भोलिवादको मनोविज्ञान

कुनै कामको थालनी भएको छैन । कहिलेदेखि गर्ने भन्यो भने भोलिदेखि भन्ने हुन्छ । कहिलेदेखि पढ्ने ? भोलिदेखि । कहिलेदेखि नयाँ योजनामा काम गर्ने ? भोलिदेखि ।

यो भोलि भन्ने शब्द बहुतै जटिल छ । समझभन्दा बाहिर, मनोविज्ञानको निकै नजिक । मनोविज्ञानमा राम्ररी काम गर्न सके यो रोगको जरासम्म हामी पुग्न सक्छौँ होला ।

‘भोलि गर्छु’ यो वाक्यांश कुनै कार्यलाई नगर्नका लागि अथवा ढिलो गर्नका लागि प्रयोगमा ल्याइन्छ । स्वभावतः भोलि गर्छु भन्ने भावना भने कसैमा पनि हुँदैन होला । तर, हाम्रा बानी, वातावरण, साथी, संगत, अध्ययन गर्ने पुस्तक र समयसँगै बढ्दै गएको मोबाइलको लत यसका कारक तत्व हुन सक्छन् ।

विचारविना यो धरतीमा अवतरण गरेको मानवमा भोलीवादका लागि कुनै स्थान छैन । वंशाणुगत गुणमा कुनै व्यक्तिको स्वभाव सर्ला तर कर्म नितान्त एउटा व्यक्तिको स्वनिर्णय हो । अहिले गर्ने कि पछि गर्ने ? अहिले सक्काइदिने कि पछि सक्काइदिने ? भोलि गर्ने कि आज गर्ने ? अलि–अलि गरे जस्तो गर्ने कि पुरै मन लगाएर गर्ने ? आफूसँग भएको बुद्धि विवेकको प्रयोग गर्ने कि नगर्ने ?

छनौटमा पनि ढिलासुस्ती, काममा पछि र जीवनमा अघिअघि जान खोज्ने मानवीय स्वभाव बुझ्न बहुतै जटिल छ । मान्छेलाई सफलता सय प्रतिशत चाहिने तर काम दुई प्रतिशत पनि गर्नको लागि जागर चलाउँदैन् । यो कस्तो पागलपन, बहुलठ्ठीपन र मुर्खता हो ?

कसले बुझ्न सक्छ, मान्छेलाई ? मान्छेको मनोविज्ञानलाई ? स्वभावलाई, संस्कृतिलाई, चाहानालाई, रहरलाई महत्वाकांक्षालाई, सपनालाई ? यिनी सबै एउटै मान्छेभित्रका फरकफरक विषयहरू हुन् । जसको बारेमा सधैँ अधुरो र अपूरो खोज–अनुसन्धान भइरहन्छ । भएकै छ । चुरो कुरो निस्कन जुगजुग पर्खनु पर्ने पनि हुन सक्छ । कतिपयले नाटक गरेरै भएपनि हामीले थाहा पायौँ भनेकै हुन्छन् । यसर्थ जीवन सही ढङ्गले बाँच्न चाहाने हो भने नाटक गर्न जान्नु धेरै महŒवपूर्ण रहेछ भन्ने बुझ्नु पर्दछ ।

हुन त नाटक गरेर पनि कहिलेसम्म खुसी हुने ? कहिले यिनी सञ्जिवनी बुटीजस्ता ओखतीहरू भेटिन्छन् र मान्छेका समस्याहरू सधैँका लागि निराकरण हुन्छन् ?

वर्षौंदेखि हजारौँ–लाखौँ पुस्तकहरू मान्छेलाई काम गर्नको लागि उत्प्रेरित गर्न लेखिए । तर, झन समस्या बढ्दै गएको छ । मान्छे मानसिक रोग, डर, त्रास, ढिलासुस्ती, दुष्कर्म, लागूऔषध दुव्र्यसनीजस्ता क्रियाकलापमा फस्दै गएको छ ।
यतिबेला मेरो मस्तिष्कमा भैरव अर्याल (वि.सं. १९९३–२०३३) ले बिसौँ शताब्दीमा लेखेको जय भोलि निबन्धको एउटा अंश आइरहेको छ । हुन पनि नेपालीमा भोलिवादका सम्बन्धमा कुनै लेख लेखियोस् र ‘जय भोलि’ निबन्धको कुरा नहोस् यस्तो कसरी हुन सक्ला ?’ उहिल्यै राजर्षि महाराजको पालामा कुन्नि कता हो आगो लाग्यो रे । लाग्नासाथ घरभेटीले थरीलाई पुकारेछ । थरी ससुरालीमा श्राद्ध खान निस्किसकेकोले थरिनीले भनिछन्, ‘भोलि उहाँ आउने बित्तिकै म भनिदिउँला ।’

भोलिपल्ट बिहान एक चिलिम तमाखु पनि राम्रो ननिखारीकन थरीजी पुलिस चौंकीमा पुगेछन् । तर चौकीका हवल्दार छुट्टि लिएर हिँडिसकेछन् । घरतिर सिपाहीले सोही बहोरा बताई भोलि आउने आज्ञा दियो । भोलिपल्ट चौकीले खबर दियो र त्यसको भोलिपल्ट ठानामा खबर पुग्यो । ठानाले गोस्वारालाई, गोस्वाराले हजुरियालाई खबर गर्दागर्दै श्री ३ महाराजकहाँ तीन महिना तीन दिनपछि तात्तोतो बिन्ती चढ्यो कि फलाना ठाउँमा आगो लाग्यो । तेह्रओटी नानीसँग जिस्किरहेका श्री ३ ज्यूले ‘लौं भोलि सम्झाउनु’ भन्ने हुकुम दिए । भोलिपल्ट मुखारीको मौका पारी हजुरियाले डराईडराई बिन्ति बिसायो, ‘सरकार फलना ठाउँमा आगोले सिद्धयाएछ ।’ काखीमा अत्तर छिट्न लगाउँदै श्री ३ बाट तात्तातो हुकुम बक्स्यो, ‘लौ भोलि नै निभाउन लगाइदिनु ।’

हिजो–आजको जस्तो टेलिफोनको व्यवस्था त्यतिखेर पनि भएको भए त्यस्तो हुँदैनथ्यो कि भन्नुहोला, तर मानिसलाई भोलिवादले छोएपछि टेलिफोनका बाबुको पनि केही लाग्दो रहेनछ ।

यो एक्काईसौँ शताब्दी हो । अहिले विज्ञान र प्रविधिको विकासलाई हेर्ने हो भने भैरव अर्यालको समयभन्दा कोसौँ दुरी हामीले पार गरिसकेका छौँ । जति विकसित र चेतनशील हुँदै गयौँ, त्यति नै यो रोगले झन जरा गाड्दै गइरहेको छ । भोलिवादलाई कसरी हटाउने भन्ने सम्बन्धमा थुप्रै पुस्तक र प्रवचनहरू संग्रहित हुँदै गईरहेका छन् । यिनीहरूको सकारात्मक प्रभाव जतिबेला मान्छेहरू आफ्नो विवेकको प्रयोग गरेर कार्य उन्मुख हुनेछन् । त्यतिबेला यिनी पुस्तक र प्रवचनको महत्व बढ्नेछ ।

भोलिवादको मनोविज्ञानलाई जरैबाट उखेल्नका लागि हामीले सबैभन्दा पहिले हाम्रा बानीमा काम गर्नु पर्ने हुन्छ । हरेक दिनको बिहानी सँगै आफ्नो रुटिन अनुसार काम गर्न सुरु गर्ने हो भने सुरुसुरुमा गाह्रो हुन सक्छ । बिस्तारै रुटिन बानीमा ढल्यो भने दैनिकमा त्यही दोहो¥याइन्छ । रुटिनले र हाम्रा बानीले हाम्रो मस्तिष्कको सोच्ने तरिकालाई पनि त्यसरी विकास गर्दै लैजान्छन् ।

उदाहरणका लागि बिहानै उठेर कसैले ध्यान, योगा गर्छ र कोही बिहानै उठेर आफ्नो कामतिर लाग्छ भने यिनी दुई वटै व्यक्तिको सोच्ने तरिका भिन्न हुने भयो नै सँगै परिणाम पनि त्यसरी नै दैनिकीमा देखिन थाल्छन् । त्यसैले हामीले हरेक दिनको दैनिकीमा कसरी आफ्ना आदतहरूलाई आवश्यक, अनावश्यक कार्यमा लगाई रहेका छौं भन्ने बारेमा सोच्न जरुरी छ ।

भोलिवाद हटाउने सबैभन्दा उत्तम विकल्प भनेकै आफ्नै समझ हो । व्यक्तिले स्वयम् आफ्नो करियर, सपना, योजना र सुन्दर भविष्यका लागि सोच्नुपर्ने हुन्छ । त्यसका लागि काम गर्नुपर्ने हुन्छ । कुनैपनि व्यक्तिलाई उसका सपना र योजनाहरूले प्रेरित गर्दैनन् भने उसले आफ्ना सपना र योजनाका आकार बढाउनुपर्छ । यदि सपना र योजनाका आकार ठूला हुँदाहुँदै पनि व्यक्ति उक्त उद्देश्य प्राप्तिका लागि काम गर्दैन भने उसलाई उक्त कुरा चाहिएन । उसको त्यो सपना थिएन । ऊ सामान्य जीवन बाँच्न चाहान्छ भन्ने हो । नत्र भने हरेक मान्छेलाई महान जीवन बाँच्ने समान अवसर छ ।

प्रकाशित मितिः   ७ भाद्र २०७९, मंगलवार ०५:०४