बलात्कारका अधिकांश घटनामा बालिका पीडित

सुर्खेत: गत वर्ष कार्तिकमा लेकवेशी नगरपालिकाकी सात वर्षीय बालिका सामूहिक बलात्कारको सिकार भइन् । उनको बलात्कारपछि हत्या नै गरियो । उक्त घटनामा नजिकका आफन्तको संलग्नता थियो । दाजुभाई नाता पर्ने तीनजनाले बालिकालाई बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । बालिका र अभियुक्तहरू दुई भाइका छोराछोरी हुन् । आमाबुबा घरमा नभएको मौकामा चाउचाउ किनिदिने प्रलोभनमा पारेर उनीहरूले बलात्कार र हत्या गरेका थिए । अभियुक्त तीन जनामध्ये दुई जनालाई आजिवन काराबासको सजाय सुनाइयो भने एक जना एक वर्ष बाल सुधार गृहमा रहने गरी जिल्ला अदालतले फैसला ग¥यो । दुई जनाले आजिवन काराबाससँगै चार÷चार लाख रूपैयाँ ती बालिकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र दुई हजार आठ सय पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनायो । एक जना बालक भएकोले उनलाई दुई लाख क्षतिपूर्ति र दुई हजार आठ सय पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरिएको थियो ।

गएको जेठमा सुर्खेतकै गुर्भाकोट नगरपालिकाकी सात वर्षीय अर्की बालिकाको पनि बलात्कारपछि हत्या भयो । उनलाई एक जना छिमेकीले बलात्कारपछि हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार चार दिनदेखि हराइरहेकी बालिका जेठ २४ गते घरनजिकैको बारीमा मृत भेटिएकी थिइन् । ती बालिकालाई बलात्कारपछि निर्मम रूपमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अभियुक्तले अपराध गरेको ठहर भएपछि अदालतले उनलाई आजीवन काराबासको सजाय सुनाएको छ ।

यस्तै दैलेखकको डुङ्गेश्वर गाउँपालिकाकी १७ वर्षीय किशोरी आफ्नै बाबुबाट पटक–पटक बलात्कृत भइन् । पीडित किशोरीका अनुसार उनी १३ वर्षको हुँदादेखि बाबुले बलात्कार गर्दै आएका थिए । उनले आफ्नै बुवाबाट बलात्कृत भएको कुरा झन्डै चार वर्षसम्म कसैलाई सुनाउन सकिनन् । बुवाले जबरजस्ती करणी गरेको कुरा कसैलाई भने मार्ने धम्की दिएकाले बारम्बार बलात्कार भएपनि लुकाउन बाध्य भएको ती किशोरीले बताएकी थिइन् । केही समय पहिले मात्रै उनी बिद्रोह गरेर घरबाट निस्किइन् र बाबुविरुद्ध प्रहरी र अदालतमा उजुरी गरिन् । जिल्ला अदालतले अभियुक्त बाबुलाई ३५ वर्षको जेल सजाय फैसला गरेको छ । ती किशोरीले कानुनी रूपमा न्याय पाए पनि सामाजिक रूपमा भने अझै पाउन सकेकी छैनन् । यस्तो कुरा बाहिर ल्याएर सन्तानकै बेइज्जत गरेको भन्दै उनका आफन्त उल्टै किशोरीमाथि खनिए । सामाजिक अपहेलनाका कारण उनको परिवार नै विस्तापित भएको छ । अहिले किशोरीका तीन बहिनी र एक भाइ काठमाडौंमा एक संस्थाको संरक्षणमा बसिरहेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी १३ वर्षीय बालिका गएको साउनमा छिमेकीबाट बलात्कृत भइन् । साँझको समयमा घर पु¥याइदिन्छु भन्दै ती व्यक्तिले उनलाई होटलमा लिएर जबरजस्तीकरणी गरे । उनले ती बालिकालाई घटनाबारे कसैलाई भने बेइज्जत गर्ने र मार्नेसम्मको धम्की दिए । उनी राती होटलबाट भाग्न सफल भइन् । एक महिनापछि मात्रै उनी बलात्कृत भएको परिवारले थाहा पायो । यो घटनाले शारीरिक र मानसिक रूपमा विक्षिप्त भएकी ती बालिका एक्लै बस्ने, टोलाउने, रुने गरेपछि सोधिखोजी गर्दा बलात्कृत भएको थाहा भएको थियो ।

किशोरी तथा बालिका बलात्कारका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । पछिल्लो समय हरेक दिनजसो बलात्कार र जबरजस्तीकरणीका जघन्य अपराधको सिकार बालिकाहरू बनिरहेका छन् । अन्य उमेर समूहका महिलाभन्दा बालिका तथा किशोरीहरू बढी जोखिममा देखिएका छन् । प्रहरी तथ्याङ्कअनुसार बालिकामाथि हुने बलात्कारका घटना बर्सेनि बढ्दोक्रममा छन् । बलात्कारका बढीजसो घटनामा चिनेजानेका, नजिकका आफन्त र समाजले भरोसा गरेका व्यक्तिहरूकै संलग्नता देखिने गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठ कर्णालीमा बलात्कारका घटना बर्सेनि बढ्दो क्रममा देखिएको बताउँछन् । उनका अनुसार त्यस्ता कैयन् घटनामा परिवारका अभिभावक र सदस्यहरू नै संलग्न हुने गरेको पाइएको छ । पछिल्ला वर्षहरूमा सामाजिक सचेतना बढेकोले पनि यस्ता घटनाहरू बाहिर आउन थालेको उनले बताए । बलात्कार जस्तो जघन्य अपराध न्यूनीकरणका लागि सबैको उत्तिकै सक्रियता चाहिने श्रेष्ठले जनाए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षको अवधिमा प्रदेशमा महिला तथा बालिका गरी तीन सय पाँच जना बलात्कृत भएका छन् । त्यसमध्ये ३२ प्रतिशत अर्थात् ९८ जना १८ वर्ष मुनिका हुन् । गत आर्थिक वर्ष २०७८÷०७९ मा एक सय ५५ महिला तथा बालिका बलात्कृत भएका थिए । त्यसमध्ये १८ वर्ष मुनिका ५५ जना रहेको प्रहरीले जनाएको छ । उक्त वर्ष १९ देखि ३५ वर्ष उम्मेर समूहका ६९ जना, ३६ देखि ५९ उम्मेर सूमहका २७ जना र ६० वर्षमाथिका सात जना महिला बलात्कृत भएका थिए । यो विवरणले जुनसुकै उमेर समूहका महिला पनि असुरक्षित भएको देखाएको छ । बालिका तथा किशोरीहरू मानसिक रूपमा पनि परिपक्क नहुने हुँदा विभिन्न प्रलोभनमा परेर यौन शोषणमा बढी पर्ने गरेको अनुसन्धानहरूबाट खुल्ने गरेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८ मा कर्णालीमा एक सय ५० जना महिला बलात्कृत भएका छन् । त्यसमध्ये ४६ जना बालिका बलात्कृत भएका हुन् । प्रहरीका अनुसार १९ वर्षदेखि ३५ वर्षसम्म ६९ जना, ३६ देखि ५९ उमेर समूहका ३० जना र ६० वर्षमाथि उमेर समूहका पाँच जना बलात्कृत भएका थिए । उक्त वर्ष पनि यौनजन्य हिंसाका घटना अपरिचितभन्दा परिचित व्यक्तिबाट नै धेरै भएको पाइएको थियो ।

केही वर्ष यताका बलात्कारका आँकडा हेर्दा अवस्था भयावह रहेको अधिकारर्मीहरू बताउँछन् । अधिवक्ता एवम् अधिकारकर्मी गिता कोइरालाले बालिकाहरू कमजोर हुने, प्रतिकार गर्न नसक्ने र कसैलाई भन्न नसक्ने हुँदा उनीहरू सजिलै बलात्कारको सिकार हुने गरेको बताइन् । यो उमेर समूहलाई अभिभावकले विशेष ख्याल गर्नुपर्ने उनले बताइन् । ‘बालिकामाथि यौनहिंसा बढ्दो छ, उनीहरू सजिलै भन्न सक्दैनन्,’ उनले भनिन्, ‘अभिभावकहरूले निकै ख्याल गर्नुपर्ने हुन्छ ।’ बलात्कृत भइसकेपछि संरक्षणको साटो आफन्त र समाजबाट झनै अपहेलित हुने अवस्था रहेकाले पनि यसतर्फ सबै गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   ७ भाद्र २०७९, मंगलवार ०५:०५