आरन, अन्वेषण र आविष्कार
विज्ञान तथा प्रविधि प्रतिष्ठानले परम्परागत प्रविधिको क्षेत्रमा काम गरिरहेको छ । विशेष गरी कृषि तथा खाद्यान्नका स्थानीयस्तरमा पर्याप्तता सामग्रीहरू बनाउँछौ । स्थानीय स्थलमा पाइने उत्पादन र सामग्रीहरूलाई अभिलेखीकरण र ब्रान्डिङ गर्न जरुरी छ । कर्णाली प्रदेश प्राकृतिक स्रोत साधन र सम्पदाको धनी भनेर चिन्छौँ । यसमा जडिबुटी एउटा एकदमै धेरै चासोको विषय हो । यसका लागि नास्टले एउटा प्रदेशमा एउटा केन्द्र खोल्ने योजना बनाएको छ । हामीले सुदूरपश्चिम प्रदेशमा जडीबुटीसँग सम्बन्धित केन्द्र खोलिसकेका छौँ । काठमाडौंमा रहेको नास्टले नेपालभर काम गरिरहेको छ । परम्परागत प्रविधिसँग सम्बन्धित केन्द्र हामीले लुम्बिनी प्रदेशमा स्थापना गर्ने तयारीमा छौँ । केन्द्र लुम्बिनी प्रदेशमा स्थापना भए पनि हामी कर्णाली प्रदेशसँग के आग्रह गर्न चाहन्छौँ भने हामी मिलेर काम गरौँ । बजेटको अभाव हुनसक्छ । स्थानीय तहबाट बजेट विनियोजन भयो भने हामी जहाँबाट पनि काम गर्न सक्छौँ ।
हामीले परम्परागत प्रविधिहरूको घरघरमै गएर अभिलेखीकरण गर्छौं । जुन सीप त्यो समुदायमा छ त्यसलाई सबैभन्दा पहिले पहिचान गर्नुपर्छ । सीप र परम्परागत प्रविधिहरू समाजमा भएर पनि हामीलाई थाहा नहुने सबैभन्दा ठूलो समस्या रहेको छ । अभिलेखीकरणको काम चलिरहेको छ । केही कुराहरूलाई हामीले ब्राण्डिङ तिर पनि लैजाँदै छौँ । जस्तो ह्विस्की बनाउने तरिका र त्यसबाट आउने उत्पादनहरू छ । त्यसलाई हामीले ग्रेडिङ गर्दा विभिन्न प्रकारहरू हुन्छ । तर जुन परम्परागत प्रविधिले बनाइने गरिन्थ्यो । जुन क्वालिटी आउँथ्यो । त्यो एकैनासको होस भन्ने कुरालाई हामीले विशेष ध्यान दिन्छौँ । त्यो मात्र नभइकन घट्ट जुन पछिल्लो समय लोप हुँदै गइराखेको छ । त्यो खालको प्रविधिलाई अगाडि ल्याउने र नयाँ पुस्तालाई पुरानो प्रविधिबारे थाहा होस् भन्ने हो । जाँतो कसरी चलाउने भन्ने अहिलेको पुस्तालाई थाहा छैन होला ।
हामीले सबैभन्दा पहिले उचित प्रविधिको पहिचान गर्न आवश्यक छ । ती पहिचान गरिएका प्रविधिहरूलाई प्रवद्र्धन गर्नुपर्छ । प्रवद्र्धन स्थानीय तह वा प्रदेश सरकारबाट हुनसक्छ । ती प्रविधिहरूलाई सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रवद्र्धन गर्न जरुरी छ ।
आफ्नो उत्पादन केको लागि बेच्ने भन्ने कुरा नेपालीहरूले बुझ्न जरुरी छ । बिक्री गर्ने भन्ने बित्तिकै त्यो व्यापार हो । सोझो अर्थमा भन्ने हो भने व्यापार पैसा कमाउनका लागि गरिन्छ । नेपालीहरूले व्यापार गर्न जानेका छैनन् । सुर्खेतमा धेरै व्यापारीहरू छन् । ठूला–ठूला पसलहरू खोलेर व्यापार गरिरहेका छन् भन्नुहोला तर यिनीहरू व्यापारी होइनन् । उनीहरू अर्काले बनाएको सामान ल्याएर बेच्ने मध्यस्थकर्ता मात्रै हुन् । उत्पादन गर्न नजानेको कारण हामीले व्यापार गर्न जानेनौँ । उत्पादन गर्न किन जानेनौँ भन्दा हामीले प्रयास नै गरेनौँ । हामी नेपालीहरूले विदेशमा गएर नोकरी गर्न सुरु गरेको करिब ३० वर्ष भयो । त्यसभन्दा अगाडि नै सम्पूर्ण नेपाली हामीहरू कृषक थियौँ । कृषि ग¥यो अनि जे उत्पादन हुन्छ त्यही खायो । कृषि गर्दै गर्दा पनि व्यापार गर्ने भन्ने कुरा हामीले सिकेनौँ । जुन रैथाने प्रविधि कुराहरू छन् रैथाने प्रविधिलाई हामीले सीमित रूपमा राख्यौँ । त्यसलाई घाटी समातेर राख्यौँ । नेपालको वैज्ञानिकको हो भन्ने हो भने हाजिरी जवाफ प्रतियोगितामा त्यसको जवाफ पहिलो वैज्ञानिक गेहेन्द्रशमशेर हुन् भन्ने गरिन्छ विद्यालयहरूमा । अहिलेको वैज्ञानिक को हुन् भनेर सोध्ने हो भने महावीर पुन अर्थात् मलाई भनिन्छ । म वैज्ञानिक पनि होइन तर अहिलेको वैज्ञानिक महावीर पुन हुन् भनिन्छ । हाम्रो सोचाइले नेपालको वैज्ञानिक जो थिए पहिले उनीलाई चिन्दै चिनेनौँ । नेपालको पहिलो वैज्ञानिक भनेको ती हुन् जसले यी आरनहरू चलाए । सयौँ, हजारौँ वर्षदेखि गाउँमा गाउँलेहरूलाई चाहिने कुटो कोदालो हँसिया हतौडा लगायतका सामग्री आरनबाट उत्पादन हुन्थे । ती उत्पादनका सामग्री र हतियारहरू बनाउने वैज्ञानिक उनीहरू नै हुन् । त्यसैले हामीले ती पहिला वैज्ञानिकहरूलाई चिनेनौँ ।
उनीहरूले उत्पादन गरेर हाम्रो जीवन निर्वाहमा केही सहयोग गरे । त्यति बेलाका कि वैज्ञानिकहरू जसले नेपालभर हातहतियार र सामग्रीहरूको उत्पादन गरिदिएका थिए । किनभने कुटो, कोदालो, हँसिया भएन भने कृषि गर्न सहज हुँदैनथ्यो । उनीहरूलाई हामीले तल्लो दर्जामा राख्यौँ । अहिलेसम्म पनि त्यो विभेद कतिपय स्थानहरूमा कायम नै छ । कर्णालीमा पनि छुवाछूतको कुराहरू धेरै आए रहेको हुन्छ । त्यस कारण हामीले व्यापार गर्न नजानेको भन्नुको कारण वैज्ञानिक हुलाई सम्मान गर्न नजानेको हो ।मलाई सम्मान गरेन भनेको होइन । मलाई त अहिले प्रशस्त सम्मान आइरहेको छ । तपाई हाम्रा उहिलेदेखिका वैज्ञानिकहरू थिए, अहिले पनि नेपालमा धेरै वैज्ञानिकहरू छन् । नेपालबाट बाहिर गएर ठूला ठूला आविष्कारहरू पनि गरेका छन् । उनीहरूलाई सम्मान गर्न नजानेको कारण हामीले व्यापार गर्न सकेनौँ । रैथाने भन्नाले नेपालमै रहेको कुराहरू बुझिन्छ । विश्वव्यापीकरणको जमानामा रैथानेले मात्रै पुग्दैन । हामीले सबै चिजबाट ल्याउनुपर्छ । रैथानेलाई पनि विकसित गर्नुपर्छ । रैथाने भनेको गाउँघरको हो । गाउँघरका प्रतिभाहरू उत्पादनहरूलाई ल्याउनुपर्छ । राष्ट्रिय आविष्कार केन्द्रमा अहिले ताप्लेजुङ संखुवासभा डडेलधुरालगायतका विभिन्न जिल्लाका मानिसहरू जो पढे–लेखेका छैनन् उनीहरूसँग सीप छ । राष्ट्रिय आविष्कार केन्द्रमा आएर विभिन्न किसिमका उत्पादनहरूको काम गरिरहेका छन् । आरनको कुरा गर्ने हो भने एक जना भाइ अछामबाट आएको थियो । कहिले पनि मेसिनहरू नबनाएको तर आरनमा काम गरेको थियो । त्यो भाइले राष्ट्रिय आविष्कार केन्द्रमा तीन महिना बसेर मोटरबाट फलाम कुट्ने बनाएर परीक्षण गरिरहेको छ । त्यसैले रहित गाउँका रैथाने प्रतिभाहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ । यही राष्ट्रिय आविष्कार केन्द्रमा आएको बेला त्यो भाइलाई हामीले सहयोग गर्न सक्दैनौँ भनेको भए उसले अहिलेसम्म त्यो बनाउन सक्दैनथ्यो । त्यस कारण यस्ता रैथाने प्रविधिहरूको विकास गर्नका लागि रैथाने प्रतिभाहरूलाई नै खोजेर प्रोत्साहन स्वरूप काम गर्न दिनुपर्छ । नेपालमा आविष्कार अनुसन्धान गर्ने भन्ने बित्तिकै स्नातकोत्तर परेको वा विद्यावारिधि गरेको भन्ने मात्रै हो भन्ने सोच छ । तर गाउँघरमा केही गरिरहेकाहरूलाई हामीले वास्ता गर्दैनौँ ।
कुनै पनि काम गर्नका लागि र अनुसन्धान गर्नका लागि स्रोत आवश्यकता हुन्छ । स्रोतको अभावमा कसैले केही गर्न चाहन्छु भने पनि गर्न सक्दैन । परम्परागत प्रविधिको पनि कुरा गर्ने हो भने, जस्तोः खुवा बनाउने चलन त हाम्रो पहिलेदेखि नै छ । कराइमा मकै भुटेर खाने चलन त हाम्रोमा पहिलेदेखि नै छ । त्यसलाई परम्परागत प्रविधि मानौँ । त्यसलाई आधुनिकीकरण गरेर राम्रो बनाउनका लागि के गर्नुपर्छ भनेर कसैले सोच्नुप¥यो र बनाउनुप¥यो । जस्तो अहिले राष्ट्रिय आविष्कार केन्द्रमा धेरे मानिसहरूको अनुरोधमा खुवा बनाउने मेसिन चाहियो भनेर तयार भएको छ । परम्परागत प्रविधिलाई सुधार गरेर अलिकति सहज रूपमा हुने गरी त्यसलाई विद्युतबाट चल्ने बनाइएको छ ।
कसैले मकै वा बदाम भुटेर बेचिरहेको छ । वा कसैले मकै वा कोदो भुटेर पिठो बनाएर बेचिरहेको छ । धेरै जनाले त्यो अन्न भुट्ने आधुनिक सहज मेसिन बनाउनका लागि अनुरोध आएको छ । जो पुरानै प्रविधि होस् तर अलि धेरै सहज र छिटो मात्रामा भुट्न सकियोस् । राष्ट्रिय आविष्कार केन्द्र आफैले त बनाउने होइन । त्यो किसिमका मेसिन बनाउन सक्ने कोही छ भने मैले बारम्बार सामाजिक सञ्जाल र कार्यक्रमहरूमार्फत भन्छु । गाउँघरमा परम्परागत सिप छ र त्यसलाई विकसित गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रमा आउनुहोला । सबै खाने बस्ने र बनाउने चिज त्यहीँ पाइन्छ । यहाँ समस्या के छ भने कसैले केही बनाउन खोज्यो भने कहाँ बनाउने भन्ने समस्या छ । घरमा बनाएर त सम्भव छैन । समस्या के छ भने जुन परम्परागत ज्ञान हामीसँग छ त्यसलाई विकसित गर्नका लागि चाहिने प्रयोगशाला हामीकहाँ छैन । विकसित किसिमको आरन छैन । एउटा वर्कसप वा ल्याब छैन । त्यसको अभावमा धेरै जनाले केही गर्न सकिरहेका छैनन् ।
राष्ट्रिय आविष्कार केन्द्रमा आउनका लागि शैक्षिक योग्यता चाहिँदैन । अनुसन्धान गर्नका लागि कसले कति पढेको छ भनेर हामीले हेर्दैनौँ । परम्परागत प्रविधिको विकास पढेलेखेकोले मात्रै नभइ सीप भएका गाउँलेहरूले गर्ने हो । उनीहरूका लागि काम गर्ने थलोको रूपमा राष्ट्रिय आविष्कार केन्द्र छ । हामीले एउटा राष्ट्रिय आविष्कार केन्द्र मात्रै खोलेर हुँदैन । यस्ता केन्द्रहरू धेरै संख्यामा खुल्नुपर्छ ।
बिहानदेखि साँझसम्म राष्ट्रिय आविष्कार केन्द्रमा फोन आइरहन्छ । जति बेला पनि मेरो फोन खुला हुन्छ जति बेला फोन गर्दा पनि हुन्छ भनेपछि मान्छेहरूलाई सहज भइहाल्यो । परम्परागत प्रविधिलाई कास गर्न र गाउँघरमा काम गर्नका लागि सहज हुने खालका मेसिनहरू उत्पादनका लागि हामीसँग ठुलो माग छ । राष्ट्रिय आविष्कार केन्द्र एउटा आरन नै हो । एउटा आरन खोलेर सबैका माग त पुरा गर्न सकिँदैन । यस्ता माग भएका सबैजसो चिजहरू बनाउन सकिन्छ । तर सबै जना लाग्नुप¥यो । जम्मा दुईचार जना लागे मात्रै हुँदैन । सरकार पनि लाग्नुपर्यो ।
राष्ट्रिय आविष्कार केन्द्रमा गएको तीन वर्षमा ८८ ओटा किसिमका विभिन्न उपकरणहरू बनाउनका लागि प्रयास भइरहेका थिए । ८८ वटामध्ये ५५ वटा फेल खायो । त्यसले काम गर्न सकेन । अनुसन्धान भनेकै यही हो । काम गर्ने हो । कोही हुन्छ केही हुँदैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्ता किसिमका उपकरणहरू बनाउनका लागि आफू सक्दो प्रयास गरिरहेको छ । २४ सै घण्टा खुला हुन्छ जसले जति बेला आए बनाउन प्रयास गरे पनि हुन्छ । यस्ता कामहरू गर्नका लागि अबदेखि स्थानीय र प्रदेश सरकारले पनि बल गर्नुपर्छ । आविष्कारका लागि सरकारले एउटा ठाउँ बनाइदिनु प¥यो ल । कम्तीमा एउटा टिनको छानो हालेर ट्रस बनाइदिनु प¥यो । जहाँ वल्डिङ, ड्रिललगायतका मेसिनहरू हुनुप¥यो । त्यसपछि मान्छेहरू आफैले आविष्कार गर्छन् । यो कुरा हुन सकेको छैन । सबैले राष्ट्रिय आविष्कार केन्द्रले केही गरिदिएन भन्छन् । राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको कुरा कर्णाली प्रदेशमा पनि गर्न सक्नुहुन्छ । स्थानीय सरकारमार्फत काम गर्न सकिन्छ । तर अहिले न त स्थानीय सरकारले यसबारेमा केही प्रयास गरेको छ, नत प्रदेश र केन्द्र सरकारले नै केही प्रयास गरेको छ नै । अहिले जनताले नै प्यास गर्नुपरेको छ । जनता मिलेर केही गर्न चाहने हो भने राष्ट्रिय आविष्कार केन्द्रमै आउनुपर्छ भन्ने छैन । यहाँ कर्णालीमै खोल्ने हो भने पनि हामीले के सहयोग गर्न सक्छौँ त्यो सहयोग गर्छौं । सुर्खेतमा पनि एउटा केन्द्र खोल्ने भनेर मध्यपश्चिम विश्वविद्यालयसँग छलफल पनि भएको हो । तर कुरा मात्रै भए ।
समस्याको समाधान चाहिन्छ भन्ने कुरा सबैलाई थाहा भयो । समाधान कसरी खोज्ने भन्ने कुरा म बताउन चाहन्छु । उहिलेको जमानामा आरनले काम चल्यो । अहिले आरनले काम चलाऊ हुन सक्दैन । ठूलो आरन बनाउनु प¥यो म । ठूलो आरनमा ग्रामीण क्षेत्रको प्रविधिको विकास गरी विश्व बजारमा प्रतिस्पर्धा हुने किसिमको उत्पादन ल्याउनु प¥यो र । प्रविधिको विकासका लागि अनुसन्धान गर्नुपर्छ । अनुसन्धान नगरीकन कहीँ बन्दैन । तपाईंले प्रयोग गर्ने प्रायजसो वस्तुहरू अनुसन्धानबाट उत्पादन भएका हुन् । प्रविधिको विकास गरी त्यसबाट व्यापार गरी देशको आर्थिक विकास गर्नका लागि अनुसन्धानमा व्यापक बजेट लगानी गर्नुपर्छ । नेपालमा अनुसन्धानको लागि पर्याप्त बजेट न विनियोजन भएको छ न खर्च नै भएको छ । अनुसन्धान भनेको धेरै खर्चिलो चिज हो । जसमा करोडौँ र अर्बौं रूपैयाँ बजेट लाग्न सक्छ । अनुसन्धान गर्नका लागि सबैभन्दा पहिले स्रोत जुटाउनुपर्छ । जापान तथा अमेरिकालगायतका देशहरूले अनुसन्धानका लागि ठूलो मात्रामा बजेट खर्च गर्छन् । स्रोत जुटाउने उपाय भनेको स्थानीय र प्रदेश सरकारले जम्मा पुँजीगत बजेटको एक प्रतिशत अनुसन्धान खर्च छुट्टाए पुग्छ । स्थानीय सरकारले गाउँ–गाउँका परम्परागत प्रविधि विकासका लागि अनुसन्धान गर्नका लागि विकास बजेटको एक प्रतिशत विनियोजन गर्न आवश्यक छ । कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षमा २१ करोड विकास खर्च रहेछ । त्यसको एक प्रतिशत मात्रै अनुसन्धानको लागि विनियोजन गर्ने हो भने पनि २१ करोड रूपैयाँ हुन्छ । अनुसन्धानका लागि मान्छे नपाउने भन्ने हुँदैन । बजेट नभएर समस्या भएको हो । स्थानीय सरकारले पनि अन्वेषणको लागि बजेट विनियोजन गर्ने अनि स्थानीयस्तरमा विकसित आरन राख्नुपर्छ । कसैले अनुसन्धान गर्न चाहेमा उसलाई उपकरणहरू जोडिदिने गर्नुपर्छ । सरकारले मात्रै गर्नुपर्छ भन्ने होइन निजी क्षेत्रले पनि ध्यान दिनुपर्छ । सबै निजी क्षेत्रले संस्थागत सामाजिक उत्तरदायित्वबाट पनि अनुसन्धानको लागि केही बजेट विनियोजन गर्नुपर्छ । बजेट मात्रै भएर हुँदैन । त्यसका लागि कानुन पनि आवश्यक छ । अनुसन्धान र विकासको लागि बजेट विनियोजन गर्ने कानुन निर्माण गर्न आवश्यक छ ।
‘कर्णाली उत्सव’को लोगोको पृष्ठभूमिमा नरसिंहा रहेको छ । यसलाई बनाउन पनि आरनबाट सुरुवात भएको हामी पाउँछौँ । विश्वकर्मा दाजुभाइहरूले यो बनाउनुभएको थियो । त्यसमा छाला राख्ने र जन्मदेखि मृत्यूसम्म बजाउने काम दमाई समुदायका दाजुभाइहरूले गरिरहनुभएको छ । हाम्रो संस्कृतिको मुख्य कुरा यो समुदायले नै धानेको हामी पाउँछौँ । मन्त्र, तन्त्र र यन्त्रले संसार चलिरहेको हामी पाउँछौ । फलामबाट विभिन्न भाँडाकुँडा र हातहतियारहरू पनि आरनबाटै बनाउन सुरुवात गरिएको हो भन्ने कुरा हामी पाउँछौँ । पहिले–पहिले मानिसहरू बिरामी हुँदा हामीहरूको आरनको लिहीमाथि घन ठोकेर सातो फर्काउने पनि लोकविश्वास रहेको थियो । नेपाल एकीकरणको समयमा अथवा माओवादी जनयुद्धको समयमा हातहतियार बनाउनको लागि आरोहण प्रयोग गरिएको थियो । वैज्ञानिकहरूका अनुसार आरन वैज्ञानिकको पहिलो पाठशालाको रूपमा व्याख्या गरिएको हामी पाउँछौँ । यस अर्थमा आरन विश्वकै एउटा आविष्कारको केन्द्र हो ।
नेपालका दलितहरू बाह्रौँ शताब्दीमा बाहिरबाट आए र पृथ्वीनारायण शाहसँगै पूर्वतिर गए भन्ने इतिहास गलत छ । त्यसलाई सच्याउनुपर्छ । प्राचीन कृषिको सभ्यता हेर्ने हो भने तिख्खु कामी भनेको पाइन्छ । अर्थात् कृषिको सभ्यताको सुरुवात कामीहरूबाट भएको पाइन्छ । पश्चिमा रसायन शास्त्रको विकास सन् १३०० देखि १६०० को बिचमा भएको रहेछ । तर नेपालका कामीहरूले हजारौँ वर्षअघि नै रसायन शास्त्रको विकास गर्नुभएको छ । त्यसको प्रमाण सुन, तामा र फलाम जोड्ने कुरा हो । उहाँहरूले कतैपनि विश्वविद्यालय वा तालिम केन्द्रमा गएर विकास गरेको होइन । हजारौँ वर्षदेखि प्रकृतिसँग सिकेर प्रविधिको विकास गरेको हामीले पाउछौँ । नेपाल एकीकरणको समयमा आरनबाट नै उत्पादित हतियारहरूको प्रयोग भए । नेपालको सशस्त्र माओवादी द्वन्द्वको समयमा पनि हातहतियार उत्पादन गर्ने कारणले माओवादी र सेना दुवैको तर्फबाट दोहोरो तनावमा दलित समुदाय परेको थियो । सहयोग नगरौँ भने विद्रोहीले दबाब दिने र सहयोग गर्दा सुरक्षा निकायले समस्यामा सिर्जना गर्दा दोहोरो तनावमा दलित समुदाय परेको थियो ।
त्यति बेला एउटा सूत्र थियो ‘दकासा’ अर्थात् दमाई, कामी र सार्की । यिनीहरूलाई कुनै दोष नभए पनि कारबाही हुन्थ्यो । जबसम्म हामीले स्थानीय स्रोत साधन र प्रविधिहरूलाई सम्मान दिँदैनौँ त्यसको परिणाम नै यही हो । खास गरी नेपाल सरकारले ६० को दशकमा राष्ट्रिय उद्योग प्रवद्र्धन नीतिको नीतिगत व्यवस्था ग¥यो । त्यसपछि परम्परागत सीप तथा पेसा व्यवसायहरू धरासयी भएको पाइन्छ । हामीले स्वदेशी उत्पादनको प्राथमिकता नदिइ आयातित वस्तुहरूको उपभोग गर्न थाल्यौँ । दलित समुदायमा पुँजी, प्रविधि र पहुँचको अभाव छ । ६० को दशकयता यी कुराहरूको समस्याले गर्दा जुन समुदाय शिल्पकौशल र सिपहरूको धनी थियो त्यो समुदाय नै श्रमिकमै सीमित हुन बाध्य भयो । जोसँग सीप थियो उहाँहरू पछि पर्नुभयो । जुन समुदायसँग पुँजी थियो उहाँहरू मालिक बन्नुभयो । अहिलेको अवस्थामा सार्कीहरू सडकमै छन् । कामीहरू आरनमै सीमित छन् । तराई मधेशका शिल्पी समुदायहरूको आत्मसम्मानलाई माथि नउठाई र उहाँहरूको सीपलाई राष्ट्रिय मूलधारमा नल्याइकन देशले प्रगति गर्नै सक्दैन । कर्णालीमा कूल जनसंख्याको करिब ३० प्रतिशत जनसंख्या शिल्पी समुदाय बस्नुहुन्छ । कर्णाली उत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा यहाँको समृद्धिका लागि धेरै बहस भएको छ । मैले कर्णालीको बारेमा पनि धेरै लेख्ने गरेको छु । समृद्धिको आधार भनेको पछाडि पारिएका समुदायलाई अगाडी ल्याउन जरुरी छ । देशकै समृद्धिको मेरुदण्ड दलित समुदाय हो । उनीहरूको सीप, व्यवसाय, पेसा आदिलाई उच्च प्राथमिकतामा राखेर लगानी गर्न सक्यो भने समग्र रूपमा प्रगति हुन्छ ।
जुम्लाका गोविन्द नेपालीजीले गरेको अध्ययनअनुसार दलित समुदायले उत्पादन गरेर बेच्न सक्ने चिजहरू १२१ प्रकारका रहेछन् । ती चिजहरूलाई हामीले बिक्री गर्न सक्यौँ भने अर्थतन्त्र पनि बलियो हुने र यो समुदायलाई पनि आर्थिक लाभ मिल्ने हुन्छ । तर अहिलेसम्म त्यो हुन सकिरहेको छैन । हिजो हामीले राणा शासन र पञ्चायत तथा राजालाई गाली ग¥यौँ । अहिलेको जनताको शासन अर्थात् गणतन्त्र छ नि । यो बेलामा ठोस रूपमा काम गरिहाल्नुपर्छ । कुमाउ गढवालमा म्याचल फ्रेडेले आरनबाट हेरेर इलेक्ट्रोमेकानिकलको आविष्कार गर्नुभयो । तर नेपालका आरनकर्मीहरू आरनमै सीमित हुनुहुन्छ । उहाँहरू आरनबाट बाहिर निस्किन सक्नुभएको छैन । बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन भन्नेजस्तो अवस्था पाइन्छ । नेपालमा आरन नभएको कुनै गाउँ नै छैन । त्यसैले ती गाउँ गाउँ र टोल टोलका आरनहरूलाई आविष्कार केन्द्रको रूपमा विकास गर्नुपर्छ । कर्णालीमा रैथाने शिल्पकलासम्बन्धी अध्ययन अनुसन्धान गर्ने आवासीय विश्वविद्यालयको आवश्यकता रहेको छ । हामीले वैज्ञानिक खोज एवम् अन्वेषणका कुराहरूलाई संस्कार र संस्कृतिकै रूपमा विकास गर्न सक्यौँ भनेर यसले देशको अर्थतन्त्रलाई धेरै नै ठूलो सहयोग गर्छ ।
(ऋति फाउण्डेसनको आयोजनामा २०७८ फागुनमा वीरेन्द्रनगरमा भएको ‘कर्णाली उत्सव’ को तेस्रो संस्करणमा ‘आरन, अन्वेषण र आविष्कार’ सेसनका वक्ताहरूले व्यक्त गरेका विचार हुन, यी । उत्सवका अन्य सत्रमा व्यक्त विचारहरू पनि क्रमशः प्रकाशित हुनेछन् । यस सत्रको सहजिकरण पत्रकार विष्णु विवेकले गरेका थिए ।)
प्रकाशित मितिः १५ भाद्र २०७९, बुधबार ०५:०४
कुडा कर्णालीका ।