सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्ने चेतावनी

सुर्खेत: वीरेन्द्रनगरमा सञ्चालित सामुदायिक विद्यालयहरूले विभिन्न निकायबाट विद्यालय सञ्चालनमा अवरोध भएको भन्दै यही भदौ ७ गतेबाट पठनपाठन बन्द गर्ने चेतावनी दिएका छन् । नगरका १६ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । विद्यालयहरूको बाध्यात्मक अवस्था नबुझेर थप अप्ठ्यारोमा पारिएको भन्दै यस्तो परिस्थितिमा पठनपाठन सञ्चालन गर्न नसकिने जारी विज्ञप्तीमा उल्लेख छ । उच्च अदालत सुर्खेतले कक्षा १२ सम्मका विद्यार्थीहरूलाई निःशुल्क अध्ययन अध्यापनको व्यवस्था मिलाउन गरेको आदेश पालना गरेरै अभिभावकहरूले स्वैच्छिक रूपमा प्रदान गरेको सहयोगले विद्यालय सञ्चालन गरेको जिकिर गरिएको छ । शिक्षा ऐनले तोकेको शिक्षक विद्यार्थी अनुपातभन्दा करिब दोब्बर बढी विद्यार्थीको संख्या रहेकोले विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्न स्थानीयस्तरबाट शिक्षक राख्नुपर्ने हुँदा स्रोतको प्रबन्ध गर्नुपर्ने बाध्यता रहेको विज्ञप्तीमा भनिएको छ ।

अभिभावकको स्वैच्छिक सहयोगबाट सञ्चालित विद्यालयहरूमा विभिन्न निकायबाट पटक–पटक गरिने अवरोध तथा अनुचित हस्तक्षेपका कारण विद्यालयको पठनपाठन र संस्थाको मनोबल तथा आत्मसम्मानमा चोट पुगेको जनाइएको छ । संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘अभिभावको सहयोग विना स्वीकृत दरबन्दीको अनुपातमा बाहेक कक्षा ११ मा नयाँ विद्यार्थी भर्ना लिन र अन्य कक्षाहरूको नियमित पठनपाठन सञ्चालन गर्न नसकिने बाध्यात्मक अवस्थामा पुगेको व्यहोरा स्पष्ट पार्दछौँ ।’ विद्यालयको समस्या र भावनालाई सम्बोधन नगरिए आउँदो मंगलवारदेखि वीरेन्द्रनगरका सबै सामुदायिक विद्यालयहरूमा पठनपाठन बन्द गरिने बताइएको छ ।

बुधवार वीरेन्द्रनगरको जन नमूना माध्यमिक विद्यालयबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलिले विद्यार्थीबाट विना रसिद लिइएको शुल्कवापतको रकम नियन्त्रणमा लिएको थियो । उक्त विद्यालयले विद्यार्थीबाट विना बिल भरपाई उच्च अदालतको आदेश विपरीत शुल्क असुलेको भन्दै अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीको अनुसन्धानका क्रममा विद्यार्थीबाट उठाइएको दुई लाख ७६ हजार ६ सय ९० रूपैयाँ नगदसहित अख्तियारले कागजात नियन्त्रणमा लिइ आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएको छ । विना रसिद शुल्क असुलेको भन्ने यस्तै प्रकृतिमा अन्य विद्यालयहरूका पनि उजुरी आएकाले ती उपर पनि छानविन भइरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ३ भाद्र २०७९, शुक्रबार ०५:०२