सार्वजनिक जग्गाको संरक्षण
सार्वजनिक जमिन अतिक्रमणको समस्या देशभर छ । वीरेन्द्रनगरमा पनि यो समस्या वितगदेखि नै रहेको छ । तर त्यसको संरक्षण भने हुन सकेको छैन । सरकारी तथा सार्वजनिक जग्गा धेरै रहेको भनिने वीरेन्द्रनगरमा ती जग्गाहरूको अवस्थाबारे भने निश्चित विवरण छैन । वीरेन्द्रनगरमा नगर विकास समिति र जिल्ला समन्वय समिति मातहत ठूलो परिमाणमा जग्गा छन् । ती निकायले केही जग्गा भाडामा दिएका छन् भने कतिपय जग्गाको अवस्थाबारे सम्बन्धित निकाय नै अनभिज्ञ छन् । नगरपालिका मातहत रहेको र नगर प्रमुख नै संयोजक हुने नगर विकास समितिले भाडामा लगाएका जग्गाको नियमित राजस्वसमेत उठान सकिरहेको छैन । बजार क्षेत्रमा रहेका जग्गाको भाडासमेत निकै न्यून लिने गरिएको छ । पहुँचको आधारमा नगर विकासबाट जग्गा हत्याएका कतिपय व्यवसायिले वर्षाैंदेखि भाडा पनि बुझाएका छैनन् ।
सार्वजनिक सम्पत्ति संरक्षण गर्नु राज्यको दायित्व हो । स्थानीय तह त्यसमा बढी जिम्मेवार हुनुपर्दछ । पछिल्लो समय वीरेन्द्रनगर नगरपालिकामा सरकारी तथा सार्वजनिक जग्गाको अवस्थाबारे खोजि गर्न थालिएको छ । नगरका वडाहरूमार्फत सार्वजनिक जग्गा संरक्षणको नीति कार्यान्वयन सुरु गरिएको हो । सोही नीति अनुरूप वडा नं. ३ ले उक्त वडाको क्षेत्रभित्र पर्ने सरकारी तथा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने प्रक्रिया अघि बढाएको छ । सडक क्षेत्र मिचेर नियमविपरीत निर्माण गरिएका र नक्सा पास नभएका अवैध भौतिक संरचनाहरू हटाउन लागिएको छ । वडा कार्यालयले मंगलवार ३५ दिने सूचनासमेत जारी गरेको छ । सूचनामा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका र नक्सा पास नगरिएका भौतिक संरचना हटाउन भनिएको छ । दिएको समयसीमाभित्र अटेरी गरी अवैध संरचना नहटाए नियमअनुसार कारबाही हुने बताइएको छ ।
गत जेठ २३ को नगर कार्यपालिकाको बैठकले निर्णय नं. ७ मा सार्वजनिक जग्गाको लगत लिइ सोको उचित संरक्षण र सार्वजनिक गर्ने निर्णय गरेको थियो । योजनाबद्ध सहर निर्माणको लक्ष्यसहित सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएको नगरले पहिलो कार्यपालिका बैठकबाटै सडक अतिक्रमण हटाएर आवागमन सहज बनाउने निर्णय पनि गरेको थियो । त्यसको कार्यान्वय वडा नं. ३ ले सुरु गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले नै सार्वजनिक जमिनको संरक्षणका लागि पहल लिन अघि सर्नुपर्दछ । नगरका सबै वडाहरूमार्फत अतिक्रमणमा परेको जमिनको यकीन विवरण संकलन तथा अतिक्रमण हटाएर त्यसको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ । यसका साथ नक्सा पास नगरी जथाभावी बनाइएको भौतिक संरचना हटाउनु पनि उत्तिकै जरुरी छ ।
प्रकाशित मितिः १६ भाद्र २०७९, बिहीबार ०५:०३
सम्पादकीय ।