कुडा कर्णालीका

बजार विकास, हजार निकास

सुरथ गिरी/अध्येता

कर्णाली र बजार । झट्ट सुन्दा यी आफैमा विरोधाभासी जस्तो लाग्छ । किनभने हामीले कर्णाली भन्नासाथ सुन्दै आएका शब्दहरू हुन् शोक, रोग, गरिवी आदी । कर्णालीबारे अरु आउने शब्दहरू एनजीओ, अनुदान, दुर्गम र विकट आदी । कर्णाली बारेको बहसमा हामीले बजार भन्ने शब्द सायदै मात्रै सुनेका छौँ । त्यसैगरी कर्णालीको बहसमा उद्यमशीलता भन्ने शब्द पनि सायदै सुनेका छौँ । बजार भन्नासाथ हामिले बस्तु तथा सेवा किनबेच गर्ने ठाउँ भनेर बुझ्छौँ भने अर्काेतिर बजार व्यवस्था । अर्थतन्त्रको त्यस्तो व्यवस्था जहाँ निजी क्षेत्रको भूमिका धेरै हुन्छ । अर्थतन्त्र सरकारभन्दा समुदायबाट बढी निर्देशित हुने बजार व्यवस्थाबारे पनि बहस गर्नेछौँ ।

कर्णालीसँग मेरो साक्षात्कार २०६९ सालको दसैँको समयमा भएको थियो । त्यतिबेला हाम्रो रारा घुम्न जाने योजना बन्यो । त्यसका लागि हामीले खोजी गर्दा के पायौँ भने अधिकांश व्यक्तिहरू सिधै प्लेनमार्फत मुगुको ताल्चा विमानस्थल जाने रहेछन् र त्यहाँबाट रारा घुमेर फर्कने रहेछन् । हामीलाई त्यसरी घुमेर कर्णाली नबुझिने लाग्यो । कर्णाली बुझ्ने गरी घुमौं भनेर नयाँ बाटोबाट यात्रा गरेर कर्णाली राम्रोसँग अनुभव गरौँ भन्ने लाग्यो । हामी दैलेखसम्म गाडिमा आयौँ । त्यहाँबाट कालिकोट, जुम्ला हुँदै ६ दिन लगाएर हिँडेर रारा पुग्यौँ । त्यो यात्राका क्रममा तीनवटा घटनाहरू भएका थिए जुन अहिलेसम्म पनि मेरो स्मृतिमा रहिरहेका छन् ।

पहिलो घटनाः जब हामी दैलेखबाट उकालो लाग्दै थियौँ । त्यो दिन हामि भैंसीचौर गएर बास बस्ने योजनामा थियौँ । बाटोमा हामीले विश्वकर्मा थरको एक जना युवकसँग भेट्यौँ । उहाँ वैदेशिक रोजगारीबाट फर्कनुभएको रहेछ, दसैँ मनाउन । मैले उहाँलाई के सोधेँ, ‘तपाईं तिहार सकेर भारतमा रोजगारीको लागि फर्किनुहुन्छ ?’ उहाँले दशैँको टिका लगाएको भोलिपल्ट भारत फर्किने बताउनुभयो । किन ? भन्ने मेरो जिज्ञासामा उहाँले भन्नुभयो, ‘हामीले भारतमा एउटा क्याफे पनि खोलेका छौँ । तिहारको समयमा त्यहाँ एकदमै धेरै व्यापार हुन्छ ।’ त्यो कुराले मैले कर्णालीबासीमा उद्यमशीलताको झिल्को पाएँ ।

दोस्रो घटनाः कालीकोटको सेराबाडाबाट हामी हिँडिरहेका थियौँ । अकस्मात एकछिन पख्नुसत् भनेर कतैबाट एउटा आवाज आयो । हामीलाई कसैले नचिनेको ठाउँमा कसले किन बोलाए भनेर हामी छक्क प¥यौँ । एक जना मान्छे थालमा सेल र टिका लिएर आउनुभयो । त्यो दिन दसैँ थियो । दसैँको दिन पनि किन खाली निधार लिएर हिँड्नुभएको भनेर एउटा अपरिचित व्यक्तिले टिका लगाइदिनुभयो र सेल खान दिनुभयो । बजार व्यवस्थाको लागि चाहिने मानिसहरूको सदासयता त्यसबाट देखेँ ।

तेस्रो घटनाः जब म रारा पुगेँ । मेरो स्थानीय साथी आएको थियो । उसले रारा घुमाउँछु भन्यो । घुम्दै गर्दा उसले त्यहाँ भेटेजतिका झारपातहरू देखाउँदै ती जडिबुटीहरूको नाम बतायो । सुरुसुरुमा त उत्साहित भएको थिएँ । पछि पछि त दिक्कै लाग्यो यहाँ त जे टिपे पनि जडिबुटि नै रहेछजस्तो लाग्यो । यहाँको अवसर चाहिँ मैले त्यहाँबाट थाहा पाएँ ।

मेरो एउटा साथी कर्णालीकै कुनै एउटा ठाउँमा अध्ययनको लागि गएको थियो रे । त्यहाँ एउटा बाजेसँग कुरा गर्दा उहाँले साथीलाई के भन्नुभएछ भने, हेर्नुस बाबु तपाईं पूर्वको हुनु हुँदोरहेछ । पूर्वका नेता बलिया, पश्चिमका देउता बलिया । उहाँले हामी अल्ली बढी भाग्यवादमा विश्वास गर्ने भएर पछाडि परेका हौँ भन्ने इंगित गर्न खोज्नुभएको थियो होला ।

डा. भोला चालिसेले भन्नुहुन्थ्यो, बजारलाई जब हामीले नियन्त्रण गर्छाैं, त्यो भनेको बजारको ढोका अलिकति मात्रै खोल्नु हो । त्यसमा जो टाँठाबाठा छन् तिनीहरू मात्रै जान सक्छन् । त्यसमा भित्र गएकाहरूले पनि फेरी भित्रबाट ढोका बन्द गर्न सक्छन् । जसलाई हामीले सिन्डिकेटको उदाहरणको रूपमा बुझ्न सक्छौँ । त्यतिबेला सरकारको भूमिका त्यो ढोका खोलिदिने वा बन्द गर्न नदिने हुनुपर्छ । त्यसबाट बजारमा प्रतिस्पर्धा हुँदैन र वस्तु तथा सेवाको महँगो मूल्य र कम गुणस्तरको हुनसक्छ । अर्थात् त्यसको विकल्प हुन सक्दैन । जब हामीले बजारलाई जति धेरै खुला र उद्यमशील बनाउँछौँ, त्यसपछि सबै मानिसहरू सहजै बजारको फाइदा लिन सक्छन् । जसबाट बजार प्रतिस्पर्धी हुन्छ । बजारमा प्रतिस्पर्धी हुनु भनेको वस्तु तथा सेवा र मुल्यमा नागरिकहरूलाई रोज्ने अधिकार हुन्छ । धेरै विकल्पहरू हुन्छन् ।


रेवती गुरुङ/उद्यमी

उद्यमीको रूपमा मैले काम गरेको भर्खरै तीन वर्षमात्रै भएको छ । सरल रूपमा भन्नुपर्दा उद्यमशीलता भनेको कुनैपनि सामाजिक, आर्थिक मुल्य सिर्जना गर्नका लागि निरन्तर रूपमा अवसरहरूको खोजी गर्ने एउटा इच्छा र योग्यता उद्यमशीलता हो । अवसर खोज्ने इच्छा र योग्यता हुँदाहुँदै पनि तपाईं सफल हुनुहुन्छ भन्ने कुनै निश्चितता हुँदैन । अनिश्चितताको बाबजुत नै तपाईंले त्यो इच्छा राख्ने हो । तपाईंको इच्छालाई अवसर प्राप्त गर्न कस्तो किसिमको कदम चाल्नुहुन्छ, त्यो कदम चाल्नलाई तपाईंसँग साहास छ कि छैन ? त्यो कुराले तपाईं उद्यमी हो या होइन भन्ने फरक पार्छ । मैले भन्न खोजेको कुरा चाहिँ एउटा इच्छा र योग्यतामात्रै भएर तपाईं उद्यमी बन्न सक्नुहुन्न । जोखिम लिने तपाईंसँग साहस छ कि छैन भन्ने कुराले फरक पार्छ ।

तीन वर्षअघि मेरो साथीहरू सामाजिक र आर्थिक क्षेत्रमा परिवर्तनका लागि धेरै आइडियाहरू ल्याएर आउनुभएको थियो । हामीले सँगै काम गरेका थियौँ । तर उहाँहरू अहिले उद्यमी हुनुहुन्न, म उद्यमीको रूपमा स्थापित भएको छु । त्यसमा फरक के थियो भने त्यो अवसर प्राप्त गर्नका लागि मैले के कति कदमहरू चालेँ, मैले के कति जोखिम लिएँ भन्ने कुराले फरक पार्छ । उद्यमी बन्न चाहानेहरूले सबैभन्दा बढी जोखिम बहन गर्न सक्नुपर्छ ।

कर्णालीमा जल, जमिन, जडिबुटी लगायत धेरै साधन र स्रोतहरू छन् । कर्णालीमा रहेका यी स्रोत साधनको उपयोग गरी वस्तु तथा सेवाको उत्पादन, प्रसोधन र बजारीकरणका लागि स्रोतसाधनको अभाव छ । उद्यमशीलतामा अर्काको नक्कल गर्नैपर्छ भन्ने छैन । कर्णालीबासीको ३० वर्षपछिको जीवनशैलीलाई परिकल्पना गरेर पनि अहिले व्यवसाय गर्न वा सोअनुसार वस्तु तथा सेवा उत्पादन गर्न सकिन्छ । हामीमा दिगो विकासका अवसरहरू प्रयोग गर्ने अवसर पनि छ । त्यसैले उद्यमशीलतालाई हामिले गहिरो रूपमा बुझेर काम गर्नुपर्छ ।

मैले कर्णालीकै सामानहरू पनि फ्रान्समा निर्यात गरिरहेको छु । सामानहरूको उच्च माग रहेको छ । अरुको कमजोरी हाम्रो अवसर हो । हामीले भारत वा चिनको उत्पादनको नक्कल गर्ने होइन । हामिसँग भएको उत्पादन र कच्चापदार्थ उनीहरूसँग छैन । हामी व्यावसायिक छैनौँ । उदाहरणको लागिः न्युजिल्याण्डमा उत्पादन भएको राडी यहाँ करिब चार हजार रूपैयाँमा पाउन सक्नुहुन्छ । मैले निर्यात गरिरहेको डोल्पाको भेडाको उनबाट बनेको कार्पेट तीनदेखि चार लाख रूपैयाँसम्ममा बिक्री हुन्छ । त्यो किन हुन्छ भने, विशिष्टता हुनुपर्छ । त्यो बनाउनका लागि न्युजिल्याण्ड वा चीनमा छिटो उत्पादन गर्नका लागि भेडाहरूलाई व्यापारिकरण गर्नुप¥यो । त्यहाँ प्राकृतिक भेडा नै पाइँदैन । हामीसँग भएको भेडा र चौंरीहरू अर्गानिक हुन् । पश्चिमी बजार अमेरीका तथा युरोपमा एउटा अभियान चलिरहेको छ । जुन अबको करिब २० वर्षसम्म कडा रूपमा आउनेवाला छ । त्यो भनेको ग्रेटा मुभमेन्ट जुन दिगो विकासको कुरा हो । हामीकहाँ ठूलो मात्रामा औधोगिकरण भइसकेको छैन । कच्चापदार्थहरू अर्गानिक स्वरूपमा रहेको छ । उद्यमीहरूले उत्पादन गर्दा वस्तुको परिमाणभन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्छ । कर्णालीका लागि यो धेरै नै महŒवपुर्ण कुरा हो । एक हजारवटा राडी जम्मा तीन लाखमा बेच्ने वा एउटा राडी तीन लाखमा बेच्ने भन्ने कुरा हो । त्यसैले हामीले वस्तु धेरै नभई राम्रो बनाइ महँगोमा बेच्न सक्नुपर्छ । रूकुमको अल्लो खासमा पहिले पहिले चाहिँ त्यहाँ बुन्ने हो । अहिले कच्चापदार्थ नै बेचेर काठमाण्डौं पु¥याउनुपर्छ । मेरो युरोप र अमेरीकाको ग्राहकहरूले रूकुमकै महिलाले बुनेको अल्लोको कपडा रूचाउनुहुन्छ । काठमाण्डौंमा बनेको दुई सय ५० रूपैयाँको त्यहि उनको कपडा रुकुमको महिलाले उनेको भए एक लाख रूपैयाँसम्म तिर्न ग्राहकहरू तयार हुनुहुन्छ । त्यसैले हामिले अर्गानिक रूपमा बस्तुको गुणस्तरमा केन्द्रित ग¥यौँ भने त्यसले मुल्य पाउँछ । विशिष्टता हाम्रो सबल पक्ष हो । हामीले आफुसँग भएको क्षमतालाई कमजोर ठान्छौँ तर अरुलाई राम्रो देख्छौँ । उत्पादनको ब्राण्डिङ र बजारीकरणको पनि काम गर्न सक्नुपर्छ ।
संसारले आधुनिकिकरण अंगाल्यो । त्यसबाट दिक्क भएर प्रकृतितिर फर्किहेको छ । नेपाल र विशेषगरी कर्णाली हामी अझँै प्राकृतिक अवस्थामै छौँ । यसको सदुपयोग गरेर उद्यमशीलता गर्नुपर्छ ।

म उद्यमी हुनुभन्दा अगाडि फिल्ममेकर थिएँ । २०१७ मा गरिबि निवारण कोष र विश्व बैंकले करिब १७ वटा जिल्लाहरूमा बजार कसरी बनाउन सकिन्छ भन्ने अध्ययनका लागि एउटा ठूलो परियोजना थियो । त्यसमा सफलताका कथाहरूको भिडियो बनाउनका लागि म पूर्वको तेह्रथुमदेखि दैलेख जिल्लासम्म घुम्ने अवसर पाएँ । जतिबेला त्यहाँका उद्यमीहरूसँग अन्तरक्रिया गर्ने मौका पाएँ । जसमा मैले आठ वटा सफल उद्यमीहरूका डकुमेन्ट्री बनाएँ । त्यसपछि म डिप्रेसनमा गएँ । किनभने त्यो सबै झुट थियो । जुन परियोजनाको लागि धेरै रकम आएको थियो । त्यो रकम जुन उद्देश्यका साथ आएको थियो, त्यो १० प्रतिशत पनि कार्यान्वयन भएको थिएन । तपाईं उद्यमशीलतामा सफल हुने या नहुने कुरा तपाईंमा मात्रै नभएर आर्थिक प्रणालीमा पनि निर्भर हुन्छ ।


बसन्त अधिकारी/ निर्देशक, विकल्प अन अल्टरनेटिभ

बजार भनेको वस्तु तथा सेवाको खरिदबिक्री र लेनदेन हुने ठाउँ हो । कस्तो खालको नीतिले कुनैपनि देशको उद्यमशीलता फस्टाउन मद्दत पुग्छ भन्ने कुरामा चाहिँ तपाईंलाई गरिखान कति सहज वा असहज छ भन्ने कुरा हुन्छ । कर्णालीमा वा नेपालमा किन उद्यमशीलताको विकास भएन ? किन हामी उद्यमी नभएर वैदेशिक रोजगारीमा जान चाह्यौं ? भन्ने कुरामा विश्व बैंकले निकालेको पछिल्लो प्रतिवेदनअनुसार नेपाल व्यावसायिक वातावरणको सहजतामा ९४औँ स्थानमा पर्छ । व्यवसाय सुरुवात गर्नका लागि सहजताका हिसाबले एक सय ८० वटा देशहरूमध्ये नेपाल एक सय ३५औँ स्थानमा छ । त्यसमा पनि हेरिटेज फाउण्डेशनले गरेको अध्ययनअनुसार नेपाल एक सय ५७औँ स्थानमा पर्छ । तपाईंले एउटा व्यवसाय दर्ता गर्नु छ भने पनि दर्ता गर्नका लागि नै झन्झटिलो प्रक्रिया हुने तथा समय धेरै लाग्ने समस्या छ । दर्ता गर्नका लागि आवश्यक हुने प्रक्रिया र कागजातबारे सूचनाको सहज पहुँच नहुने पनि समस्या छ । एउटा उद्योग सञ्चालन गर्नका लागि विद्युत लिनका लागि सहज छैन । एकजनाले मलाई फोन गरेर भन्नुभयो, ‘भान्जाले एउटा उद्योग गर्न लागेका थिए विद्युत लिनै गाह्रो भयो । लौन यसो केहि भनसुन गरेर सहयोग गरिदिनुप¥यो ।’ एक जना व्यापारीले उद्योग खोल्दै गर्दा नौ महिनासम्म विद्युत लिन नपाएको अवस्था छ । व्यवसायको ठेगाना सार्दासमेत धेरै समस्या छ । एउटा व्यवसाय दर्ता गर्न वा त्यसका लागि आवश्यक बिजुली पाउनका लागि यति धेरै असहज परिस्थिति र धेरै प्रक्रियाहरू छन् वा घुस दिनुपर्छ भने भने तपाईंले यो देशमा कसरी गरीखान सक्नुहुन्छ ?

साधारण कुराहरूमा पनि समस्या छ । कर तिर्ने प्रक्रियाहरूमा पनि झन्झटिलो छ । विराटनगरको मान्छे मोटरसाइकलको कर तिर्नका लागि इटहरी जानुपर्छ वा दैलेखको मान्छे सुर्खेत आउनुपर्छ । सरकारलाई पैसा आउने मुख्य स्रोत भनेकै कर हो । म हरेक वर्ष मेरो मोटरसाइकलको कर राज्यलाई तिर्छु । त्यो कर पनि सजिलोसँग तिर्न सक्ने वातावरण छैन । मैले मेरो कर तिर्न कम्तीमा एक दिन पूरा लाग्छ । दलाललाई थप रूपैयाँ तिर्न समेत पर्छ । त्यसबाट त्यो दिनको मेरो कमाइ पनि खेर गयो, झन्झट पनि पाएँ र पैसा पनि अतिरिक्त तिर्नुपर्याे । व्यवसाय सञ्चालन गर्नका लागि त असहज छ नै । कसैले झन्झट भएर व्यवसाय बन्द गर्न चाह्यो भने पनि सजिलो छैन ।

आज संसारमा सबैभन्दा धेरै धनी मान्छहरू चीनमा छन् । ४० वर्षअघिसम्म त्यही चीन संसारका गरिव देशहरूमध्ये चिनाउनुपथ्र्याे । त्यसको कारण चीनले पछिल्लो चालिस वर्षमा व्यवसायलाई फस्टाउने वातावरण दियो । उसको नीतिहरूमा परिवर्तन गरी उद्यमीमैत्री बनायो । हिन्दी सिनेमाहरूमा हेर्दा १९९० भन्दा अगाडिको सिनेमामा प्राय एउटै सेतो कार देखिन्छ । त्यसपछिका सिनेमाहरूमा फरकफरक देखिन्छन् । अर्थात् १९९० मा भारतले जुन नीतिगत सुधार ग¥यो, त्यसले व्यापक आर्थिक सुधार भएको छ । आज भारतमा एउटा खरबुजा वा टिसर्ट बेच्ने मान्छेले पनि कारमा हिँड्न थाल्यो । हिजोको दिनमा त्यो सिमित व्यक्तिहरूको पहुँचमा थियो भने आज सबैको सहज पहुँचमा पुग्यो । हामीले यहाँ साढे दुई लाखमा किन्ने मोटरसाइकल करिब ५० हजारमा भारतमा उपलब्ध हुन्छ । हामिले मोटरसाइकल किन्ने पैसाले भारतमा कार किन्न सकिन्छ । त्यो अवस्था उनिहरूले नीतिगत सुधारकै कारणले ल्याएका हुन् । व्यवसाय गर्दाका अनावश्यक नीतिगत झन्झटहरू उनीहरूले हटाइदिए ।

हामीले उद्यमी बन्नका लागि मानिसहरू उत्साहित भएको देख्दैनौँ । एउटा मान्छे राजनीतिमा लाग्न लालायित छ कि उद्यमी बन्न ? हामीले उसलाई कतातिर लाग्न उत्साहित गरिरहेका छौँ ? हाम्रो सरकार र समाजले उद्यमशीलता र बजारको कुरालाई निरुत्साहित गर्ने गरेको छ । जुन कुरालाई हामिले बढि उत्साहित गर्छाैँ, त्यसमा सफलता पाउने हो । बजारले जति गरिब मानिसहरूको हित गरेको छ, त्यति हित कसैले पनि गरेको छैन । दुई रूपैयाँमा कपालमा लगाउने तेल तपाईंलाई बजारले दिएको हो । अर्थात् बजारले धनि मान्छेहरूलाई मात्रै हित गर्छ भन्ने कुरा भ्रम हो । धनी सँगसँगै गरिव मानिसहरूको हित बजारले गर्छ । संसारमा जुनसुकै देशको उदाहरण हेर्नस जसले बजारको विकास गर्न सकेको छैन त्यो देश गरिव छ । उत्तर र दक्षिण कोरियाको उदाहरण हामिले हेर्न सक्छौँ ।

हामीले गरिबिलाई कम गर्नका लागि बजारको विकास गर्नुपर्छ । उद्योगधन्दाको विकास गर्नुप¥यो । जसबाट रोजगारी सिर्जना हुन्छ । त्यो किसिमको नीतिहरू आवश्यक छ जसले लगानीको वातावरण सहज होस । जोसँग आज जागिर छैन । रोजगारी नभएकोले आज चोकमा बसेर दुई जना क्यारमबोर्ड खेलिरहेको हुन्छ अरु १० जनाले यो वा त्यो गोट्टी हान भनेर सिकाउँदै हेरेर बसेका हुन्छन् । उद्यमशीलता प्रवद्र्धन भयो भने ती मानिसहरूले रोजगारी पाउँछन् । उसले रोजगारी पाउनेबित्तिकै शिक्षाबाट वञ्चित उसको छोराछोरीले उचित शिक्षा पाउँछन् । उसको परिवारले राम्रो स्वास्थ्य उपचार पाउँछन् । बजारका कारण सुरुमा केही सिमित मानिसहरूले कमाएजस्तो देखिएपनि त्यसले सबै मानिसहरूलाई फाइदा गर्छ । लगानी कसै न कसैले त ल्याउँछ । लगानीबाट कमाएको पैसा थप लगानी गर्छ जसले राज्यलाई कर त संकलन हुन्छ नै थप रोजगारी सिर्जना हुन्छ । बजारमा धेरै बस्तु तथा सेवा उत्पादन भएमा प्रतिस्पर्धा हुन्छ र त्यसबाट सस्तोमा बस्तु तथा सेवा पाइन्छ । जसले गरिवहरूकै हित गर्छ । त्यसैलै गरिवहरूको बजार नै सबैभन्दा ठूलो साथी हो  । सरकार गरिवहरूको सहयोगी हुन सक्छ ।

आज कर्णालीको एउटा सबैभन्दा ठुलो समस्या गरिवी हो । हामी किन गरिव छौँ भने यहाँ हामीकहाँ सहज बजार छैन । उद्योगधन्दा कम छन् । कम रोजगारी छ । उद्यमशीलताको लागि नीतिगत तथा व्यावहारिक बाधाहरू छन् । सहज पूर्वाधार छैन । उत्पादनको बजार छैन । जबसम्म हामीले नितिगत सुधारमार्फत मानिसहरूलाई गरिखाने वातावरण सिर्जना गर्न सक्दैनौ तबसम्म हामिले यस्तै नियति भोग्नुपर्छ । हामीसँग कस्तो खालको आइडिया छ, उद्यमशीलताका लागि त्यो महत्वपुर्ण हुन्छ । त्यससँगै सीप पनि आवश्यक कुरा हो । बजारको माग के छ त्यसका आधारमा आफ्नो क्षमता विकास गर्न जरुरी हुन्छ । उद्यमशीलतासँग नवप्रवर्तन पनि जोडिन्छ । कसैले गरिरहेको कामलाइ भन्दा नयाँ कुरालाइ जोडेर कसैको समस्या समाधान गर्न भूमिका खेल्छ भने त्यो उद्यमशीलता हो ।


हिमा उपाध्याय/उद्यमी

 

अवसर भनेको तपाईंले कहाँ खोज्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ । कर्णालीमा बसेर कर्णालीमै अवसर देख्नुहुन्छ कि विदेशका खाडी वा युरोप र अमेरीकालगायतका मुलुकहरूमा अवसर देख्नुहुन्छ भन्ने कुराले अर्थ राख्छ । मैले कक्षा २ पढ्दाखेरी पाएको एक हजार सात सय रूपैयाँबाट मेरो ममीले कुखुरा किनिदिनुभएको थियो । त्यसबाट एक सय रूपैयाँमा एउटा भाले बेच्दाखेरी जुन आनन्द मलाई आएको थियो । त्यसबाट मलाई उद्यमी बन्न प्रेरणा मिल्यो । मलाई उद्यम गर्नुपर्ने रहेछ भन्ने मनमा छाप बस्यो ।

मेरो आफन्त व्यापार गर्नुहुन्थ्यो । उहाँले अरुले उत्पादन गरेका सामानहरू ल्याएर बेच्नुहुन्थ्यो । उहाँहरूले सम्पन्नताको आडमा हामीलाई गर्ने व्यवहारले एकदमै छुन्थ्यो । मलाई जहिले पनि आफूले केही गर्नुपर्छ भन्ने लाग्थ्यो । मैले कुखुरा बेचेर त्यतिबेला बाख्रा किनँे । बाख्राबाट तीन वटा खसी बेचेर आफ्नै पैसाले मैले सुन लगाएको थिएँ । एसएलसीपछि मैले पारिवारिक हिसाबले पनि माथिल्लो तह पढ्न नसक्ने अवस्था आएपछि मैले झुप्रा खोलामा बालुवा बनाएर केही दिनमा ३६ हजार कमाएको थिएँ । त्यो पैसा ३६ हजारमध्ये दुई हजार लिएर वीरेन्द्रनगरमा क्याम्पस पढ्न आएँ, बाँकी आमालाई राख्न दिएँ ।

मलाई सरकारी जागिर खानुपर्छ भन्ने कुरा मनमा कहिल्यै आएन । २०६८ सालमा मैले पत्रिका बाँड्न सुरु गरेँ । त्यसबाट कमाएको पैसाले नयाँ केहि गर्नुपर्छ भन्ने सोचले रातमा निन्द्रा पर्नै छोड्यो । मैले कमाएको २० हजार रूपैयाँ मात्रै भएकोले एक वर्षमा कमाएर तिर्नेगरी प्रेस किनेँ । काम गर्न थालेँ । त्यसैले अवसर आफैले खोज्नुपर्छ । केही गर्नसक्ने आत्मविश्वास हुनुपर्छ ।

नीतिगत व्यवधानहरूका कारण पनि कर्णालीमा बसेर उद्यम गर्नलाई कठिन भएको छ । यहाँका उत्पादनको सहज रूपमा बजारीकरणको व्यवस्था नहुँदा समस्या रहेको छ । उद्यमीहरूलाई वस्तु बिक्री गर्नका लागि बजारबारे ज्ञान नहुनु र सरकारले बजारको ज्ञारेन्टी नगर्नुले समस्या पैदा गरेको छ ।

प्रकाशित मितिः   ९ भाद्र २०७९, बिहीबार ०५:०४