बन्दको आंशिक प्रभाव

सुर्खेत: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना चार दलले मंगलवार गरेको नेपाल बन्दको सामान्य प्रभाव देखिएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा पनि बन्दको आंशिक प्रभाव परेको थियो । यहाँ निजी सवारी साधन, मोटरसाइकल तथा अटो रिक्साहरू फाटफुट चलिरहेपनि लामो दूरीका सार्वजनिक यातायात भने दिनभर चलेनन् । वीरेन्द्रनगरका मुख्य बजार क्षेत्रका व्यापार व्यवसाय बन्द गरिएका थिए । बिहानैदेखि सडक र चोकहरूमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डीएसपी) सुरज कार्कीले बन्दका कारण सुर्खेत जिल्लाभर कुनै अप्रिय घटना नभएको जनाए । उनका अनुसार केही सार्वजनिक सवारी साधनलाई प्रहरीले स्कटिङ गरेर सम्बन्धित ठाउँसम्म सुरक्षित पु¥याएको थियो ।

वीरेन्द्रनगरमा सञ्चालित शैक्षिक संस्थाहरूमा भने बन्दको बढी नै प्रभाव परेको छ । मंगलवार केहीबाहेक अधिकांश सामुदायिक विद्यालयहरू सञ्चालन भइरहेपनि निजी शैक्षिक संस्थाहरू भने बन्द थिए । सरकारसँग भएको तीन बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता÷कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता र थुनाबाट मुक्त गर्नुपर्ने माग राखेर विप्लव नेतृत्वको नेकपाले देशव्यापी बन्दको घोषणा गरेको हो । विप्लवको पार्टीले आह्वान गरेको बन्दमा ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीको समर्थन छ । एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य तीन पार्टीले पनि बन्दमा समर्थन गरेका हुन् ।

प्रकाशित मितिः   ८ भाद्र २०७९, बुधबार ०५:०२