महिनावारी स्वच्छता

महिनावारीलाई लिएर समाजमा केही भ्रम सिर्जना भएका छन् । नकारात्मक धारणा बनेका छन् । गलत बुझाई स्थापित छन् । यस्तो भ्रम र अन्धविश्वासका कारण महिलाहरूको रजस्वलाको नियमित प्रक्रियालाई छुवाछुतसँग जोडेर हेर्ने गरिएको छ । यसले विभेद सिर्जना गरेको छ । रजस्वलाको समयमा महिलाहरू घरभित्र बस्न नपाउने अवस्था अझै पनि कतिपय क्षेत्रमा कायमै छ । छाउगोठमा बस्नुपर्ने बाध्यता अन्त्य भइसकेको छैन । बसाइँ त असुरक्षित हुन्छ नै खानपान, आराम र सरसफाइमा पनि उस्तै समस्या । अधिकांश नेपाली महिलाले महिनावारीको समयमा आराम त के, पोषण र सरसफाइसम्म पाउँदैनन् । घरभित्रका काम नगरे पनि उनीहरूलाई अन्य श्रम गर्न लगाउने गरिन्छ । शरीरमा हुने स्वाभाविक जैविक परिवर्तनकै आधारमा महिलाले मर्यादित जीवन बाँच्न पाउने अधिकार हनन् भएको छ ।

पछिल्लो समय यस्तो सोच परिवर्तन हुँदै गएको छ । महिनावारीप्रतिको गलत बुझाइ बदलिन थालेको छ । समाजको चेतनास्तर बढेसँगै अहिले महिनावारीलाई महिलाको नियमित प्राकृतिक चक्रका रूपमा बुझ्न थालिएको छ । सोच परिवर्तन भएसँगै महिलाहरूलाई महिनावारी हुँदा घरभित्रको काममा कुनै रोकतोक हुँदैन । पोषिलो खाना खान पाउँछन् । आवश्यक आराम गर्न पाएका छन् । खानपानदेखि बसाइँसम्म सुरक्षित बन्दै गएको छ । सरकारी तथा गैरसरकारी निकायले मर्यादित महिनावारी प्रवद्र्धनका लागि सचेतनामूलक अभियान चलाउन थालेपछि सामाजिक रूपान्तरणका संकेत देखा परेका छन् । स्थानीय सरकारले महिनावारी सरसफाइका बारेमा जानकारी गराउनका साथै निःशुल्क प्याड वितरण गर्न थालेका छन् । यसले महिनावारी हुने महिलाहरू पनि आफ्नो स्वास्थ्यप्रति सचेत हुन थालेका छन् । स्वास्थ्य संस्थामा गएर नियमति परामर्श लिने तथा स्वास्थ्य जाँच गर्ने गर्त थालेका छन् । महिनावारीका समयमा सरसफाई अपरिहार्य हुन्छ । यसबारे आवश्यक जानकारी र ज्ञान नहुँदा महिलाहरूले नै बेवास्ता गर्ने गरेका थिए । तर अहिले सरसफाइमा पनि ध्यान दिन थालेका छन् । यो सकारात्मक परिवर्तन हो ।

महिनावारी एक अपरिहार्य प्राकृतिक प्रक्रिया हो । यसका बारेमा सबै नागरिकलाई बुझाउन जरुरी छ । महिनावारीसँग सम्बन्धी विभेद र छुवाछुतको अन्त्यका लागि कानुन नै बनेका छन् । मर्यादित महिनावारी नीति निर्माण गरिएको छ । नेपाली महिलाहरूको सहज जीवनयापनमा यसले सघाउ पु¥याउने अपेक्षा गरिएको छ । महिनावारीप्रतिको बुझाई परिवर्तन अपरिहार्य छ । यसका लागि महिनावारी सहज प्रक्रिया हो र घरभित्र होस् वा बाहिर, छुवाछूत अपराध हो भनेर बुझ्ने र सबैलाई बुझाउन सकेमा मात्रै यसका कारण हुने विभेद अन्त्य हुनसक्दछ । जनचेतना अभिवृद्धि गर्ने, अन्धविश्वास हटाउने र कडाइका साथ कानुन कार्यान्वयन गर्नेतर्फ राज्यले जोड दिनुपर्दछ ।

प्रकाशित मितिः   २ भाद्र २०७९, बिहीबार ०५:०३