कर्नाली–भेरी सुसेल्दो छ

गीत संगीतको आफ्नो निरन्तरता त छँदैछ, तर त्यसको आफ्ना विभिन्न चरणहरूमा नदीले छाल हानेजस्तै संगीतमा पनि त्यसरी उर्लिन्छ । ‘सरर मलेवा, घुम्छ बादल मुनी मायालाई’ लगायतका गीत गाउने पुरानो प्रेमदेव गिरी ‘कर्णाली उत्सवमा’ बहस गरिरहँदा रमाइलो अनुभव भएको छ । यसरी सबैजना जमघट हुने भेला र समारोहहरू उतिबेला पर्याप्त मात्रामा थिएनन् । अहिले जस्तो स्रष्टाहरूसँग जमघट हुँदैनथ्यो । समयकालसँगै यो आजको समाजकै सम्पदा थियो । अहिले कार्यक्रम प्रस्तुतिका अवसरहरू आउन थाले तब मलाई, ‘सपनाबीच पाएको धन, बिउँझिदा हातमा’ भनेर महाकविले भनेझैँ लागेको छ ।
त्यो बेला सात दिन लगाएर काठमाडौं जानु, रेडियो नेपालमा देउडालाई कहिलेकसो मात्रै भाषा–भाषिकामा पढ्नु, विधिवत् तरिकाले भाषा–भाषिका त्यतिबेला मान्यता थिएन । त्यतिबेला फूलबारी भन्ने कार्यक्रम चलाइन्थ्यो । फूलबारी कार्यक्रममा देउडाहरू बज्थे । झ्याउरे, झ्याली र मादल बजाउने गीतहरूलाई मात्रै गीत भन्ने अवस्थाबाट अहिले जुन यो देउडा गीत व्यापक भएको छ । मलाई कस्तो लाग्छ भने, त्यो बेला सपनामा भेटेको कुरा अहिले विपनामा भोगेको छु । यो एउटा ठूलो मौका र संयोग हो । मेरो यहाँसम्मको लामो अनुभवमा गीतको चिनारी भनेको लय रहेछ । हामीले संगीत भन्छौँ । शब्द चाहिँ के रहेछ भने, बाह्रै महिना फुल्ने फूलहरू आफ्नो सिजनमा फुल्छन् । शब्द चयन मान्छेहरूले आफ्नो इच्छाअनुसार गर्ने रहेछन् । जस्तो एउटा धागो छ भने कसैले मखमली फूलको माला उन्ला, कसैले हजारी उन्ला तर धागो एउटै हुन्छ । शब्दहरू फरक भइरहन्छन् । ती आफ्नो–आफ्नो भोगाइका हुन्छन् । अहिलेको नयाँ पिँढीलाई पहिले हामीले सुर्खेतमा नेपालगञ्जबाट नुन बोकेर ल्याउँथ्यौँ भन्यौ भने पत्याउँदैनन् । उनीहरूले डिपोमा नुन पाइन्छ भन्छन् । त्योअनुसार उसले आफ्नो शब्द चयन गर्ने हो । गीतको लय मात्रै नभएर हामीले बोल्ने भाषाहरूलाई पनि समेट्न सक्छन् । भाषाको चिनारी हामीले लिपिबद्ध गरेर राख्न सकेनौँ भने, कालान्तरमा यो अपरिचित पनि हुनसक्छ । तर अहिलेसम्म ती लयहरू व्यापकतामा नभए पनि कतै अहिले पनि सुरक्षित छन् जस्तो मलाई लागेको छ ।
अहिलेको अवस्थामा साहित्य तथा कला पनि एउटा आफ्नो सन्तुष्टि र समाजतिर केन्द्रित छ भने अर्कोतिर आयआर्जनको माध्यम छ । अर्थात् यो क्षेत्र अहिले सेवामूलक र व्यवसायीकरण बनेको छ । एउटा पक्ष छ जसले हाम्रो स्वाभिमान र पहिचान गीत संगीतलाई आफ्नो गौरव ठान्ने, त्यसमा आत्मसन्तुष्टि लिने, रमाउने र यो समाजको सम्पदा हो भन्ने र अर्को पक्ष त्यसलाई आफ्नो व्यापार वा आयमूलक दृष्ट्रिकोणले हेर्ने यी दुई वटा पक्ष छन् ।
लय भनेको एउटा धागो हो । त्यसमा व्यथा वेदनाका फूलहरू उनीन्छन् । आफ्ना व्यथाहरू व्यक्त गर्ने एउटा माध्यम गीत हो । आखिर दिनभरि गिट्टी कुटे पनि वा दाउरा चिरे पनि पाखुराकै बल जाने हो । दुई वटै काम त दुःख नै हुन् । त्यसैले गीतको शीर्षकहरू एउटा–एउटा गरेर नजालान् त्यसमा हामीले वर्गीकरण ग¥यौँ भने मानिसहरूको उमेर भनेझैँ गीतहरूले ती कुराहरूलाई समेट्छ ।
संस्कारहरू चलायमान पनि हुन्छ । समयअनुसार केही परिवर्तन पनि होला । समयअनुकूल जे–जति परिवर्तन भएको हामीले देखेका छौँ, ती संस्कारहरू हुन् । समयअनुसार संस्कृति परिवर्तन हुँदैन होला । त्यसैले हाम्रा मूल संस्कृतीहरूलाई कसरी अवलम्बन ग्रहण गर्यौँ भन्ने कुरा महŒवपूर्ण हुन्छ । जस्तोः कुरा हामीले लगाउने कपडाहरूको नाम पनि हामीले बिर्सियौँ तर सिस्नो, अल्लोजस्ता पुराना कुराहरू छन् ।
अब गर्नुपर्ने के छ भने, पहिले–पहिले बुढा भए ‘भाषा सारे’ भन्थे । जति बेलामा सञ्चारको सहज पहुँच थिएन, त्यो बेलामा कथा, उखान वा गीत समाजलाई जसरी सहज हुन्छ, त्यसरी हाम्रा गीत, लय र संगीतहरू थिए । तर अहिले त्यस्ता भिडियो तथा अडियोहरू रेकर्ड गरेर राख्ने युग पनि आएको छ । हाम्रा पालामा एउटा फोटो खिच्यो भने हामीले पाउन करिब चार दिन लाग्थ्यो । अहिले सुर्खेतमा भएको कर्णाली उत्सवलाई विश्वका कुनाहरूमा देखाइरहेका छौँ । त्यसैले लोक गीतको परिचय लयमा छ । लयहरू अर्थात् भाकाहरूलाई बचाउनका लागि यसलाई लिपिबद्ध गरेर र वर्गीकरण गरेर राख्न जरुरी छ । यसका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दछु । स्वर लिपिको विकास गर्न जरुरी छ । जसबाट नयाँ पुस्ताले समेत हाम्रा पुराना भाकाहरूमा आफ्ना भोगाइका शब्दहरू राखेर गाउन सकुन् । कुनै चरा बासेको छ भने हामीले नदेखे पनि चिन्छौँ । त्यसैले उसको लय वा बोली नै उसको संस्कृति हो । जसले हाम्रो पहिचान दिन्छ । त्यसैले कर्णाली प्रदेश सरकारले हाम्रा भाकाहरूलाई लिपिबद्ध गरेर राख्न सुझाव दिन्छु जसका लागि हामी खटेर सहयोग गर्न तयार छौँ ।

बउनुका कम्पनी माला
दाइ क्यान मास्ता हुन बाँज
हो बाँज, झुम्रेउली बाँज
मन भन्या साउनकी रात
दन्त केइ हाँस्ता हुन बाँज
हो बाँज, झुम्रेउली बाँज
म पहाडको मान्छे हुँ । मेरो घर सेती अञ्चलको बझाङ जिल्ला हो । सेती, कर्णाली, महाकाली र भेरी चारजना दिदीबहिनी हुन् । कर्णालीको भाषा यदि व्युत्पत्तिका रूपमा अगाडि नआउने हो भने सायद महाकालीको भाषा कालापत्थरमा बोलिन्थ्यो होला । महाकालीको भाषा अहिले जुन बोलिन्छ, त्यो आउने थिएन । सेतीमा बोलिने ‘ओ बउजु तमी काँबाट आया भन ?’ त्यो भाषा सायद महाकालीसँगै मिसिन्थ्यो होला ।
हामी गितमात्रै सुन्छौँ तर यो व्याकरण पनि हो । यहाँभित्र व्याकरणीय शब्दहरू छन् । कर्णालीको जुन सिँजाको भाषा हो, हाम्रो आदि भाषा हो । भाषाको मौलिक स्वरूप बग्दै गइरहेको छ । तर यसको मूल मर्म एक ढिक्का भएर कर्णाली प्रदेशमा रहेको छ । नयाँ पुस्ताहरूले गाउने देउडा र यहाँको मौलिकताबिच खाडल छ । यसका कारणहरू छन् । समयको परिवेशले गर्दा मान्छे ज्यादै परिवर्तन चाहाँदारहेछन् । तर भाषामा परिवर्तन हुनुहुँदैन जुन मौलिक भाषा छ । ‘तुमिले कर्णालीमा बोल्या भाषा’ र ‘मूइले बोल्या भाषा’ बझाङमा बोलिँदैन । अलिकति फरक छ । ‘तुमि काँबाट आयौ माण्ठौ ?’ कर्णालीमा भनिन्छ, तर बझाङमा ‘माइस’ भन्छन् । बझाङमा ‘ज’ लाई ‘झ’ भन्छन् । ‘जानु’ लाई ‘झानु’ भन्छन् । यो परिवर्तन आएको छ । आजभोलि मान्छेहरू परिश्रम गर्न छोडेका छन् । धेरै कलाकारहरूले पनि परिश्रम गर्न छोडेका छन् । २०४७ सालदेखि मैले गाएका २२ वटा एल्बमहरू कतै न कतै यता उता चोरी गरेर नयाँ–नयाँ भाका बनाएका छन् । हाम्रो देउडामा त संगीत सरोबर छ । कर्णाली जसरी सुसाउँदोछ, भेरी जसरी बगेको छ, नबराज लम्सालका कवितामा जसरी महाकाव्य बगेको छ नि त्योभन्दा कम देउडामा छैन । तर मान्छेहरू ‘छोटी खाऊँ जल्दी मरउँ’ गर्छन् । भाषा र संस्कृतिलाई विकृत गर्ने अधिकार कसैलाई छैन ।
प्रेमदेव गिरीजीले २०३५ सालमा मेरो गीतमा मादल बजाउनुभएको थियो । २०४३ साल फागुन ७ गते प्रजातन्त्र दिवसमा रेडियो नेपालमा मैले गाएको गीत जसले प्रथम पुरस्कार पाएको थियो ।
छमक्क, छमक्क, छमक्क, छमक्क,
नेपालगञ्ज सहरैमा
छमक्क, छमक्क नेपालगञ्ज सहरैमा
छमक्क, छमक्क पानी पड्यो टिनमा भिनाजु
छमक्क, छमक्क सम्झना घरको लाग्छ
छमक्क, छमक्क यति लामा दिनमा भिनाजु
पहिले मैले गाउने गीतहरूमा क्यासेट बनाइन्थ्यो तर अहिले युट्युबको जमाना छ । यो कुरा धेरै फरक छ । कुनै बेला यसरी विद्वान् व्यक्तिहरूका अगाडि देउडा गीतको व्याख्या गरौँला भन्ने मैले सोचेको पनि थिएन । २०३४ साल कार्तिक १४ गते रेडियो नेपालमा फूलबारी कार्यक्रम मैले पहिलोपटक जुन गीत गाएँ त्यही गीत रेकर्ड गरेको हो । मेरो लगाव कर्णालीमा पछि आएको हो । सेती र महाकालीका हरेक बस्तीहरूमा कुन ठाउँमा कुन मेला लाग्दछ मलाई थाहा छ ।
मलाई २०३५ सालमा कुनै मान्छेले ‘हाम्रा बन पाखाका गीत गाइकन हाम्रो बदनाम ग¥यो यो काठाले’ भनेर गाली गरेको याद छ । त्यतिबेला बहुदल र निर्दलको कुरा थियो । म बहुदलको प्रचार गर्न हिँडिरहेको बेला ठाउँ ठाउँमा गीत गाएँ । त्यतिबेला मलाई गाली गर्दा मैले केही मतलब गरिनँ किनभने मसँग मेरी आमा गंगामतिले सिकाएका मागलका भाकाहरू थिए ।
परिमल स्नेही उहाँ अहिलेको भाषामा प्रयोग गर्नुपर्दा दलित हुनुहुन्थ्यो । उहाँ दाइ बझाङको हुनुहुन्छ मैले उहाँको गोडामा दाइने हात राखेर ढोगेको छु । तमि कसा छौ दाजु पनि भनेको छु । दलितलाई दाजु भन्यो यो पनि दलित नै रहेछ भनेर मलाई पनि कतिपयले भने । अहिले त यो समाज परिवर्तन भएको छ । यो परिवर्तनलाई दिगो बनाउनका लागि हामीले धेरै काम गर्नुपर्छ ।
म १७ वर्षको अवधिमा गाउँमा घुम्दाखेरि विभिन्न भाकाहरू थिए । ती भाकाहरू टपक्क टिपेर ल्याएर रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरेर सारा मान्छेहरूले सुन्ने गर्थे । मैले पनि धेरै भाकाहरू गाएको छु । पछिल्लो अवस्थामा पहिलो कुरा राजनीतिक कारणले दश वर्षे जनयुद्धका कारणले गर्दा मानिसहरूको जीवनस्तर कहाँ पुग्यो ? लोकसंस्कृति कहाँ पुग्यो ?
भाषाको कुरा गर्दा पनि पहिले हामीले गुन्यू भन्थ्यौँ । अहिलेको पुस्ताले बुझ्दैनन् । हाम्रा गीतहरूमा भाषा र संस्कृति छ । त्यसलाई पछिल्ला पीढीहरूले अनुसरण गर्नुपर्छ । अहिलेको पुस्तामा त्यसलाई अनुसरण गर्ने धैर्यता पनि छैन ।
हामीले हरेक कुराहरू राजनीतिसँग जोड्ने गर्छौँ । अहिले हामी सात वटा प्रदेशमा परिणत भएका छौँ । कर्णाली प्रदेश सरकारले कला भाषा र साहित्यको लागि छुट्टै बजेट छुट्टाउनुपर्छ । भाषा, साहित्य र संस्कृति मरेको खण्डमा राजनीति पनि अन्त्य हुन्छ । यहाँका १० वटा जिल्लाहरूमा प्रत्येक वर्ष जिल्ला सदरमुकामहरूमा कर्णाली उत्सवजस्तै किसिमका कार्यक्रमहरू आयोजना गर्न लगाउन जरुरी छ । जस्तै जुम्लाको तातोपानी गाउँपालिकामा लाम्रा संवाद कार्यक्रम हुन्छ । हामीले जति गाएका छौँ । ती गीतहरूको सूचनाहरू लेख्न लगाउनुपर्छ । जो भोलि कतै पाठ्यक्रममा पनि आउन सक्छ । अहिले पैठहरूमा गाउने गीतहरू, भजनहरू वा हाम्रो आमाले बोल्ने भाषाहरू र त्यो बेलाका कथनिहरू के हुन् ? त्यो पनि लिपिबद्ध हुन जरुरी छ ।

मैले कक्षाकोठामा शिक्षण गर्दाखेरी सिर्जनात्मक सीप कला भन्ने विषय पनि छ । सिर्जनात्मक सीप कला भनेर पढाउँदा मैले आफ्नो लोक तथा देउडा भाका शिक्षण गर्दाखेरी कक्षाकोठामा मैले गाउन थालेँ । कक्षाकोठामा गाउँदै शिक्षण गर्दाखेरी कतिपय नबुझेका अभिभावकहरूले विजया म्याडमले त कक्षाकोठामै गाउन पो थाली ! भन्नुभयो । पढाउन आएकी मान्छे किन गाउन तथा नाच्न थालिन भन्न थाले । मलाई त्यस्ता किसिमका आरोपहरू पनि आउन थाले । ती आरोपहरू मैले सहेर बसेँ । कक्षाकोठामा मैले विषयवस्तुहरूलाई गीतमा ढालेर रमाइलोसँग नानिबाबुहरूलाई सिकाउँदै गएँ । कक्षा १ देखि ५ सम्मका भाइबहिनिहरूलाई गीतमार्फत विभिन्न विषयवस्तुको शिक्षण गर्न थालेँ । त्यसरी शिक्षण गर्दा बच्चाहरूले सहज तरिकाले सिक्न थाले । कक्षाकोठामा लोक गीत तथा संस्कृतप्रति बढी उत्सुकता छोरीहरूले देखाउने गरेको पाएँ । पहिले त छोरीहरूलाई पढाउनुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा थिएन । रुकुमजस्तो विकट र पिछडिएको ठाउँ मैले संघर्ष गरेर त्यतिबेला पढ्ने मौका पाएँ । हामी सात बहिनी छोरीहरू थियौँ । बुबाले छोरीहरूलाई पढाउनुपर्छ भनेर पढाउनुभयो । अहिले सबैजना अधिकृत सरहको जागिरमा हुनुहुन्छ ।स्थानीय तहमा स्थानीय पाठ्यक्रम निर्माणको अभ्यास भर्खरै सुरु हुँदैछ । स्थानीय पाठ्यक्रममा लोक संस्कृतिका कुराहरू राख्नुपर्छ । मलाई त्यसको लागि पनि सल्लाह गर्नुभएको छ । भर्खरै प्रक्रिया पनि सुरु भएको छ ।
अहिले सहज रूपमा सामाजिक सञ्जालको पहुँच भएकोले नयाँ नयाँ सिर्जनाहरू हुन थाले । पहिले मेरो आमा र हजुरआमाहरूले रूकुम–पश्चिममा गाउने ठाडी भाका मलाई अहिलेसम्म स्मरण छ ।
कर्णाली उत्सव..कुडा कर्नालीका
सुसाउँछन् कर्नाली भेरी पिडा नेपालीका
माथि पर्योक सिस्ने हिमाल तल सानी भेरी
सित्ति मन रुँदैन मेरो सम्झि ल्याउँदा खेरी
कमल ताल सिस्ने हिमाल रुकुमको चिनारी
वर माग्न आइदिनुहोला डिग्रे साइकुमारी
कर्णाली प्रदेश सरकारले विभिन्न जिल्लाहरूमा लक संस्कृतिलाई जगेर्ना गर्ने खालका कार्यक्रमहरू गर्नुपर्छ । यस्ता खालका बहसमूलक र लोकसंस्कृति बचाउने कार्यक्रमहरू गर्न जरुरी छ ।

विद्यालय तथा महाविद्यालयस्तरमा कर्णालीको लोकगीत तथा लोकसंस्कृतिसँग सम्बन्धित कुराहरूको उठान गर्दा सबै भेग र क्षेत्रबाट विद्यार्थीहरू त आउँछन् नै । विशेष कार्यक्रम प्रस्तुति हुँदाखेरी वा क्याम्पसको दिवस वा कार्यक्रम हुँदाखेरी, कहिलेकाहीँ चाडपर्व विशेष कार्यक्रम र प्रतियोगिताहरू हुँदाखेरी देउडाहरू पनि प्रस्तुत हुने वा कर्णालीका विभिन्न खालका लोक भाकाहरू प्रस्तुत हुने गर्थे । तर जुन रूपमा म अलि चासो राखेर आउनुपर्छ भन्ने सोच्थेँ, त्यो रूपमा भने पाउन सकिएको थिएन ।
पहिलेको मध्यपश्चिम क्षेत्र अहिले कर्णाली प्रदेश भयो । दाङ, रूकुम र रोल्पालगायतका स्थानहरूबाट आएर सुर्खेतमा प्रतियोगितात्मक कार्यक्रमहरू हुने गथ्र्याे । विशेष गरी त्यति बेलाको क्षेत्रीय शिक्षा निर्देशनालयले आयोजना गर्ने प्रतियोगितात्मक कार्यक्रममा विभिन्न ठाउँहरूबाट सहभागीहरू आउने गर्थे । खास लोक भाका, लोक नृत्य र लोक गीतहरू प्रस्तुत हुने गर्थे । समय परिस्थि सँगै क्रमशः यो क्षेत्र कर्णाली प्रदेशको रूपमा भइसकेपछि जुन उत्साह हामीमा थियो, त्यसमा अलिकति असहज स्थिति भयो । एक त प्रदेश स्थापनाका लागि द्वन्द्वात्मक परिस्थिति भयो । त्यसले गर्दा कला संस्कृतिले त्यति राम्रोसँग प्रगति गर्न सकेन । त्यसपछि केही समय कोभिड–१९ को महामारीको त्रासले पनि हामी खुलेर कार्यक्रमहरू आयोजना गर्न सक्ने अवस्थामा रहेनौँ । अहिले पनि यहाँको शिक्षा विकास निर्देशनालयले बेला बखतमा कार्यक्रम आयोजना गरेर त्यस्ता लोक प्रतिभा र संस्कृतिहरूको खोजी गर्ने प्रयास गरिरहेको छ । रेडियो नेपाल प्रादेशिक प्रसारण सुर्खेतले पनि बेला–बेलामा लोक गीत प्रतियोगिता र सम्मेलनजस्ता कार्यक्रम गरेर खोजी गर्ने प्रयास त भइरहेको छ । जुन हामीले विद्यालयमै गएर एक किसिमको लोकसंस्कृतिको पाटोमा सिकाउने नाचका गुरुहरू वा विद्यालयका त्यससँग सम्बन्धित शिक्षकहरूले त्यससम्बन्धी जोड दिनुपर्छ भन्ने कुरालाई हामीले अझैँ राम्रोसँग लागु गर्न सकिरहेका छैनौँ ।
मैले २०२६ सालमा दैलेख जाँदै गरेको समयमा बिच जंगलमा उताबाट आएकी युवतीसँग भेटघाट गर्दाखेरीको प्रसङ्ग राखेर एउटा गीत लेखेको थिएँ । त्यतिबेला दैलेख र सुर्खेतको सीमाना नजिक रानिमत्ता भन्ने ठाउँमा अचानक भेट भयो । मैले झोला बोकेर उकालो लागिरहेको अवस्थामा उताबाट आइरहेकी दैलेख युवतीले गीतमा प्रश्न गरेकी थिइन्, ‘हे..घर कहाँ हो परदेशी ?’ अनि मैले जवाफ दिएको थिएँ, ‘जिल्ला सुर्खेत हो घर जर्बुटा, सन्चै भेट रानिमत्ता, कोसेली यो घरमा मेरो पुर्याइदेउ सन्देशी’ यस्तै प्रकारले गीतमा प्रश्नोत्तर भएको छ । गीतहरूमा धेरैजसो माया प्रेमको कुरा आउँछ भन्छन् । अन्तिममा ‘न मलाई आशा छ घर र बार, न धन दौलतको, खाँचो छ मलाई मिठो सम्झना एक मुठी मायाको’ भनेर केटीले भन्छ । केटाले ‘एक मुठी माया कसरी दिऊँ के निहुँ पारेर लैजाऊ औँठी देऊ तिम्रो छाया छिपाइ राख चिनो हितैमा सात गाँठो पारेर’ भन्छ ।
गीत भन्नेबित्तिकै माया प्रेमका कुराहरू आउँछन् । तर गीतमा सामाजिक परिवेशहरू र सामाजिक सन्दर्भजस्ता कुराहरू त हुन्छन् नै । कर्णालीवासीहरू द्वन्द्वकालको समयमा सुर्खेतको रेडक्रस अगाडि आएर शरणार्थी भएर पाल टाँगेर बसिरहेको देखेँ । मलाई एउटा विचार आयो र त्यतिबेला मैले एउटा गीत लेखेको थिएँ ।
कुन दुःखले जोडेको सानो घरबारी
छाड्नुप¥यो स्टमित्र, छुटे सबै दौँतरी
सम्झनाले यो मन किन रुन्छ धरधरी
आफ्नै गाउँघर प्यारो लाग्छ भनूँ कसरी
लोक भाका विभिन्न क्षेत्रमा छ । देउडा, तिज र विभिन्न मन्दिरहरूमा गाइने लोक भजनहरू लगायतले लोक संस्कृति बचाएका छन् ।
(ऋति फाउण्डेसनको आयोजनामा २०७८ फागुनमा वीरेन्द्रनगरमा भएको ‘कर्णाली उत्सव’को तेस्रो संस्करणको ‘कर्णाली भेरी सुसेल्दो छ’ सेसनका वक्ताहरूले व्यक्त गरेका विचार हुन्, यी । उत्सवका अन्य सत्रमा व्यक्त विचारहरू पनि क्रमशः प्रकाशित हुनेछन् । यस सत्रको सहजिकरण कवि डा. नवराज लम्सालले गरेका थिए ।)
प्रकाशित मितिः १ भाद्र २०७९, बुधबार ०५:०५
कुडा कर्णालीका ।