चुनावी सरगर्मी

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । निर्वाचनमार्फत नागरिकले आगामी पाँच वर्षका लागि प्रदेशसभा र प्रतिनिधिसभाका जनप्रतिनिधि चुन्नेछन् । तिनै जनप्रतिनिधिहरूबाट सरकार संसद् सञ्चालन हुनेछ । त्यसैले पनि संसदीय निर्वाचनको महङ्खव उच्च छ । निर्वाचन आउन तीन महिना बाँकी छ । मुलुक निर्वाचनमा केन्द्रित भइसकेको छ । जताजतै चुनावी सरगर्मी बढेको छ । आम चासो र चर्चामा चुनाव नै हुने गरेको छ । त्यसमाथि अहिले सबैजसो राजनीतिक दलहरू चुनावका लागि आफ्ना उम्मेदवार छनोटमा व्यस्त छन् । यसले पनि राजनीतिलाई थप रौनक थपेको छ । जताततै उम्मेदवारहरूको विषय चर्चामा रहेको देखिन्छ ।

निर्वाचन नजिकिएसँगै दलहरू निर्वाचनको तयारीमा जुटेका छन् । चुनावी कार्यतालिका बनाएर पार्टी गतिविधिलाई तीव्रता दिएका छन् । दलहरू उम्मेदवार सिफारिस र कार्यकर्ता प्रशिक्षणलगायतमा व्यस्त छन् । विशेष गरेर यतिबेला दलहरूलाई उम्मेदवार सिफारिसको चटारो छ । पार्टी केन्द्रको निर्देशनअनुसार निर्वाचन क्षेत्रहरूमा उम्मेदवार सिफारिसका काम धमाधम अघि बढाइएको छ । उम्मेदवार सिफारिसमा पहुँचवाला नेताहरूको नाम भने एकल रूपमा सिफारिस भएको छ । पार्टीका अन्य आकांक्षीलाई पन्छाएर दलहरूले केही नेतालाई सर्वसम्मत उम्मेदवार सिफारिस गराएका हुन् । त्यति मात्र नभइ एकै व्यक्तिलाई प्रदेश र प्रतिनिधिसभाको उम्मेदवारका लागि समेत सिफारिस गरिएको छ, त्योपनि एकल उम्मेदवारका रूपमा । उम्मेदवार सिफारिसमै सिण्डिकेट भएको भन्दै कतिपय आकांक्षीहरूले असन्तुष्टि जनाइरहेको दृष्य देख्न सकिन्छ ।

उम्मेदवार सिफारिसमा समावेशीता नभएकोदेखि गुटबन्दी भएकासम्मका खबर सार्वजनिक भइरहेका छन् । यी यावत चासोकाबीच आम नागरिक मंसिर ४ गते कुरिरहेका छन् । निर्वाचन राजनीतिक दल र तिनका उम्मेदवारहरूले दिने परीक्षा हो भने उक्त परीक्षाको मूल्यांकनकर्ता आम नागरिक हुन् । नागरिक मूल्यांकनमा दलहरू उत्तीर्ण हुने या नहुने भन्ने नतिजा निर्वाचनबाट आउनेछ । त्यसैले पनि नागरिकमा चुनावी रौनक बेग्लै हुने गर्दछ । निर्वाचन केन्दमा पुगेर मतदान गर्ने र फर्किनुमा मात्रै नागरिक दायित्व पूरा हुँदैन । नागरिक दायित्व तब पूरा हुन्छ जब उनीहरूको मत सही जनप्रतिनिधि छनोटका लागि उपयोग हुन्छ । संविधानसभामार्फत नयाँ संविधान जारी भइसकेपछि २०७४ मा निर्वाचन भएर पहिलो पाँच वर्षे कार्यकाल पूरा हुँदैछ । यो पाँच वर्षमा यसअघिको जनमतअनुसार राजनीतिक दल र तिनका प्रतिनिधिले आफ्नो भूमिका निर्वाह गरे या गरेनन् भन्ने आधारमा नागरिकले आगामी जनप्रतिनिधि छनोटमा आफ्नो मत दिनेछन् । अहिलेको राजनीतिक सरगर्मीको नतिजाले मुलुकको राजनीतिक भविष्य मंसिर ४ मा निर्धारण गर्नेछ ।

प्रकाशित मितिः   २२ भाद्र २०७९, बुधबार ०५:०३