संयोग
चैतको महिना थियो । शिशिर बिहान विद्यालय गयो । ऊ दिनभर पढाएर साँझ घर फर्कियो । साँझ उसको घरमा केही अपरिचित व्यक्तिहरू आए । शिशिरसँग केही बुझ्नु छ भन्दै उसलाई लिएर गए । तीमध्ये एक जनाले सुधासँग शिशिर केही समयपछि फर्कनुहुन्छ भनेको थियो ।
सुधा घरधन्दामा व्यस्त थिइन् । उनले त्यो घटनामा त्यति चासो लिइनन् । उनले पतिलाई लिएर जाने उनकै साथीहरू होलान् भन्ने ठानिन् । उनी घरको धन्दामा व्यस्त रहिन् ।
चैते बाली भिœयाउने चटारो । दिनभरको कामधन्दा सकेर साँझको खाना खानेबेला भयो । तबसम्म शिशिर आएन अनि सुधा चिन्तित भइन् ।
शिशिरलाई कसले लियो भन्ने यकिन भएन । उसलाई लिने मानिस को हुन् ? कुन कामले लगे ? कता लगे ? केही बेरमा आउनुहुन्छ भनेको मान्छे अबेर रातसम्म पनि किन आएन ? यही कुराले सुधा र उनका छोराछोरी चिन्तित भए । रातभर उनीहरूको मनमा जौ–तिल पाकिरह्यो ।
भोलिपल्ट बिहान आठ बजेको हुँदो हो, सुदर्शन सर उनीहरूको घरमा आए । उनले शिशिरका बारेमा सोधपुछ गरे । केही बेरमा गाउँका अरु मानिस पनि त्यहाँ जम्मा भए । शिशिरलाई कसले र किन लग्यो खोजी गर्न प¥यो भन्ने कुरा उठ्यो । देशमा चलेको आन्तरिक विद्रोहले अनुमान लगाउन सजिलो थियो । बाँदरले देखेको तेर्सो हाँगो भने झैं बिनाजानकारी त्यसरी घरबाट मानिसलाई लिने कि त सरकारी सुरक्षाकर्मी हुनसक्थे कि त विद्रोही ।
तिनताका देशभरी अशान्ति थियो । देशले द्वन्द्व खेपिरहेको थियो । अमलाचौरका शिशिर दर्नाल पहिलेदेखि नै भूमिगत थिए । उनी विद्रोही सेनाको उच्च तहमा छन् भन्ने सुनिन्थ्यो । उनी पनि त्यसबेला गाउँतिरै आएका छन् भन्ने गाइँगुइँ हल्ला थियो । यो कुराको सुइँको सदरमुकाम पनि पुगेछ । उनलाई पक्राउ गर्न सरकारी सुरक्षा फौंजका केही व्यक्ति खटिएका रहेछन् । उनीहरू कपडा व्यापारीका वेशमा गाउँमा पसेका थिए रे ।
अस्ति जिमुवा खोलामा भिडन्त भएको थियो । त्यतिबेला सरकारी फौंजतर्फ केही क्षति भएको रहेछ । त्यसपछि त सरकारी सुरक्षा फौंज विद्रोहीप्रति थप आक्रमक भएछ । त्यही क्षतिको बदला लिन उनीहरू जिमुवा खोला, सिरुबारी, सिमले, अमलाचौर हुँदै ती गाउँमा एक–एक गरी घर–घर उनीहरूको सुराक खोज्दै पसेका रहेछन् । तीन दिनसम्म उनीहरूले शिशिर दर्नाललाई खोजिरहे । गाउँलेहरूले अपरिचित मानिसलाई सबैका बारेमा जानकारी दिँदैनथे र दिएनन् । यसकारण उनीहरू अलमलमा परे ।
एकदिन सादा पोसाकका ती मानिसले केटाकेटीसँग शिशिर सरको घर सोधे । उनीहरूले शिशिर सरको घर देखाइदिए ।
शिशिर पक्राउ परेको भोलिपल्ट साँझ पर्नै आँटेको थियो । एक जना पत्रकार सुधाको घरमा पुग्यो । उसले सुधालाई भन्यो, ‘शिशिर सरलाई सुरक्षाकर्मीले पक्राउ गरेको रहेछ, भोलितिर छोड्लान् ।’
उनीहरू छिट्टै निस्किए । केही समयपछि विद्रोहीहरू पनि त्यही घरमा पुगे । उनीहरूको मुख्य मान्छेले भन्यो, ‘सरकारी सेनाले हाम्रो भूमिगत शिशिर दर्नाल नै हुन् भनेर शिशिर सरलाई पक्राउ गरेको रहेछ । भूमिगत शिशिर दर्नाल र शिक्षक शिशिर दर्नाल सरको नाम–थर एउटै थियो । नाम र थर मिलेकाले संयोगवस तपाईंको मान्छेलाई पक्राउ गरेका हुन् । सोधपुछ गरेपछि छोड्छ होला ।’
केही बेरमै उनीहरू पनि निस्किए । सुधाको मनमा जिज्ञासा उठ्यो; यो कस्तो संयोग हो ? मानिसलाई पक्राउ गर्न त धेरै कुरा मिल्नुपर्छ होला । सबैसँग सोधपुछ गरेर मात्र काम गर्नुपर्छ होला । कुनै व्यक्तिको कसैसँग नाम मिल्यो भन्दैमा पक्रन मिल्छ ? यसले त कानुनी राज्यको उपहास गरेन र ?
सुधाले एक्कासी पञ्चायतकालको घटना सम्झिइन् । त्यतिबेला उनका मामा पञ्चायती व्यवस्थाका विरोधी थिए । उनी गुप्त रूपमा बहुदलवादी नेताहरूसँग भेटघाट गर्थे । जनतालाई बहुदलप्रति लामबद्ध हुन प्रशिक्षण दिन्थे । उनले कैयौं पटक राजा र व्यवस्थाको विरोधमा भाषण गर्ने गर्थे । एक दिन दोभानचौरको जात्रामा उनले राजा विरोधी भाषण गरेका थिए । त्यसको भोलीपल्ट उनलाई सादा पोशाकका प्रहरी पक्रन आए । उनीहरूले सोताङ स्वस्थ्य चौकीका राजेन्द्र राउतलाई पक्रिएर लिए । उनी त्यहीँबाट बेपत्ता पारिए । सुधाका मामासँग उसको नाम थर मिल्ने भएकाले स्वास्थ्यकर्मीलाई पक्रेको घटना उनको मानसपटलमा ताजा भएर आयो ।
यी दुवै घटना सुधाले आफै भोगेका सजीव अनुभूति थिए । सुधा देशको यस्तो अव्यवस्थाप्रति ज्यादै क्रोधित भइन् । उनी जस्ता मानिसको मानसिक पीडाको क्षतिपूर्ति कसरी हुन्छ ? के विद्रोहीले गर्न सक्छ वा सरकारले ? यही कुराले उनको मन कुड्यायो । साँचो कुरा सधैं साँचो नै हुन्छ । अस्तव्यस्त राज्य व्यवस्था र विवेकहीन शासक भएको मुलुकमा जनताले भोग्ने नियति यस्तै हुन्छ । जनताप्रति कोही जिम्मेवार देखिँदैन । पञ्चायत कालमा घटेका घटना बहुदलीय शासन व्यवस्था फेरिँदा पनि किन उस्तै देखिन्छन् ? वर्तमान विश्वको उत्कृष्ट भनिएको शासन व्यवस्था सञ्चालन गर्ने जनप्रतिनिधि ठीक भनन् कि ? अहिले पनि किन उस्तै घटना दोहोरिइरहन्छन् ? यस्तो परिवेशबाट जनता निराश छन् । सुधाले सोचिन् यदि अब देशमा सुशासन स्थापना भएछ भने पनि त्यो संयोग नै हुनेछ । उनले गहभरी आँसु बनाउँदै आँगनमा आइपुगेका पतिलाई निराश मुद्रामा देखिन् ।
-यामलाल घिमिरे
प्रकाशित मितिः २८ श्रावण २०७९, शनिबार ०५:०४
यामलाल घिमिरे ।