योजना कार्यान्वयनमा ध्यान देऊ
योजनाहरू सुरुवात हुने तर समयमै सम्पन्न नहुने र लामो समयसम्म अलपत्र रहने विडम्बना विगतदेखिकै हो । यसले निरन्तरता पाइरहेको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा निर्माण थालिएका दर्जनौं विकास आयोजना लथालिङ्ग अवस्थामा छन् । पालिकामा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका भौतिक संरचना निर्माणका काम अलपत्र भएका हुन् । निर्माणाधिन ३५ वटा विकास आयोजनाको काम लामो समयदेखि अधुरै छ । अधिकांश वडामा खानेपानी समस्या रहेको चौकुनेमा निर्माण थालिएका खानेपानीका संरचना निर्माणमा पनि लापरबाही भइरहेको छ । निर्माण सम्झौता अवधि पूरा भइसक्दा समेत कतिपय योजना अुधरो अवस्थामै छन् । अलपत्र अवस्थामा रहेका त्यस्ता योजनामध्ये संघ, प्रदेश र स्थानीय सरकार तथा केही सामाजिक अभियानमार्फत सुरु गरिएका थिए ।
निर्माण थालिएका योजना अलपत्र हुनुमा विभिन्न कारण छन् । विशेष गरेर बजेट अभाव र निर्माण व्यवसायीहरूको लापरबाही जस्ता कारणले निर्माण थालिका योजना पूरा हुन नसकेको देखिन्छ । बजेट अभावसँगै सरोकारवालाको बेवास्तासमेत देखिएको छ । विगतमा निर्माणसँग सम्बन्धित पक्षले चासो नदिँदा संघ र प्रदेश सरकारले विनियोजन गरेको बजेट फ्रिज हुने र योजनाको काम अघि नबढ्ने अवस्था देखिएको थियो । निर्माणाधिन योजनाका लागि गएका दुई आर्थिक वर्षमा मात्रै पालिकामा आएको लाखौँ रकम खर्च नभइ फिर्ता गएको छ । चौकुनेमा खानेपानी, सिँचाइ, स्वास्थ्यचौकी, वडा कार्यालय र शैक्षिक संस्थाका भवनहरू निर्माण नगरि अलपत्र पारिएका हुन् । पालिकामा डेढ दर्जनभन्दा बढी विद्यालयका भवन मात्रै अलपत्र अवस्थामा छन् । चौकुनेको तोस्रास्थित जनजागृति माध्यमिक विद्यालयको निर्माणाधिन भवन दुुई वर्षदेखि अधुरै छ । त्यहाँ सिभिल इन्जिनियरिङको तीन वर्षे डिप्लोमा कार्यक्रम सञ्चालनका लागि भवन निर्माण थालिएको थियो । चार कोठे उक्त भवनको संरचना निर्माणको कामले अझै पूर्णता पाएको छैन । कर्णाली प्रदेश सरकारको २० लाख बजेटबाट भवन निर्माणको काम सुरु गरिएकोमा निर्माणमा ढिलाई हुँदा १६ लाख बजेट फ्रिज गएको थियो । यो त एक उदाहरण हो । पालिकाभरी थुप्रै सामुदायिक विद्यालयका भौतिक संरचना निर्माणमा ढिलाइ भएको छ । कतै बजेट अभाव र केहीमा सरोकारवालाको हेलचक्य्राँइले कामको प्रगति हुन नसकेको स्थानीयहरू बताउँछन् ।
चौकुनेमा निर्माण अधुरो रहेका योजना मात्रै छैनन् यहाँ निर्माण सम्पन्न भएको वर्षाैंसम्म प्रयोग नआएका भौतिक संरचनाहरू पनि छन् । बनेको धेरै समयसम्म प्रयोग नभएपछि त्यस्ता संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । यसरी विकास आयोजना अलपत्र रहने अवस्थाको अन्त्य गर्न सम्बन्धित सबैले ध्यान दिन जरुरी छ । योजना सम्पन्न नभइ विकासले पूर्णता पाउँदैन । विकासले पूर्णता नपाई समृद्धि हासिल हुन सक्दैन ।
प्रकाशित मितिः २७ श्रावण २०७९, शुक्रबार ०५:०३
सम्पादकीय ।