छानबिनको घेरामा एमयू
सुर्खेत: मध्यपश्चिम विश्वविद्यालयमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । विभिन्न विषयसँग सम्बन्धित उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो ।
छानबिनका लागि विश्वविद्यालयका कागजात अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरूद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरू नियन्त्रणमा लिएको हो । विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ ।
‘नियुक्ति प्रक्रिया, छात्रवृत्तिलगायतका विषयमा उजुरी परेको थियो,’ आयोगको सुर्खेत कार्यालयका प्रमुख भोला दाहालले भने, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया सुरु भइसकेको अवस्थामा आवश्यक कागजात विश्वविद्यालयको केन्द्रीय कार्यालयलगायतका कार्यालयमा पुगेर नियन्त्रणमा लिएका हौं ।’
अनुसन्धानसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको तर अख्तियारले छापा नहानेको आयोगका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनले भने, ‘अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।’
प्रकाशित मितिः २८ श्रावण २०७९, शनिबार ०५:०३
साझा बिसौनी ।