मन्त्रिपरिषद् समावेशी नहुँदा रोकियो मन्त्रीको सपथ

सुर्खेत: कर्णाली प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरेका एक प्रदेशसभा सदस्यको सपथ रोकिएको छ । मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालत सुर्खेतले पत्र लेखेपछि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त वीरबहादुर शाहीको सपथ नभएको हो । नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाही बिहीवार मन्त्री नियुक्त भएका थिए । शाहीले शुक्रवार सपथ लिने तयारी थियो ।

माओवादी केन्द्रका कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक कृष्णा शाहले अदालतको पत्र आएपछि शुक्रवारका लागि तय भएको सपथको कार्यक्रम रोकिएको बताइन् । उच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपु¥याएको भन्दै पत्र लेखेको छ । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै नवनियुक्त मन्त्री शाहीको सपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए । तर, उच्च अदालतले मन्त्रिपरिषद् समावेशी नभएको भन्दै पत्र लेखेपछि सपथ रोकिएको हो ।

उच्च अदालतले प्रदेश प्रमुखको कार्यालयलाई ध्यानाकर्षण गराएको पत्रमा भनिएको छ, ‘मन्त्रिपरिषद् गठन गर्दा संविधानको मर्म र भावना मुताविक समावेशीतालाई ख्याल गरेको प्रदेश प्रमुख र मुख्यमन्त्रीले समुचित ध्यान दिएको तथा संवेदनशील भएको देखिएको छैन ।’ नेपालको संविधानको प्रस्तावलाई समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प उल्लेख भएकाले समावेशी सिद्धान्तका आधारमा मन्त्रिपरिषद् गठन गर्नुपर्ने संवैधानिक व्यवस्था संविधानको १६८ (९) मा उल्लेख भएको अदालतको पत्रमा भनिएको छ । कर्णालीको मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्व नभएपछि गत वर्ष अधिवक्ता शेरबहादुर खत्रीले सरकारले समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा मन्त्रिपरिषद्को गठन नगरेको भन्दै रिट दायर गरेका थिए । सोही रिट उपर मन्त्रिपरिषद् पुनर्गठन गर्दा समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्नु भन्दै सरकारका नाममा आदेश जारी भएको हो ।

प्रकाशित मितिः   २८ श्रावण २०७९, शनिबार ०५:०२