अपराधको दलदल

महिलामाथि हुने हिंसाका घटना निकै धेरै छन् । घरेलु हिंसादेखि बलात्कार र हत्यासम्मका जघन्य अपराधको श्रृंखला निरन्तर चलिरहेको छ । यस्ता अपराधबाट बालिकाहरू बढी पीडित हुने गरेको पाइएको छ । हरेक दिनजसो बलात्कार र जबरजस्तीकरणीका जघन्य अपराधको सिकार बालिकाहरू बनिरहेका छन् । अन्य उमेर समूहका महिलाभन्दा बालिका तथा किशोरीहरू बढी जोखिममा देखिएका छन् । प्रहरी तथ्यांकअनुसार बालिकामाथि हुने बलात्कारका घटना बर्सेनि बढ्दोक्रममा छन् । बलात्कारका बढीजसो घटनामा चिनेजानेका, नजिकका आफन्त र समाजले भरोसा गरेका व्यक्तिहरूकै संलग्नता देखिने गरेको छ । यसले हाम्रो समाजका कुरूप चित्र देखाउँछ । जहाँ महिला तथा बालिकाहरू आफन्तबाटै असुरक्षित छन् । अपराधको सिकार भइरहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षको अवधिमा प्रदेशमा महिला तथा बालिका गरी तीन सय पाँच जना बलात्कृत भएका छन् । त्यसमध्ये ३२ प्रतिशत अर्थात् ९८ जना १८ वर्ष मुनिका हुन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा एक सय ५५ महिला तथा बालिका बलात्कृत भएका थिए । त्यसमध्ये १८ वर्ष मुनिका ५५ जना रहेको प्रहरीले जनाएको छ । उक्त वर्ष १९ देखि ३५ वर्ष उम्मेर समूहका ६९ जना, ३६ देखि ५९ उम्मेर सूमहका २७ जना र ६० वर्षमाथिका सात जना महिला बलात्कृत भएका थिए । यो विवरणले जुनसुकै उमेर समूहका महिला पनि असुरक्षित भएको देखाएको छ । बालिका तथा किशोरीहरू मानसिक रूपमा पनि परिपक्क नहुने हुँदा विभिन्न प्रलोभनमा परेर यौन शोषणमा बढी पर्ने गरेको अनुसन्धानहरूबाट खुल्ने गरेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा कर्णालीमा एक सय ५० जना महिला बलात्कृत भएका छन् । त्यसमध्ये ४६ जना बालिका बलात्कृत भएका हुन् । प्रहरीका अनुसार १९ वर्षदेखि ३५ वर्षसम्म ६९ जना, ३६ देखि ५९ उमेर समूहका ३० जना र ६० वर्षमाथि उमेर समूहका पाँच जना बलात्कृत भएका थिए । उक्त वर्ष पनि यौनजन्य हिंसाका घटना अपरिचितभन्दा परिचित व्यक्तिबाट नै धेरै भएको पाइएको थियो ।

कर्णालीमा बलात्कारका घटना बर्सेनि बढ्दो क्रममा देखिएको छ । केही वर्ष यताका बलात्कारका आँकडा हेर्दा अवस्था भयावह छ । त्यस्ता कैयन् घटनामा परिवारका अभिभावक र सदस्यहरू नै संलग्न हुने गरेको पाइएको छ । पछिल्ला वर्षहरूमा सामाजिक सचेतना बढेकोले पनि यस्ता घटनाहरू बाहिर आउन थालेका छन् । यसरी आएका घटनाहरूको उचित छानबिन, पीडितलाई न्याय र पीडकलाई दण्ड दिने अवस्थाको निर्माण गर्नु अपरिहार्य छ । बलात्कार जस्तो जघन्य अपराध न्यूनीकरणका लागि सबैको उत्तिकै सक्रियता चाहिन्छ ।

प्रकाशित मितिः   ८ भाद्र २०७९, बुधबार ०५:०३