नियती

 

नेपाली राजनीतिमा पञ्चायतकालदेखिका एउटा बदनाम पात्र थिए सूर्यबहादुर थापा । सत्ता गठबन्धनमा कांग्रेस र कम्युनिष्टको बुइ चढेर घरी–घरी प्रधानमन्त्री पद फुत्काइरहन्थे । थापाको देहान्त भइसक्यो, सम्झनलायक गतिलो एउटा काम नेपाली समाजमा उनले छोड्न सकेनन् । वर्तमान राजनीतिमा फेरि थापाकै प्रवृति दोहोरिँदै आएको छ । १० वर्ष जनयुद्ध गरेर १७ हजार जनताको बलिदानले क्रान्तिको रापतापबाट उदाए पनि अन्तमा संसदीय व्यवस्था स्वीकार गरी स्वादमा चुर्लुम्म डुबेका माओवादीका आजीवन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनै सूर्यबहादुरको अनुशरण गर्दै गएका छन् । राजनीतिमा निष्ठाको अत्यन्त अनिकाल परेका प्रचण्डलाई एउटा पार्टीसँग सत्तामा साझेदार हुँदाहुँदै निजी स्वार्थको ठूलो भाग आँखामा प¥यो भने दायाँबायाँ नसोचेर अर्को पार्टीमा हाम फाल्न नैतिकताले कतैबाट छेक्दैन । पार्टी भाँडमा जाओस कि लाज सरम हराओस् ।

नयाँ संविधान जारी भएपछि सर्त बमोजिम नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग आलोपालो सरकार चलाइरहेका दाहालले पहिलो पटकको स्थानीय निर्वाचनमा आफ्नो मत परिणाम सन्तोषजनक नपाएपछि नजिकिँदै गरेको प्रदेश तथा संघीय निर्वाचनमा आफ्नो हैसियत जोगाउन देउवालाई सुईंको नदिइ एमालेसँग हात मिलाउन पुगे । एकरात रघुवीर महासेठको घरमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटी माओवादीको ४० र एमालेको ६० प्रतिशत हुने गरि उम्मेद्वारी दिने सहमति गरे । प्राप्त मत परिणामले एमालेलाई ६१ तिर उकाल्यो भने माओवादीलाई ३९ प्रतिशततिर ओराल्यो । पार्टी एकीकरण भएपछि संसारमा कतै नभएको ताजुब रमिता देखियो एउटा पार्टीमा दुई जना अध्यक्ष । यो दीर्घजिवी हुँदैन भनेर यही रमिताले प्रष्ट देखाइसकेको थियो । पार्टी एकीकरणको व्यवस्थापन गर्नुपर्ने महत्वपूर्ण कार्यलाई थाती राखियो । समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने भन्ने बुँदासहित पाँच बुँदे गोप्य तमसुक किनारामा साँक्षी राखि भित्री रूपमै गरिएको रहेछ । वास्तवमा प्रधानमन्त्री बन्ने महŒवाकांक्षा बोकेको त्यही तमसुक नै बिग्रहको बीउ थियो । यसैकारण संसद् भंग गरियो, आन्दोलनको जात्रा भयो, गाली गलौजको संसकृति मौलायो, जुटेको पार्टी फुटेर आ–आफ्नो भयो । पार्टी फेर्ने मौसम आयो । खिचातानी हुँदाहुँदै अन्तमा अदालतले ओलीलाई बालुवाटारबाट निकालेर देउवालाई हुल्यो । भोकानाङ्गाहरू सत्तामा चढे, बाँडिचुँडि खाने थुपार्ने रजाईं चल्यो । कार्यकर्ताको भावना कुल्चेर पाँच दलीय गठबन्धनको गाँठो कसियो र स्थानीय निर्वाचन सम्पन्न भयो । निर्वाचन परिणामले कांग्रेसलाई पहिलो, एमालेलाई दोस्रो र माओवादीलाई तेस्रो पार्टी बनाईदियो स्थानीय तहमा ।

भारतीय जनता पार्टीको एउटा निम्तो पाएपछि आशीर्वाद लिन हौसिएर भारत पुगेका दाहाल त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको दर्शन भेट नपाएपछि तनाव बोकेर फर्कनुको पीडाले अर्को चाल चल्न थाले । राजनीतिले फेरी गठबन्धनको मादल ठोक्यो । कुण्डकुण्ड पानी मुण्डमुण्ड विचार भने झैं कुनै मुण्डले सबै वामपन्थीको गठबन्धन हुन्छ भने, कुनैले वामपन्थी गठबन्धन नभए पनी समाजवादी गठबन्धन पक्का हुन्छ भने । मनोगत ढंगले बोलिएका विचारमा समानता र एकरूपता कतै भेटिँदैन । उता समाजवादी पार्टीबाट निकालिएपछि घर न घाट भएका बाबुराम भट्टराईलाई पटक–पटक भेटेर फकाउन अथक प्रयाश गरे दाहालले । गठबन्धनको आकार ठूलो पारेर कांग्रेससँग बलियो मोलतोल गर्ने उनको दाउपेच थाहा पाइसकेका भट्टराईले उनलाई पटक्कै टेरेनन् । बाबुरामको नाम भजाएर आफ्नो राजनीतिक दायरा फराकिलो र गतिशिल बनाउने उनको सपनामा असिना बर्सियो । ‘बैद्य बाबुराम र विप्लवसँग भित्री कुरा भैरहेको छ पार्टी एक ढिक्का भएर जान्छ’ भनि विगतमा दाहालले सयौँ चोटी बोलेको अभिव्यक्ती हो यो, जो कहिल्यै कतै सत्य थिएन । किनकी यो अभिव्यक्ती माथि बैद्यको टिप्पणी थियो ‘नाक नभएको नकचरो ।’ बाबुरामको आक्रोश थियो, ‘नयाँ ठाउँमा जाने कुरा गर्नुस् पुरानो ठाउँमा फर्किने होइन ।’ आहुतिको विचारमा दाहालको त्यो विक्षिप्त भनाइ हो । मुमाराम खनालको विचारमा कार्यकर्तामा पहिरो नजाओस् भनि भ्रम छरिएको हो । पछिल्लो पटक कुनै समारोहमा दाहाल आफैले किरणको काम छैन, विप्लवको अर्थ छैन, बाबुराम त माओवादी नै होइनन् भनी सार्वजनिक रूपमा बोलेर आक्रोश पोखेपछि बाँकी केही रहेन सबै छर्लङ्ग भयो । फेरी पनि भट्टराइलाई चास्नीमा डुबाइ आफ्नो पल्ला भारी पार्न उनी प्रयत्नशील छन् ।

गठबन्धन भित्र उपगुट बनाउने विकल्प सकिएपछि मोलतोलका लागि कांग्रेससँग घुँडा धस्न थाले । मुखै फोरेर प्रधानमन्त्री पद आलोपालो चाहिन्छ मात्र भनेनन् माओवादी दोस्रो पार्टी नभए ठिक नहुने भनेर कांग्रेसलाई धम्की पनि दिन भ्याए । संघीय निर्वाचनमा प्रत्यक्षतर्फ एक सय ६५ सीट संख्या मध्ये एक सय सीट आफ्नो सुरक्षित राखी ६५ अन्य गठबन्धनका लागी भाग बिलो छुट्याउने भनी कांग्रेस केन्द्रीय समितिले निर्णय गरेको छ सायद । गठबन्धनमा अरु पार्टी पनि गाँसिन आएपछि कांग्रेस ९० सीटमा ओर्लन सक्ने भनि मिडियाबाट खबर प्रकाशन भइरहेको छ ।

राजनीति सम्भावनाको खेल भनेर स्वार्थानुकूल व्याख्या गरिएको थियो । आलोपालोमा फेरी पनि इमान्दारी नहुन सक्छ, चुनावी परिणाम सोचेभन्दा विपरित पनि आइदिन सक्छ, संयुक्त सरकार निर्माण गर्ने परिस्थिती पनि हुनसक्छ । सकरात्मक नकरात्मक दुवै प्रभाव सम्भावनाभित्र अटाउँछन् ।

साना घटकहरू भलै पार्टीको अस्तित्व जोगाउन र बढाउन गठबन्धनमा अल्झेका हुनन्, तर कांग्रेस र माओवादीका पार्टी प्रमुखहरू पार्टीको नाम भजाएर आफ्नो स्वार्थको रोटी सेक्न गठबन्धनमा कसिएका हुन् भन्ने कुरा सबै पार्टीका सबै नेता कार्यकर्तालाई प्रष्ट जानकारी छ । त्यसैले गठबन्धनको गर्तमा देश छैन स्वार्थ छ । द्रव्यवादले चुनाव नजिति नछोड्ने नीति लिए त समयले के गर्छ त्यो छुट्टै कुरा रह्यो, नत्र भने परिस्थिती र परिणाम स्थानीय निर्वाचनको भन्दा फरक पनि हुन सक्छ । किनकी स्थानीय निर्वाचन र संघीय निर्वनचनको प्रकृति र महत्व फरक हुन्छ । कसैको चित्त बुझे पनि र कसैको दुखे पनि प्रत्यक्षतर्फको सीट बाँडफाँडमा एउटा साझा समझदारी बन्न सक्ला । तर समानुपातिक निर्वाचन तर्फ एक सय १० सीटको बाँडफाँड कसरी हुन सक्ला, जो व्यक्तीलाई होइन पार्टीलाई मतदान गरिन्छ । समानुपातिक निर्वाचनमा दुनियाँलाई देखाउन महिला, दलित, आदिवासी, जनजाति, खस आर्य, थारु, मधेशी, मुस्लिम पिछडा क्षेत्र समेतबाट बन्द सूचिका आधारमा प्रतिनिधित्व गराउने भनि संविधानमा उल्लेख गरेता पनि व्यवहारमा आफ्नी स्वास्नी साला साली र नातागोतालाई राजनीतिमा हुलेर राज्यको ढुकुटीबाट सेवा सुविधा दिने परिपाटी हो यो प्रणाली । त्यसकारण समानुपातिक तर्फको सीट बाँडफाँड गर्न त्यति सजिलो पनि देखिदैन ।

यहाँ गठबन्धनले एमालेलाई मात्र ठूलो सत्रुको रूपमा हेरिरहेको छ, राप्रपालाई कुनै गन्तिमन्ती लगाएको छैन, जो नयाँ नेतृत्व पछि नयाँ शक्तीका रूपमा उदाइरहेको छ । देशमा योग्य स्वतन्त्र उमेद्वारको माग बढिरहेको छ र जनता पनि त्यतातिर निकै आकर्षित भइरहेका छन् भन्ने कुरा प्रष्ट रूपमा स्थानीय निकायको चुनावी परिणामले पनि देखाइ सकेको छ ।

बहालवाला र भूतपूर्व गरेर गठबन्धनसँग चारजना प्रधानमन्त्री छन् । गठबन्धनमा ठूला पार्टीका दुई जना प्रधानमन्त्रीले मात्र आलोपालो सरकारको नेतृत्व लिने भए बाँकी दुई जना प्रधानमन्त्रीले उनीहरूका लागि ताली मात्र बजाउलान कि सर्त पनि खोजलान् त्यो समयले निक्र्यौल गरिदेला । दाहालले आफ्नो समर्थन बिना कसैको सरकार बन्ने स्थिती निर्माण नहोस् भन्ने चाहना राखि सोही बमोजिमको गतिविधि बढाइरहेका छन् । गठबन्धनभित्रै चुनावी परिणाम सोचे जस्तो आएन र माओवादीभन्दा अन्य घटकको आकार बढेर तेस्रो राजनीतिक शक्ती भयो भने आलोपालो सर्त कायमै रहला की अन्यत्रै सर्ला ? सायद यो प्रश्नले पनि भित्रभित्रै कोपरीरहेको होला दाहाललाई । राजनीति सम्भावनाको खेल भनेर स्वार्थानुकूल व्याख्या गरिएको थियो । आलोपालोमा फेरी पनि इमान्दारी नहुन सक्छ, चुनावी परिणाम सोचेभन्दा विपरित पनि आइदिन सक्छ, संयुक्त सरकार निर्माण गर्ने परिस्थिती पनि हुनसक्छ । सकरात्मक नकरात्मक दुवै प्रभाव सम्भावनाभित्र अटाउँछन् । राजनीतिमा जय पराजय दुवै परिस्थितीलाई आत्मसात गर्न सक्नुपर्छ । वास्तवमा प्रधानमन्त्री पद र कुर्सीको महत्वाकांक्षाकै कारण देश बर्बाद भएको कुरा कसैसँग लुकेको छैन । सूर्यबहादुर थापाकै पाइला पछ्याउने प्रवृत्तिले देश अगाडी बढ्न सक्दैन । नियति बदल्ने कि पुरानै व्यहोर्ने जनताले निर्णय गर्नुपर्ने बेला आइरहेको छ ।

-उमालाल आचार्य

प्रकाशित मितिः   २८ श्रावण २०७९, शनिबार ०५:०६