अन्धविस्वासको जरो
समाज अझै पनि अन्धविस्वासले जकडिएको छ । जसका कारण महिलाहरू महिनावारी हुने प्राकृतिक प्रक्रियालाई अन्धविस्वासको बाँधेर राखिएको छ । महिनावारी भएका महिलाहरूलाई घरबाट अलग राख्ने गरिएको छ । सुर्खेतसहित कर्णाली प्रदेशका जिल्लाहरूमा अहिले पनि परम्पराका रूपमा महिनावारी भएका महिलालाई घरमा बस्न दिइँदैन । उनीहरूलाई राख्नका लागि भनेर अलग्गै छाउगोठ बनाइएको हुन्छ । महिनावारी भएका बेला घरबाहिर असुरक्षित तरिकाले बस्नुपर्ने बाध्यात्मक संस्कारका कारण महिलाहरूको स्वास्थ्य उच्च जोखिममा छ । महिनावारी बार्न असुरक्षित ठाउँमा बस्दा थुप्रै खालका हिंसामा पर्नुका साथै महिलाहरूको बर्सेनि ज्यानसमेत जाने गरेको छ । तर यस्तो गलत प्रथा निर्मूल हुन सकेको छैन ।
छाउपडी प्रथाविरुद्ध विभिन्न अभियान सञ्चालन हुने गरेका छन् । सुर्खेतमै पनि केही वर्षअघि स्थानीय प्रशासन, प्रहरी, पालिका र अभियान्ताहरूले छाउपडी कु–प्रथा उन्मूलन गर्ने भन्दै दर्जनौँ छाउगोठहरू भत्काए । बल प्रयोग गरेर गोठ भत्काए पनि स्थानीयको सोेच परिवर्तन नहुँदा त्यहाँ फेरि धमाधम छाउ बार्ने संरचना बनाइएका छन् । अहिले पनि पञ्चपुुरी नगरपालिकाका वडा नं. २ र ५ मा घरैपिछे महिनावारी बार्ने छाप्रा बनाइएका छन् । पञ्चपुरीमा पछिल्लो समय मर्यादित महिनावारीका अभियानहरू पनि सुस्ताएका छन् । छाउपडीमुक्त घोषणा गरिएका स्थानमा नै ३० प्रतिशत नयाँ छाउ बार्ने संरचना बनिसकेको स्थानीयहरू बताउँछन् । छाउपडी कुप्रथा उन्मूलन तथा मर्यादित महिनावारी प्रवद्र्धनमा सरकारी, गैरसरकारी संस्था र नागरिकस्तरबाट पनि विभिन्न अभियान सञ्चालन हुँदै आएका छन् । त्यस्ता अभियान प्रभावकारी भने हुन सकेका छैनन् । अहिले पनि छाउगोठमै बसेका कारण महिलाले बलात्कृत हुनुपर्ने, जंगली जनावरको सिकार हुनुपर्नेेलगायतका जोखिम भोग्दै आएका छन् ।
छाउगोठमा बसेर महिनावारी बार्नेजस्ता कु–संस्कार हटाउन समाजमा रहेको अन्धविश्वास नै बाधक बनिरहेको देखिन्छ । समाजमा बलियो छाप बनाएर बसेको अन्धविश्वास हटाउन सजिलो छैन । यसविरुद्ध निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्न जरुरी हुन्छ । यस्तो अभियान
जबरजस्ती गरेर वा केही समयका लागि चलाएर मात्र हुँदैन । वर्षौंदेखि जकडिएर आएको प्रथा हटाउन जनचेतना अभिवृद्धि गर्नु जरुरी छ । महिनावारी प्रक्रियाका बारेमा आम नागरिकमा भएका भ्रमहरूलाई चिर्न सकेमा छाउगोठ बनाएर राख्ने प्रथा नै अन्त्य हुनेछ । त्यसका लागि जनचेतना नै मुख्य कुरा हो । बरु जनचेतना अभिवृद्धि गर्न सरकारले योजनाबद्ध कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । किन मानिसहरू यो भ्रमबाट मुक्त हुन सकेका छैनन् भन्ने कुराको अध्ययन–विश्लेषण गरी सोहीअनुसार प्रभावकारी कार्यक्रम नै छाउगोठमुक्त समाज निर्माणको आधार हुनसक्दछ ।
सम्पादकीय ।