सुधार्नुपर्ने शिक्षा प्रणाली

विकासका पूर्वाधारमध्ये सबैभन्दा महŒवपूर्ण र प्रमुख पक्ष शिक्षा हो, जसले मानवीय चेतनाको सकारात्मक विकास गर्दै हरेक क्षेत्रको विकास निर्माणमा सकरात्मक भूमिका निर्वाह गर्दछ । जहाँ शिक्षा छ, शैक्षिक उत्पादन राम्रो छ, शैक्षिक उपलब्धि राम्रो छ, गुणस्तरीय शिक्षा छ, सकरात्मक चेतनाले लैस भएको गुणस्तरीय जनशक्ति छ, त्यहाँको समाजले विकास र रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको हुन्छ । तर हाम्रो देशको पछिल्लो शैक्षिक उपलब्धि, शैक्षिक गुणस्तर, शैक्षिक उत्पादन, राम्रो देखिएन । चाहे त्यो विद्यालय तहको शैक्षिक उपलब्धि होस् या विश्वविद्यालय तहको । शैक्षिक उपलब्धि बढनुको साटो दिन प्रतिदिन खस्किरहेको छ । हाम्रा विद्यालय र विश्वविद्यालयहरूले उत्पादन गरेका शिक्षित जनशक्ति विश्व बजारमा प्रतिस्पर्धा गर्न र आफ्नो योग्यता अनुसारको दक्षता देखाउन सकिरहेका छैनन् । जसको कारण मुलुकको उन्नति र प्रगति सही रूपमा हुन सकेको छैन । यसको पछाडि शैक्षिक प्रणाली, शिक्षा लिने र दिने तौरतरीका, शिक्षा प्रतिको सरोकारवालाहरूको दायित्व आदि जस्ता थुप्रै पक्ष हुन सक्छन् ।

विश्वमा नेपाल भन्दा धेरै साना, भर्खरै अस्तित्वमा आएका मुलुकहरूले पनि शिक्षामा थुप्रै प्रगति गरिसके तर नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूमा सहभागी भइ हस्ताक्षर गर्ने, समतामूलक गुणस्तरीय शिक्षामा पहुँच पु¥याउने जस्ता नारामा मात्रै सीमित हुँदै आएको छ । नेपालमा सबै तहका सरकार, सरोकारवालाहरू शैक्षिक गुणस्तर खस्केको, शैक्षिक गुणस्तर सुधार गर्नुपर्छ, शैक्षिक प्रणाली र तौरतरिका मा कहीँ न कहीँ खोट छ, यसलाई समयसापेक्ष सुधार गरेर अगाडि बढनुपर्छ भन्ने कुरामा सहमत छौँ । तर हाम्रा चिन्तन, सोचाइ, ढङ्ग, कार्यशैली आदि कुहिरोको काग बनिरहेका छन् ।

वर्तमान युग विज्ञान र प्रविधिको युग हो, अबको प्रतिस्पर्धा विश्व बजारको प्रतिस्पर्धा हो, अबको जनशक्ति विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्नु हो । तसर्थ यस्तो जनशक्ति उत्पादन गर्न शैक्षिक प्रणालीमा रूपान्तरण गर्दै विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न नेपालले थुप्रै पक्षहरू सुधार्न जरुरी देखियो । हाल विश्वका शिक्षा प्रणालीहरूमा सबैभन्दा उत्कृष्ट शिक्षा प्रणालीको रूपमा फिनल्याण्डको शिक्षा प्रणालीलाई मानिन्छ । यस्तै जापान, स्वीडेन, दक्षिण कोरिया आदि देशहरूका शिक्षा प्रणालीहरू पनि उत्कृष्टभित्र नै पर्दछन् । मुख्यगरी ती देशहरूको शैक्षिक गुणस्तर, शैक्षिक उपलब्धि, शैक्षिक उत्पादन राम्रो हुनुको पछाडि त्यहाँको शैक्षिक प्रणाली, शैक्षिक व्यवस्थापन, शैक्षिक दायित्व पूर्णरूपमा राज्यको हुनु, सरोकारवाला पक्षहरूमा जिम्मेवार बोध आदि नै हुन् ।

विश्वको उत्कृष्ट शिक्षा प्रणाली भएको फिनल्याण्डको शिक्षा पूर्णरूपमा सरकारी दायित्वभित्र पर्दछ । जहाँको साक्षरता शतप्रतिशत छ । विद्यालय तहका सबै बालबालिकालाई पूर्णरूपमा निःशुल्क शिक्षा र पोषणयुक्त खाजाको व्यवस्था गरिएको छ । त्यहाँ निजी विद्यालयहरू छैनन् । शिक्षण सिकाइमा बालबालिकालाई प्रतिस्पर्धा होइन सहयोग र सम्मान गर्न सिकाइन्छ । बालबालिकाहरूलाई विद्यालयमा ढिला भर्ना गरिन्छ, जहाँ सात वर्ष पुगेपछि मात्रै विद्यालय पठाइन्छ । विद्यालय ढिलो सुरु चाँडै बन्द हुन्छन् १६ वर्ष उमेरसम्म बालबालिकाहरूलाई अनिवार्य विद्यालयीय शिक्षा दिइन्छ भने विद्यालय शिक्षापश्चात् कलेज भर्ना हुने वा व्यावसायिक तालिम लिने वा व्यवसाय गर्ने उनीहरू स्वेच्छिक हुन्छ । एउटै शिक्षकबाट बालबालिकालाई निर्देशन गरिन्छ परिमाणस्वरूप शिक्षक र विद्यार्थी बिचमा घनिष्ट र पारिवारिक सम्बन्ध विकास हुन्छ । मूल्याङ्कन गर्नका लागि विद्यालय तहमा निश्चित मापदण्डको परीक्षा तोकिएको हुँदैन । सानातिना अनौपचारिक परीक्षा मात्रै लिइन्छ । ज्ञानभन्दा व्यवहार जाँचिन्छ । राष्ट्रियस्तरको स्तरीकृत परीक्षा एकपटक मात्रै विद्यालय तहको अन्त्यमा लिइन्छ । विद्यार्थीलाई खासै गृहकार्य दिइन्न । बढीमा आधा घण्टाभित्र सकिने गृहकार्य दिइन्छ । बालबालिकाहरू घरमा आफ्नो चाहानाअनुसार खेल खेल्ने, सामाजिक कार्यमा संलग्न हुने, श्रममा जोडिने गर्दछन् । बालबालिकाहरूलाई स्वास्थ्य उपचारमा सहज पहुँच, मनोवैज्ञानिक परामर्श र मार्गदर्शन गरिन्छ । शिक्षित र काम गर्ने बिच कुनै भेदभाव हँुदैन । कामप्रति सबैको सकरात्मक दृष्टिकोण हुन्छ ।

त्यस्तै जापानमा पनि कक्षा ४ वा १० वर्ष नपुगुञ्जेल औपचारिक परीक्षा हुँदैन । यहाँ ज्ञानभन्दा पहिला चरित्र सिकाइन्छ । विद्यालय प्रवेश गरेको तीन वर्षसम्म शैक्षिक ज्ञान दिने गरिन्छ । आदर सत्कार, प्रकृति प्रेम, दया, माया, सहानुभूति, जनावरप्रति असल व्यवहार, धैर्य, आत्मनियन्त्रण, न्यायजस्ता कुराहरू सिकाइन्छ । यहाँका शैक्षिक विद्धानहरूको भनाइ छ ज्ञान दिने हो जाँच्ने होइन । सोहिअनुसार बालबालिकाहरूलाई प्रारम्भिक कक्षादेखि नै चरित्र निर्माणको ज्ञान दिइन्छ । बालबालिकाहरूलाई घरबाट खाजा लिन र क्यान्टिनमा खान दिइँदैन किन कि सबै आर्थिक अवस्था भएका बालबालिकालाई समान प्रकारको पोसिलो र सन्तुलित भोजनको व्यवस्था विद्यालयमै गरिएको हुन्छ । जहाँ आर्थिक रूपमा कमजोर र सक्षम परिवारका बालबालिकाहरू बिच भेदभाव नै हुँदैन ।

युरोपेली मुलुक स्वीडेनमा हरेक नागरिकलाई स्नातकोत्तर तहसम्मको शिक्षा निःशुल्क दिइन्छ । शिक्षा पूर्णरूपमा राज्यको लगानीमा रहेको छ । विद्यार्थीले कुनै पनि प्रकारको शुल्क विद्यालय वा कलेजलाई तिर्न पर्दैन । सबै बालबालिकाहरूलाई समान प्रकारको स्वस्थकर र पोषिलो खाजा राज्यले प्रदान गर्दछ । त्यहाँ बालबालिकाको चाहाना र रुचिलाई पहिलो प्राथामिकतामा राखिन्छ । विद्यार्थीहरूले अनिवार्य पोसाक लगाउनु पर्दैन ।

दक्षिण कोरियामा शिक्षकलाई भगवान भन्दा बढी सम्मान गरिन्छ । शिक्षकलाई उच्च आदर र सम्मान गरिन्छ । शिक्षक नै शिक्षा प्रणालीको पिलर हो भन्ने बुझाइ रहेको छ । त्यहाँ शिक्षकको सेवा सुविधा सबैभन्दा बढी छ । जहाँ जाडो र गर्मी विदाको समेत शिक्षकलाई भत्ता दिने गरिन्छ । सबै प्रकारका विद्यालयहरूको अनुभव गर्नको लागि प्रत्येक ५÷५ वर्षमा शिक्षक एवम् प्रधानाध्यापकलाई सरुवा गर्ने व्यवस्था छ । जहाँ शिक्षक राम्रो विद्यालयबाट सिक्ने र नराम्रो विद्यालय सुधार्ने अवसर प्राप्त गर्दछन् । विश्वकै उत्कृष्ट शिक्षा प्रणाली भएको मुलुक फिनल्याण्ड जहाँ प्रारम्भिक विद्यालयको शिक्षक बन्न स्नातक पास गरेको हुनुपर्दछ । सबैले शिक्षण पेसामा प्रवेश गर्न पाउँदैनन् । शिक्षक बन्न १८० पाठ्यघण्टा शिक्षा विज्ञान पढेको र शैक्षणिक कोर्स पढेको हुनुपर्दछ । पढ्ने र पढाउने दुवैको लागि शैक्षणिक वातावरण आनन्ददायी हुन्छ । पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था गरिएको हुन्छ । शिक्षकले एक दिनमा दुई वटासम्म मात्रै कक्षा लिए पुग्छ । प्रत्येक विद्यालयमा शिक्षक कोठाको व्यवस्था गरिएको हुन्छ । जहाँ शिक्षकले फुर्सदको समयमा आराम गर्न सक्छन् । शिक्षकले राम्रो गरे नगरेको जवाफदेही हुनु पर्दैन । विद्यालयका हरेक समस्याहरूको समाधान प्रधानाध्यापकले नै गर्दछन् । शिक्षणका लागि पाठ्यक्रम स्थानीयस्तरमै शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, अभिभावकहरूको संयुक्त प्रयासबाट तयार गरिन्छ ।

यी त विश्वका राम्रा शिक्षा प्रणालीमा समेटिएका केही विषयवस्तुका उदाहरण मात्रै हुन् । यस्ता अनेकौँ लोकप्रिय, व्यावहारिक र वैज्ञानिक शैक्षिक पद्धतिहरू उक्त मुलुकहरूले अवलम्बन गरिरहेका छन् । हामीले पनि साँच्चिकै हाम्रा शैक्षिक प्रणालीभित्रका पुराना कुराहरू विस्थापित गरेर राम्रा कुराहरू समेट्न सके नेपालको शैक्षिक प्रणाली पनि विश्वका उत्कृष्ट शैक्षिक प्रणालीहरूसँग प्रतिस्पर्धा गर्न लायक हुन सक्थ्यो । हाम्रो राज्य शिक्षाप्रति राज्य अनुदार छ । शिक्षामा राज्यको लगानी पर्याप्त छैन । शिक्षण पेसा सबैभन्दा कमसल पेसामा गणना हुन्छ । अन्यत्र कतै नबिकेका जनशक्ति शिक्षण पेसामा प्रवेश गर्दछन् भन्ने बुझाइ छ । शिक्षामा चरम राजनीतिक हस्तक्षेप छ । बालबालिकाले आफ्नो रूचि र चाहानाअनुसार पढ्न लेख्न पाउँदैनन्, अभिभावकको रवाफ र दबाबमा पढ्नुपर्छ । कक्षा १ देखि नै आफ्नो तौलभन्दा बढी गह्रौ झोला बोकेर विद्यालय जानुपर्छ । प्रत्येक विषयका बोझिला गृहकार्य लादिन्छ । सानै कक्षाहरूमा परीक्षा र पास–फेलको भुत देखाइन्छ, सैद्धान्तिक ज्ञान रटाइन्छ र परीक्षामा हुबहु लेखे पास नभए फेलको बिल्ला भिराइन्छ । यस्ता यावत समस्याले नेपालको शैक्षिक गुणस्तरमाथि उठ्न सकेको छैन ।

मुख्यतः शैक्षिक क्षेत्रमा केही रूपान्तरण गर्ने नै हो भने शैक्षिक क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्छ । विद्यालयहरूमा राजनैतिक रणमैदानको अन्त्य गर्न विद्यालय व्यवस्थापन समितिका अधिकारहरू खुम्च्याउँदै अभिभावक र विद्यालयको संयोजन गर्न विद्यालय समन्वय समिति मात्रै गठन गर्नुपर्छ । बरु अभिभावक, समाजसेवी, राजनीतिकर्मीहरूलाई विद्यालय व्यवस्थापन समितिमा भन्दा बालबाललिकाको सिकाई र प्रगतिमा केन्द्रित गर्न जरुरी छ । शिक्षण पेसालाई आकर्षित एवम् सुविधा सम्पन्न बनाउनु पर्छ । २०औँ वर्ष एउटै विद्यालयमा बस्दा शिक्षकहरूमा पनि राजनीतिको जरा अनन्तसम्म जेलिन सक्छन् । तसर्थ पर्याप्त जीवन धान्न सकिने सेवा सुविधा उपलब्ध गराएर आवधिक रूपमा शिक्षक सरुवाको व्यवस्था गर्नुपर्छ । जसले विद्यालयका साथै शिक्षकहरूको पनि अनुभव र सक्षमताको विकास हुन्छ । विद्यालय, शिक्षक, सिकाई र शिक्षणसँग सम्बन्धित क्रियाकलापलाई नियमित सुपरीवेक्षण र मूल्यांकन गर्नुपर्छ । एकद्वार प्रणालीबाट शिक्षक व्यवस्थापन गर्दै थरीथरीका शिक्षकहरूको अन्त्य हुनुपर्छ । आवश्यकता अनुसार शिक्षक दरबन्दी व्यवस्था गरी शिक्षण पेसालाई कम बोझिलो बनाउनुपर्छ । त्यस्तै हाल कक्षा १२ सम्म नाम मात्रको निःशुल्क शिक्षा भनिएको छ, त्यसलाई पूर्णरूपमा लागू गर्नुपर्दछ । विद्यार्थीको लागि विद्यालय खाजा कम्तिमा पनि कक्षा १२ सम्म नै व्यवस्था गर्नु पर्दछ । विभिन्न नाममा उठाइँदै आएका शुल्कहरूको अन्त्य गर्नुपर्छ ।

बालबालिकाको प्रतिभा, रूचि, चाहानाअनुसार शिक्षा प्राप्त गर्ने अवसर दिनुपर्छ । कम्तीमा पनि आधारभूत तहसम्म औपचारिक परीक्षाको भूत हटाउँदै पास–फेल गर्नका लागि गरिने पठनपाठनको अन्त्य गर्नुपर्छ । बालबालिकामा सानै उमेरबाट नैतिक शिक्षा, मानव मुल्य, आचरण, व्यवहार चरित्र निर्माण जस्ता कुराहरूको विकास गर्नुपर्छ । हामी धेरैजसो आमाबाबु अन्य काममा संलग्न हुन, फुर्सदिला बन्न सानै उमेरमा विद्यालय पठाइदिने गरेको पाइन्छ । त्यो बालबालिकाको लागि राम्रो होइन । उनीहरूलाई राम्रोसँग बुझ्न सक्ने भएपछि मात्रै विद्यालय पठाउनु पर्छ । सानै उमेरमा आमाबाट छुटाउँदा उनीहरूमा नकरात्मक भावनाको विकास हुने, हिंस्रक बन्ने, संवेगात्मक र सिर्जनात्मक विकास उपयुक्त रूपमा हुन सक्दैन । धेरैजसो निजी विद्यालयहरूले बालबालिकाको क्षमताभन्दा बढी पाठ्यपुस्तकहरू बोकाउने, सिर्जनशिलतामा अवरोध हुनेगरी बोझिलो गृहकार्य दिने गरेको पाइन्छ । त्यसको अन्त्य गरी बालबालिकाको रूचि अनुसार सिर्जनात्मक कार्यहरूमा जोड दिनुपर्छ । सानैदेखि उनीहरूमा श्रमप्रति सकरात्मक सोचको विकास गराउन सामाजिक क्रियाकलापमा सहभागी हुन प्रेरित गर्नुपर्छ । जसले बालबालिकाको सर्वाङ्गिण विकास गर्नुका साथै जीवनपायन सीपहरूको विकास हुन्छ ।

(लेखक एकीकृत अखिल नेपाल शिक्षक संगठनका कर्णाली प्रदेश सदस्य हुन् ।)

प्रकाशित मितिः   ५ भाद्र २०७९, आईतवार ०५:०४