समाजवादीको प्रशिक्षणमा ओलीको आलोचना
सुर्खेत: नेकपा (एकीकृत समाजवादी) समाजवादीले बुधवार वीरेन्द्रनगरमा पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रम गरेको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्न आइपुगेका पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अधिकांश समय भने नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीकै आलोचनामा बिताए । उनले ओली दक्षिणपन्थी भएको टिप्पणी गरे । ओलीले पार्टीको कार्यदिशा नभइ ‘ओली युग’ को सुरुवात गरेको बताउँदै खनालले भने, ‘ओलीले नेतृत्वमा आएपछि नै पार्टीलाई दक्षिणपन्थमा लाने काम गरेका थिए ।’ एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका सम्मानित नेता खनालले पार्टी विभाजनको मुख्य कारक ओली रहेको बताए । पार्टी कमिटीको नीति र एजेण्डाको बेवास्ता गर्दै अन्य नेताको कुरानै नसुन्ने गरी अघि बढेको भन्दै खनालले एमालेले अघि सारेको समाजवादी क्रान्तिको बाटो ओलीले भुलेको जनाए । ‘हामीले स्वीकार गर्नुपर्ने नै बाध्यता आयो,’ खनालले विगत सम्झिए ।
अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा खनालले २०७४ को स्थानीय र प्रदेशको चुनावबारे पनि ओलीको रणनीतिको बारे पनि कार्यकर्तालाई जानकारी गराएका थिए । ‘२०७४ को स्थानीय चुनावमा नजिता कमजोर आएपछि उनी आत्तिए । अब सत्ताका पुग्ने उनको सपना साकार नहुने भएपछि नयाँ जाल रचे । त्यो जाल थियो कसरी बालुवाटार छिर्ने ?,’ उनले भने । समाजवादी क्रान्ति र जनतालाई सुखी तथा समृद्धि बनाउने नभइ बालुवाटार कसरी छिर्नेतर्फ बढी केन्द्रित भएर माओवादीसँग ओली एकता गर्न तयार भएकोसमेत उनले जिकिर गरे । खनालले ओलीको उदण्डताले अन्ततः नेकपा मात्र नभइ एमाले नै विभाजित हुन पुगेको आरोप लगाए । पार्टीको आन्तरिक परीक्षण दिन आएका खनालले धेरैजसो समय एमाले र त्यसको नेतृत्वलाई आलोचना गर्नमै खर्चिएका थिए ।
साझा बिसौनी ।