कर्मचारी अपुग

कर्णाली प्रदेशले सुरुवातदेखि नै पर्याप्त कर्मचारी पाएन । प्रदेश सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिनै लाग्दासमेत कर्मचारी व्यवस्थापनको समस्या हल भएको छैन । कर्मचारी अभावको समस्या अभैm पनि ज्युँका त्युँ छ । विगतदेखि नै जनशक्ति अभाव झेल्दै आएका मन्त्रालय र मातहतका कार्यालयले अहिले पनि स्वीकृत दरबन्दीअनुसार कर्मचारी पाएका छैनन् । ठूलो संख्यामा कर्मचारी अपुग देखिन्छ । मुख्यमन्त्री कार्यालयमा समेत दरबन्दीअनुसारका कर्मचारी छैनन् । प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा मात्र नभइ संवैधानिक निकायहरूमा पनि जनशक्तिको चरम अभाव छ । आवश्यक संख्यामा जनशक्ति नहुँदा प्रदेश सरकारको कार्यसम्पादन प्रभावित भएको छ । सेवा प्रवाह सहज हुन सकेको छैन । योजना कार्यान्वयनमा उल्लेख्य सफलता मिलेको छैन ।

प्रदेशमा दुई हजार आठ सय ६२ स्वीकृत दरबन्दीमध्ये एक हजार सात सय २२ जनाको मात्रै पदपूर्ति भएको छ । अहिले पनि एक हजार एक सय ४० पद रिक्त छन् । दरबन्दीका ६० प्रतिशत कर्मचारी मात्रै कार्यरत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । उदाहरणका लागि मुख्यमन्त्री कार्यालयका विभिन्न पदमा गरी स्वीकृत दरबन्दी ६३ रहे पनि ५७ जनाको पदपूर्ति भएको छ । यस्तै, सामाजिक विकास मन्त्रालयमा ५५ प्रतिशत कर्मचारी अपुग छन् । एक हजार ६९ स्वीकृत दरबन्दी रहेकोमा चार सय ७६ पदपूर्ति भएको छ भने अझै पाँच सय ९३ दरबन्दी रिक्त रहेको हो । सबैभन्दा बढी बजेट कार्यान्वयन गर्नुपर्ने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमा कर्मचारीका ९४ पद रिक्त छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा ९१ जना कर्मचारी अपुग छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा ११ जना, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १९, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा एक सय २३, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा एक सय ५८ कर्मचारीको अभाव देखिएको छ । प्रदेशसभा सचिवालयमा झण्डै आधा दरबन्दी रिक्त छन् ।

पर्याप्त कर्मचारी नहुँदा मन्त्रालयहरूलाई नियमित सेवा प्रवाह र बजेट कार्यान्वयमा चुनौती भइरहेको छ । कर्णालीमा कर्मचारी अपुगको समस्या विगतदेखिकै हो । प्रदेश संरचनामा आइसक्दासम्म पनि त्यही समस्या कायम छ । प्रदेश र स्थानीय तहका सेवामा कर्मचारी सिफारिस गर्ने प्रदेश लोक सेवा आयोगमा समेत पर्याप्त जनशक्ति छैनन् । यद्यपि प्रदेश लोक सेवा आयोगले अहिले प्रदेश र स्थानीय तहबाट माग भइ आएका पदका लागि परीक्षाहरू सञ्चालन गरिरहेको छ । यसले केही समयभित्र खाली रहेका पदपूर्ति हुने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मितिः   ३ भाद्र २०७९, शुक्रबार ०५:०३