मुख्यमन्त्रीको समन्वय विज्ञमा लामा

सुर्खेत: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको समन्वय विज्ञमा याङजुङ्ग डोल्मा लामा नियुक्त भएकी छन् । मुख्यमन्त्री शाहीले आइतवार समन्वय विज्ञमा हुम्लाको सिमिकोट गाउँपालिका–३ निवासी लामालाई नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका निजी सचिव नवराज शर्माले समन्वय विज्ञमा लामालाई नियुक्त गरिएको जनाए । उनका अनुसार भदौ १ गते बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीको काममा सहयोग पु¥याउने उद्देश्यले समन्वय विज्ञ नियुक्त गर्ने निर्णय गरेको थियो । लामालाई मुख्यमन्त्रीको समन्वय विज्ञका रूपमा नियुक्तिका लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रस्ताव गरेको थियो । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय लामा पूर्वस्वास्थ्यकर्मी समेत रहेको बताइएको छ ।

प्रकाशित मितिः   ६ भाद्र २०७९, सोमबार ०५:०१