जनमाविबाट रकमसहित कागजात नियन्त्रणमा

सुर्खेत: वीरेन्द्रनगरस्थित जन नमूना माध्यमिक विद्यालयबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले दुई लाख ७६ हजार ६ सय ९० रूपैयाँ नियन्त्रणमा लिएको छ । अख्तियारको टोलिले बुधवार विद्यालयका कार्यालय सहायक र सूचना सहायकको कार्यकक्षको टेबुल तथा दराजबाट उक्त रकम नियन्त्रणमा लिएको हो । विना रसिद विद्यार्थीबाट शुल्क असुलेको उजुरीका आधारमा रकम नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उक्त विद्यालयले साउन २६ गते प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उतीर्ण विद्यार्थीबाट उच्च अदालत सुर्खेतको २०७८ मंसिर १ गतेको परमादेश र जेठ २३ गतेको अन्तरिम आदेश विपरीत विद्यार्थी भर्ना गर्दा रकम असुल गरी बिलसमेत नदिएको उजुरी आयोगको कार्यालयमा परेको थियो । सोही उजुरी निवेदनका आधारमा आयोगको कार्यालयबाट खटिएको टोलिले रकमसहित कागजात नियन्त्रणमा लिएको हो । बिल भरपाई विना रकम असुल गरिसकेको अवस्थामा रकम र सोसँग सम्बन्धित काजजात नियन्त्रणमा लिइ आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी भेषराज रिजालले बताए ।

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन यसअघि नै फैसला गरिसकेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त इजलासले केही दिन पहिले सुर्खेतमा रहेका सामुदायिक विद्यालयहरूलाई विद्यार्थीहरूबाट भर्ना शुल्क नलिन फैसला गरेको थियो । अदालतले समाजसेवी, दान दातव्य दिइ धर्म गर्न चाहने स्थानीयबासी, बक्सिस, पुरस्कारलगायतका रकमबाहेक विद्यार्थीबाट अन्य शुल्क नलिन फैसला गरेपनि विद्यार्थीबाट विभिन्न शीर्षकमा विद्यालयले रकम असुल्दै आएका छन् । नेपालको संविधानले कक्षा ८ सम्म अनिवार्य तथा कक्षा ९ देखि १२ सम्म निःशुल्क पढ्न पाउनुपर्ने हक सुनिश्चित गरेको छ । संविधानले प्रत्याभूत गरेको निःशुल्क शिक्षा पाउने हकविपरीत सामुदायिक विद्यालयले विद्यार्थीबाट मनोमानी शुल्क असुल गरेको आरोप लाग्ने गरेको छ ।

प्रकाशित मितिः   २ भाद्र २०७९, बिहीबार ०५:०१