गुराँसमा सामाजिक सुरक्षा भत्ता घरदैलोमै

दैलेख: दैलेखको गुराँस गाउँपालिकाले लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता बुझ्ने सहज बनाएको छ । यसअघि बैंकमार्फत मात्रै भत्ता दिने व्यवस्था रहेकोमा अहिले टोल–टोल र घरदैलोमै वितरणको प्रबन्ध मिलाइएको हो । ज्येष्ठ तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षा भत्ता लिन सहज होस भन्ने उद्देश्यले बैंकसँगको समन्वयमा घरदैलोमै सेवा पु¥याइएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ८ का अध्यक्ष दीपेन्द्र ओलीले बताए । ओलीका अनुसार बैंकमार्फत् सामाजिक सुरक्षा भत्ता हस्तान्तरण गर्ने नेपाल सरकारको नीति भएकोमा पालिकाले बैंकको चाप, भौगोलिक विकटता, मौसम र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी वडास्तरमै भत्ता दिने व्यवस्था गरेको हो । अहिले आफ्नै घर आँगनमा सामाजिक सुरक्षा भत्ता बुझ्न पाएको भन्दै गुराँस–८ का ज्येष्ठ नागरिक लालबहादुर गैरेले खुसी व्यक्त गरे । ‘बैक टाढा हुँदा भत्ता लिन जान एक दिन पुरै लाग्थ्यो, बैंकमा लाइन लाग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘यसपालि गाउँमै भत्ता बुझ्न पाइयो । मजस्ता ज्येष्ठ नागरिकलाई निकै सुबिस्ता भयो ।’

सुदूरपश्चिम प्रदेशको अछामदेखि कर्णालीको जाजरकोट र सुर्खेतको सीमासम्म जोडिएको गुराँस गाउँपालिकाको केन्द्र (बैंक भएको स्थान) रानीमत्ता पुग्न ज्येष्ठ नागरिकलाई कठिनाइ हुने गरेको थियो । हाल ज्येष्ठ नागरिकहरूले वडाका जनप्रतिनिधि र कर्मचारीलाई मञ्जुरीनामा दिएपछि बैंकसँगको सहकार्यमा गाउँमै रकम भुक्तानी गरिएको हो । बैंकको घुम्ति शिविरमार्फत् वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गरेकोमा बैंकको तयारी नपुगेकोले सबै वडा कार्यालयमार्फत् वितरण सहज बनाइएको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले जनाए । प्रभु बैंकको प्रदेश कार्यालय सुर्खेतले गुराँसमा घुम्ती शिविर सञ्चालनका लागि व्यवस्थापकीय काम पनि सुरु गरेको बताइएको छ ।

प्रकाशित मितिः   २८ श्रावण २०७९, शनिबार ०५:०१