संक्रमण बढेपछि सतर्कता बढाइँदै

सुर्खेत: कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि कर्णाली प्रदेशमा आवश्यक सतर्कता अपनाउन थालिएको छ । कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गठित प्रदेशस्तरीय निर्देशक समितिले सतर्कताका लागि पहल थालेको हो ।

बिहीवार समितिका संयोजक एवम् मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले संक्रमण रोकथाम र उपचारका लागि आवश्यक काम अघि बढाउन विभिन्न निर्णय गरेको छ । समितिले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गराउने भएको छ ।

त्यसैगरी संक्रमणको शंकास्पद व्यक्तिहरूलाई प्रयोगशालामा परीक्षण गर्ने तथा उपचारका लागि सामाजिक विकास मन्त्रालयमार्फत प्रशासन, स्थानीय सरकारलगायतलाई परिचालन गरिने छ । तत्कालका लागि सचेतनामूलक गतिविधि सञ्चालन गर्नेतर्फ समितिले जोड दिएको छ ।

त्यसबाहेक विभिन्न चाडपर्वहरू नजिकै आएकाले यो समयमा हुनेसक्ने भिडभाड र त्यसले निम्त्याउने जोखिम न्यूनिकरण गर्नका लागि अनुगमनलाई तीव्रता दिइने भएको छ । भिडभाड नगर्न र स्वास्थ्य मापदण्ड पालना गराउनका लागि निरन्तर अनुगमन गरिने भएको हो ।

गम्भिर प्रकृतिका संक्रमितको उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा विशेष तयारी गर्ने निर्णय समितिले गरेको छ । यसका साथै प्रदेशका अन्य जिल्ला अस्पताल, आधारभूत अस्पताललगायतका स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति, उपकरण, औषधि र पूर्वाधार व्यवस्थापन गर्न निर्देशन दिइएको छ । कोरोनाका गम्भिर बिरामीहरूको ओसारपसारका लागि आवश्यक एम्बुलेन्स व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी कोरोनाविरुद्धको खोपको दर र दायरा बढाइने भएको छ । यसको व्यवस्थापनका लागि स्थानीय सरकार, जिल्ला प्रशासन लगायत निकायहरूलाई निर्देशन दिइएको छ । पछिल्लो समय कोरोना संक्रमणको दर बढ्न थालेपछि यसविरुद्ध सतर्कता थालिएको हो ।

प्रकाशित मितिः   २७ श्रावण २०७९, शुक्रबार ०५:०२