मर्यादित महिनावारीमा अन्धविश्वास बाधक

सुर्खेत: पञ्चपुुरी नगरपालिका–२ चिउरीखेतका ५५ वर्षीय नरबहादुुर विक धामी हुुन् । उनी आफ्नो शरिरमा देवी–देउता आउने गरेको बताउँछन् । झन्डै चार दशकदेखि धामी झाँक्री गर्दै आएका नरबहादुर महिनावारी भएका महिलालाई छोए देउता रिसाउनेमा विश्वास गर्छन् । छोरीबुहारीहरू महिनावारी भएका बेला उनले घरभित्र पस्न दिँदैनन् । धामी भएकाले पनि महिनावारी भएका महिलाहरू घरभित्र बसे अनिष्ट हुने अन्धविश्वासको छाप उनमा गहिरो छ । नरबहादुर भन्छन्, ‘हाम्रो गाउँमा बुुढो छुुई र बालक छुुई मान्छौँ । विवाहित महिलालाई पाँच दिन छाउ बार्न पठाउँछौँ, अविवाहितलाई सात दिनसम्म ।’ यस्तो बेला छोरीबुहारीहरू छुई बार्न बनाइएका टहरामा बस्ने गरेको उनले सुनाए । अविवाहित अवस्थाका महिलाको महिनावारी ‐छुई) डाइलो हुने अन्धविश्वासले चिउरीखेतका धामी झाँक्रीदेखि अन्य पेसा व्यवसायका अगुवालाई समेत गाँजेको छ । त्यसैले अविवाहित किशोरी तथा युवतीहरू रजस्वला हुँदा विवाहित महिलालाई भन्दा बढी दिन छुई बार्न बाध्य छन् ।

महिनावारी बार्ने गरेका घरहरूमा लच्छिन हुुने, सोचेको पुुग्ने र अप्रिय घटना नहुुने विश्वास अहिले पनि ब्यापक छ । पछिल्लो समय महिनावारी बार्ने तरिका भने फेरिँदै गएको छ । बढ्दो जनचेतनाका कारण महिलाहरूलाई महिनावारीका बेला सहज हुन थालेको हो । केही वर्षअघिसम्म गोठ र निकै असुरक्षित छाप्रोहरूमा बस्नुुपर्ने चलन भएकोमा अहिले विस्तारै हट्दै गएको छ । अधिकांश महिलाहरू घरमै बसेर महिनावारी बार्न थालेका छन् । ‘हिजोआज महिनावारी भएका महिला गोठमै बस्नुपर्दैन,’ धामी नरबहादुर भन्छन्, ‘कतिपय त परिवार बस्ने घरमै बस्न थालेका छन् । केही घर नजिकै बनाएका छाउ घरमा बसेर महिनावारी बार्छन् ।’ मर्यादित महिनावारी प्रवद्र्धनका लागि भन्दै पश्चिम सुर्खेतका विभिन्न ठाउँमा गत वर्षहरूमा छाउगोठहरू भत्काइए । छाउगोठ हटाउने अभियानमा धामी झाँक्रीहरू पनि सहभागी थिए । ‘देवताले नमानेपछि फेरि छाउ बार्ने टहरा बनाउन बाध्य भयौँ,’ नगरबहादुरले भने ।

पञ्चपुुरी नगरपालिका–२ का मनप्रसाद उपाध्याय जजमानी गर्छन् । ६६ वर्षीय उनले १४ वर्षको उमेरदेखि जजमानी गर्न थालेका हुन् । गाउँका हरेक सामाजिक काममा अगुवाइसमेत गर्ने मनप्रसाद छाउ बार्ने चलनलाई पनि व्यस्थित गर्नुपर्नेमा छन् । तर, उनलाई पनि अन्धविश्वासले ढाकेको छ । रजस्वला हुुनु महिलाहरूको नियमित चक्र हो, पाप होइन भन्ने बुझेका मनप्रसाद महिनावारी भएका महिलाले छोएको खादैनन् । उनले शास्त्रमा महिनावारी भएका नारी चारौँ दिनमा मात्र पवित्र हुने लेखिएको दाबी गरे । ‘महिनावारी भएका बेला चार दिनसम्म पानी पनि छुुन दिनुुहुन्न,’ उनको जिकिर छ, ‘शास्त्रले भनेको कुुरा मान्नुु त प¥यो ।’ सोही ठाउँका डण्डमणि अधिकारी धामी हुुन् । उनी उमेरले ६७ वर्षका भए । छाउ बार्ने चलन परिवर्तन हुँदै गएको बताउने उनले महिनावारी भएको बेला नबार्दा देउता भने रिसाउने तर्क गरे । ‘छोरी चेलीकै राम्रोका लागि बार्ने चलन ल्याइएको हो, पहिला गाईवस्तुुको गोठमा बस्नुुपर्ने बाध्यतालाई हटाएर अहिले घरको कुुनै कोठामा बस्न थालिएको,’ उनले भने, ‘वर्षाैंदेखि चलेको चलन ह्वातै हटाइहाल्न नसकिँदो रहेछ ।’ विगतको तुलनामा महिलाहरूलाई सहज भने हुँदै गएको उनको भनाइ छ ।

छाउगोठमा बसेर महिनावारी बार्नेजस्ता कु–संस्कार हटाउन समाजमा रहेको अन्धविश्वास नै बाधक बनिरहेको मर्यादित महिनावारी प्रवद्र्धनका अभियान्ताहरू बताउँछन् । पञ्चपुुरी नगरपालिका–२ कि संगिता विक वडा बाल सञ्जालमार्फत महिनावारी बार्ने चलनमा सुधार ल्याउन सक्रिय छन् । ‘मर्यादित महिनावारीका लागि थुप्रै प्रयास गरिएको छ,’ उनी भन्छिन्, ‘तैपनि अपेक्षित रूपमा सुधार हुन सकेको छैन ।’ समाजमा बलियो छाप बनाएर बसेको अन्धविश्वास हटाउन मुस्किल हुने अनुभव उनको छ । पश्चिम सुर्खेतका धेरै ठाउँमा अहिले पनि घरभन्दा टाढा छाप्रोमा बसेर महिनावारी बार्नुपर्ने चलन छ । यस्तो बेला किशोरी तथा महिलाहरू जंगली जनावारदेखि पुरुषहरूबाटै पनि असुरक्षित छन् । महिनावारी बार्न बसेका दिदीबहिनीमाथि बलात्कारका घटना भइरहन्छन्,’ संगिताले भनिन्, ‘महिनावारीका समयमा महिलाहरू निकै असुरक्षित छन् ।’

त्यसो त कतिपय महिलाहरूलाई पनि महिनावारीमा घरभन्दा टाढै बस्नुपर्छ भन्ने लाग्छ । यसरी छाउ नबारे पाप लाग्ने अन्धविश्वासमा उनीहरू छन् । पञ्चपुुरी नगरपालिका–५ कि शान्ति भण्डारी महिनावारी बार्न बारीको छेउमा रहेको छाप्रोमा बसेकी छिन् । देवता रिसाउने डरले घरबाहिर बस्नुुपरेको उनले सुनाइन् । ‘बाहिर बस्नुपर्दा डर त लाग्छ नी,’ उनले भनिन्, ‘हाम्रोतिर चलन नै यस्तै छ । घरभित्र बसौँ देवता सहन्नन् ।’ उनले महिनावारी हुँदा हिउँद बर्खा केही नभनी यसरी नै बस्ने गरेको बताइन् । महिनावारी भएका बेला त्यहाँका धेरैजसो महिलाले दही दुुधसमेत खाँदैनन् । रजस्वला भएका बेला दही दुध खाए देउता बिग्रिएर गाइभैसी रुख चढ्छन् भन्ने भ्रम त्यहाँ छ । शान्तिले रजस्वला पाप नभइ महिलाको नियमित चक्र भएको बुझेपनि समाजले कुुरा काट्ने डरले आफू अलग्गै बसेर महिनावारी बार्नुपर्ने बाध्यतामा रहेको जनाइन् ।

फेरि बनाइए छाउ बार्ने छाप्रा

अघिल्ला वर्षहरूमा स्थानीय प्रशासन, प्रहरी, पालिका र अभियान्ताहरूले छाउपडी कु–प्रथा उन्मूलन गर्ने भन्दै अन्यत्र जस्तै पञ्चपुुरीमा पनि दर्जनौँ छाउगोठहरू भत्काए । बल प्रयोग गरेर गोठ भत्काए पनि स्थानीयको सोेच परिवर्तन नहुँदा त्यहाँ फेरि धमाधम छाउ बार्ने संरचना बनाइएका छन् । अहिले पञ्चपुुरी नगरपालिकाका वडा नं. २ र ५ मा घरैपिछे महिनावारी बार्ने छाप्रा बनाइएका छन् । स्थानीय पद्मा विसी छुुई बार्ने पुरानो चलन त्याग्न नसकिएको बताउँछिन् । ‘छाउगोठ भत्काएर घरमै बस्न थालेको सकिएन,’ उनले भनिन्, ‘देउता रिसाएर परिवारमा धेरै समस्या आइलागे, फेरि घरभन्दा पर छाप्रो हालेर बस्न थालेका छौँ ।’ पञ्चपुरीमा पछिल्लो समय मर्यादित महिनावारीका अभियानहरू पनि सुस्ताएका छन् । छाउपडीमुक्त घोषणा गरिएका स्थानमा नै ३० प्रतिशत नयाँ छाउ बार्ने संरचना बनिसकेको स्थानीयहरू बताउँछन् । अभियन्ता सुुनिता चन्द भन्छिन्, ‘पश्चिम सुर्खेतका पलाइटे, चिउरीखेत, बाबियाचौर, तातापानी, घाटगाउँ, गुटु, बेतान, विद्यापुर र छाप्रेमा अधिकांश घरमा छाउ बार्ने छाप्रा अहिले पनि देख्न सकिन्छ ।’

सुर्खेतका सहायक प्रमुुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डे छाउपडी प्रथा हटाउन निकै चुुनौतीपूर्ण बनिरहेको बताउँछन् । उनले अब यो विषयमा पालिकासँग मिलेर संयुुक्त अभियान चलाइने जनाए । अन्धविश्वासको जालो तोड्न चेतनास्तर बढाउनमा नै जोड दिइनुपर्ने उनको भनाइ छ । छाउपडी कुप्रथा उन्मूलन तथा मर्यादित महिनावारी प्रवद्र्धनमा सरकारी, गैरसरकारी संस्था र नागरिकस्तरबाट पनि विभिन्न अभियान सञ्चालन हुँदै आएका छन् । त्यस्ता अभियान प्रभावकारी भने हुन सकेका छैनन् । अहिले पनि छाउगोठमै बसेका कारण महिलाले बलात्कृत हुनुपर्ने, जंगली जनावरको सिकार हुनुपर्नेेलगायतका जोखिम भोग्दै आएका छन् ।

प्रकाशित मितिः   ५ भाद्र २०७९, आईतवार ०५:०५