सार्वजनिक जग्गा जोगाउन पहल

अनधिकृत संरचना हटाउन वडा कार्यालयको ३५ दिने सूचना

सुर्खेत: वीरेन्द्रनगर नगरपालिकामा सरकारी तथा सार्र्वजनिक जग्गाको अवस्थाबारे खोजि गर्न थालिएको छ । नगरका वडाहरूमार्फत सार्वजनिक जग्गा संरक्षणको नीति कार्यान्वयन सुरु गरिएको हो । सोही नीति अनुरूप वडा नं. ३ ले उक्त वडाको क्षेत्रभित्र पर्ने सरकारी तथा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने प्रक्रिया अघि बढाएको छ । सडक क्षेत्र मिचेर नियमविपरीत निर्माण गरिएका र नक्सा पास नभएका अवैध भौतिक संरचनाहरू हटाउन लागिएको छ । वडा अध्यक्ष विनोदसिंह विष्टले नगर कार्यपालिकाको पहिलो बैठकले गरेको निर्णयमा टेकेर वडामार्फत सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थापन गर्न थालिएको बताए । त्यसका लागि वडा कार्यालयले मंगलवार ३५ दिने सूचनासमेत जारी गरेको छ । सूचनामा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका र नक्सा पास नगरिएका भौतिक संरचना हटाउन भनिएको छ । दिएको समयसीमाभित्र अटेरी गरी अवैध संरचना नहटाए नियमअनुसार कारबाही हुने वडा अध्यक्ष विष्टले जनाए ।

गत जेठ २३ को नगर कार्यपालिकाको बैठकले निर्णय नं. ७ मा सार्वजनिक जग्गाको लगत लिइ सोको उचित संरक्षण र सार्वजनिक गर्ने निर्णय गरेको थियो । नगर प्रमुख मोहनमाया ढकालले निर्णय सार्वजनिक गर्दै नगरमा प्रयोग र खाली रहेका सार्वजनिक जग्गाको अवस्थाबारे अध्ययन गरी यकिन विवरण बाहिर ल्याइने बताएकी थिइन् । योजनाबद्ध सहर निर्माणको लक्ष्यसहित सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति लिएको नगरले पहिलो कार्यपालिका बैठकबाटै सडक अतिक्रमण हटाएर आवागमन सहज बनाउने निर्णय पनि गरेको थियो । वडा नं. ३ का अध्यक्ष विष्ट आफ्नो वडामा सडक अतिक्रमणको समस्यासमेत धेरै देखिएकाले त्यसको व्यवस्थापन गर्न लागिएको बताउँछन् । ‘हाम्रो वडामा दुई मिटरसम्म सडक क्षेत्र र खोला च्यापेर भौतिक संरचना निर्माण गरेको भेटिएको छ,’ उनले भने, ‘त्यस्ता कतिपय सडक क्षेत्र खाली गरिसकिएको छ । अटेरी गर्नेहरूका लागि सार्वजनिक सूचना जारी गरेका हौँ ।’ उनका अनुसार वीरेन्द्रनगर–३ मा व्यावसायिक प्रयोजनाका लागि निर्माण गरिएका केही ठूला होटलले समेत नक्सा पास नगरी जथाभावी भौतिक संरचना बनाएका छन् । त्यस्ता संरचना सम्बन्धित सञ्चालकले नहटाए वडाले आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

सरकारी तथा सार्वजनिक जग्गा धेरै रहेको भनिने वीरेन्द्रनगरमा ती जग्गाहरूको अवस्थाबारे भने निश्चित विवरण छैन । वीरेन्द्रनगरमा नगर विकास समिति र जिल्ला समन्वय समिति मातहत ठूलो परिमाणमा जग्गा छन् । ती निकायले केही जग्गा भाडामा दिएका छन् भने कतिपय जग्गाको अवस्थाबारे सम्बन्धित निकाय नै अनभिज्ञ छन् । नगरपालिका मातहत रहेको र नगर प्रमुख नै संयोजक हुने नगर विकास समितिले भाडामा लगाएका जग्गाको नियमित राजस्वसमेत उठान सकिरहेको छैन । बजार क्षेत्रमा रहेका जग्गाको भाडासमेत निकै न्यून लिने गरिएको छ । पहुँचको आधारमा नगर विकासबाट जग्गा हत्याएका कतिपय व्यवसायिले वर्षाैंदेखि भाडा पनि बुझाएका छैनन् ।

बढ्दो सहरीकरणसँगै तीव्र अतिक्रमण र फूटपाथको व्यवस्थापनसमेत गतिलो नहुँदा केही वर्ष पहिलेसम्म ‘सुन्दर नगरी’ का रूपमा परिचित वीरेन्द्रनगर पछिल्लो समय कुरूप देखिन थालेको छ । जीर्ण र साँघुरा सडक नै ढाकिने गरी व्यवसाय सञ्चालन गर्ने प्रवृत्ति बढ्दो छ । फूटपाथ र ट्राफिक व्यवस्थापनका लागि पटक–पटक प्रयास गरेपनि नगरपालिका सफल हुन सकेको छैन । नगरका उपत्यकाभित्र पर्ने सबैजसो वडामा सार्वजनिक जग्गा अतिक्रमणको समस्या उस्तै छ । जसले गर्दा नगर झन्–झन् अव्यवस्थित बन्दै गएको छ । नगर अव्यवस्थित भएको सर्वत्र आलोचना हुन थालेपछि अहिले नगरपालिका वडा कार्यालयहरूमार्फत सार्वजनिक जग्गाको संरक्षणमा लागेको हो । सोही अभियान अन्तर्गत मंगलवार नगरपालिकामा सरोकारवाला निकायको बैठक गरिएको छ । वीरेन्द्रनगरको सवारी पार्किङ व्यवस्थापन र वीरेन्द्रचोकदेखि खोर्केखोला हुँदै यरीचोक जाने सडकमा सवारी साधनलाई वान–वे मात्रै सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ ।

प्रकाशित मितिः   १५ भाद्र २०७९, बुधबार ०५:०५