कविरामले पाए आफ्नै नामको नागरिकता

दैलेख: जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका ३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ । गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुनः नागरिकता दिन निर्देशन दिएपछि ‘कुकुर कामी’ नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे ।
२०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली गएको बेलामा कविरामको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । ‘नाममै अमपमान’ शिर्षकमा कान्तिपुरले समाचार लेखेपछि गृह मन्त्रालय र संसद्को ध्यानाकर्षण भएको थियो । त्यसलगत्तै गृह मन्त्रालयले जिल्ला प्रशासनहरूलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशन दिएको थियो ।
कविरामलाई आइतवार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाण–पत्र दिएका हुन् । नागरिकता प्रमाण–पत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए । ३३ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि कविराम खुसी भए । उनले भने, ‘नयाँ जुनी पाएको महसुस भएको छ ।’ आफ्नै नामबाट नागरिकता पाउला भन्ने सोचेकै थिइनँ । कविराको नागरिकतासँगै ‘कुकुर कामी’ नाम भएका अन्य प्रमाण–पत्रहरू खारेज गरिने प्रजिअ प्याकुरेलले बताए ।
प्रकाशित मितिः ६ भाद्र २०७९, सोमबार ०५:०२
साझा बिसौनी ।