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरू ओपिडी सेवा बन्द गरेर आन्दोलित बनेका छन् । जुम्ला जिल्ला अदालतले प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहलाई पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरोधमा प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा नै बन्द गरेका छन् । उपचारका क्रममा डा. साहले बाल हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लामा उनीविरुद्ध भदौ १३ गते जाहेरी दरखास्त दर्ता भएको थियो । जिल्ला अदालत जुम्लाले सोमवार अनुसन्धान अभियोजनका लागि डा. साहलाई पक्राउ पुर्जी जारी गरेको छ । त्यसलगत्तै स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् । प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामाको घोषणा गरेका छन् । शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै प्रतिष्ठानमा कार्यरत ६० जना चिकित्सकहरूले सामूहिक राजीनामाको घोषणा गरेका हुन् । स्वास्थ्यकर्मीहरू आन्दोलित बनेपछि प्रतिष्ठानको सेवा प्रभावित भएको छ ।

डाक्टरहरूले शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा सेवा दिनलाई असमर्थ भएको, कानुनी राज्यको आभाष नभएको आदि कारण देखाउँदै सामूहिक राजीनामा दिएको बताएका छन् । उनीहरूले डा. साहमाथि जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने माग गरेका छन् । प्रतिष्ठानमा समस्या उत्पन्न हुनुको मुख्य कारण भदौ २ गतेको घटना हो । त्यसदिन प्रतिष्ठानमै कार्यरत ओपिडी सहायक धनबहादुर शाही र डाक्टर साहबीच झगडा भएको थियो । धनबहादुरले आवेगमा आएर डाक्टर साहमाथि हातपातसमेत गरेका थिए । डाक्टर र कर्मचारी बीचको सोही लफडा अहिले प्रतिष्ठानकै समस्याका रूपमा खडा भएको हो । जसले गर्दा अहिले आकस्मिकबाहेका स्वास्थ्य सेवा नै ठप्प पारिएकोे छ । डाक्टरमाथि आवेगमा आएर हात हालेका धनबहादुर त्यही दिनदेखि प्रहरी हिरासतमा छन् । आफ्ना बालक छोरामाथि डाक्टर साहले हिंसा गरेको भन्दै धनबहादुरकी श्रीमती आशा हमाल शाहीले प्रहरीमा जाहेरी दिएकी थिइन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छानबिन समिति गठन गरी हातपात गरेका कर्मचारी धनबहादुरलाई ४५ दिनका लागि निलम्बन गरेको छ । सोही घटनालाई अतिरञ्जित बनाई पीडित डा. साहमाथि नै झुटा मुद्धा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि आन्दोलित बन्नु परेको चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य संस्थाहरू संवेदनशील क्षेत्र हुन् । यस्ता क्षेत्रमा शान्तिपूर्ण वातावरण अपरिहार्य हुन्छ । चिकित्सक वा स्वास्थ्यकर्मीबाट कुनै लापरबाही त्यसलाई कानुनी बाटोबाट उपचार गर्न सकिन्छ । तर बाह्य पक्षले स्वास्थ्य सेवा नै प्रभावित हुने अवस्था निर्माण गर्नुहुँदैन । ठीक त्यसैगरी स्वास्थ्य संस्था र त्यहाँ कार्यरत पक्षले पनि सेवाप्रदायक संस्थाको सेवा नै रोक्नु उपयुक्त हुँदैन । त्यसैले सम्बन्धित सरोकारवालाहरूले आवश्वय समन्वयमार्फत समस्या समाधान गरी निकास निकाल्नु नै उत्तम बाटो हो ।

प्रकाशित मितिः   २४ भाद्र २०७९, शुक्रबार ०५:०३