निर्वाचन परिचालन कमिटी गठन

सुर्खेत: नेकपा (एमाले) ले आसन्न संसदीय निर्वाचनलाई लक्षित गरी कर्णाली प्रदेशस्तरीय निर्वाचन परिचालन कमिटी बनाएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा तीन सय १४ सदस्यीय कमिटी गठन गरिएको हो । यही भदौ २१ र २२ गते वीरेन्द्रनगरमा सम्पन्न एमाले कर्णाली प्रदेश कमिटीको पाँचौ बैठकका निर्णय बिहीवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै अध्यक्ष शाहले एमालेको पक्षमा जनमत पार्न निर्वाचन परिचालनलाई व्यवस्थित गर्न लागिएको जनाए । प्रदेश निर्वाचन परिचालन कमिटीमा प्रदेश कमिटीका सदस्यहरू, जिल्ला अध्यक्षहरू, प्रदेशस्तरका जनसंगठनका अध्यक्ष र सचिवहरू सदस्य रहेका छन् ।

यस्तै, प्रदेश अध्यक्ष शाहकै संयोजकत्वमा २६ सदस्यीय निर्वाचन परिचालन सचिवालय पनि गठन गरिएको छ । प्रदेश कमिटीले पार्टीका जिल्ला, क्षेत्र तथा स्थानीय कमिटीहरूलाई तहगत निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशनसमेत गरेको छ । प्रदेश, जिल्ला, प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र, पालिका, वडा र टोलहरूमा निर्वाचन परिचालन कमिटी गठन गर्न निर्देशन गरिएको अध्यक्ष शाहले बताए । बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लाहरूबाट प्राप्त प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारका सिफारिसलाई पार्टी केन्द्रीय कार्यालयमा पठाउने निर्णय गरेको छ । आगामी निर्वाचनमा एमाले अझै लोकप्रिय पार्टी भएर जाने र पहिलो दल बन्ने अध्यक्ष शाहको दाबी छ ।

प्रदेश पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली सहइञ्चार्ज गोरख बोगटीले पार्टीले निर्वाचन केन्द्रित कार्यक्रमहरू धमाधम अघि बढाइएको बताए । एमालेलाई पहिलो बनाउन पार्टी पंक्ति एकताबद्ध भएर लागिरहेको उनले जनाए । नेता बोगटीले भने, ‘हिजोको भन्दा यसपालि अझै राम्रो जनमत लिएर एमाले पहिलो पार्टी बन्नेछ ।’ उनले आसन्न निर्वाचनमा सत्ता गठबन्धनसँग एमाले एक्लै जुध्न सक्षम रहेको समेत जिकिर गरे ।

प्रकाशित मितिः   २४ भाद्र २०७९, शुक्रबार ०५:०१