कर्णालीमा किताबकै पिरलो

पाठ्यपुस्तक नै पाउँदैनन् कर्णालीका विद्यार्थी, सरोकारवाला निकाय बेखबर, नयाँ शैक्षिक सत्रका तीन महिना बितिसक्दा हजारौं विद्यार्थीका हात खाली

सुर्खेत: कर्णालीमा विद्यालय तहका विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाउने समस्या पुरानै हो । यसपटक पनि उही कहर दोहोरिएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको झन्डै तीन महिना बित्यो । तर, भर्ना भएर विद्यालय गए पनि यो अवधिसम्म हजारौं विद्यार्थीका हात खाली छन् । उनीहरूले पढ्नका लागि किताब नपाएका हुन् । प्रदेशभरका धेरै सामुदायिक विद्यालयले किताब अभाव झेलिरहेका छन् । कर्णाली प्रदेशको राजधानीमै सञ्चालित विद्यालयका विद्यार्थीसमेत पाठ्यपुस्तकको पर्खाइमा छन् । वीरेन्द्रनगर नगरपालिकाका सामुुदायिक विद्यालयले पर्याप्त पाठ्यपुुस्तक पाएका छैनन् । प्रदेशका दुर्गम जिल्लाहरूको अवस्था उस्तै छ । वीरेन्द्रनगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीले किताब नपाएको बताइएको छ । ‘बालबालिकाले अहिलेसम्म सबै विषयका पाठ्यपुुस्तक पाएको अवस्था छैन,’ शिक्षक यामलाल घिमिरे भन्छन्, ‘किताब ढुवानीका लागि पुस्तक व्यवसायीहरूलाई जिम्मा दिएको छ । अहिलेसम्म सबै किताब आइपुगेका छैनन् ।’ पाठ्यपुुस्तक पर्याप्त मात्रामा उपलब्ध नहुँदा बालबालिकाको पढाइ नै प्रभावित बनेको उनी बताउँछन् । उक्त विद्यालयमा ६, ८ र ९ कक्षाको पाठ्यपुुस्तक आधा विद्यार्थीको हातमा मात्रै परेको छ ।

पाठ्यपुस्तक नै पाउँदैनन् कर्णालीका विद्यार्थी

वीरेन्द्रनगरकै अमरज्योति नमूना माध्यमिक विद्यालयका विद्यार्थीको पनि उही पिरलो छ । विद्यालय भर्ना भएको महिनौसम्म किताब हातमा परेका छैनन् । पाठ्यपुस्तकको छपाइ र ढुवानीमा लापरबाही गरिदा बालबालिकाको पढाइमा ठूलो असर परिरहेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले बताए । ‘सबै विषयका पाठ्यपुस्तक छैनन् । पाठ्यक्रमका आधारमा पठनपाठन गरिरहेको अवस्था छ,’ उनले भने, ‘शिक्षकले बोर्डमा लेखेका भरमा विद्यार्थी अध्ययन गर्न बाध्य छन् ।’ वीरेन्द्रनगरका यी दुवै विद्यालय अत्याधिक विद्यार्थीको चाप हुने विद्यालयमध्ये पर्छन् । वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमको किताब ‘हाम्रो वीरेन्द्रनगर’ समेत ती विद्यालयमा उपलब्ध नभएको जनाइएको छ ।

सरोकारवाला निकाय बेखबर

सुर्खेतसहित दैलेख, जाजरकोटलगायतका जिल्लामा पाठ्यपुस्तकको निकै अभाव छ । दैलेखको दुुल्लूू नगरपालिकामा रहेको पञ्चकोशी माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीले पाठ्यपुुस्तक नपाएको प्रधानाध्यापक शिवराज खड्काले बताए । बालबालिकाको हातमा किताब नभएपछि गृहकार्य दिन नै समस्या भइरहेको उनको भनाइ छ । ‘विद्यालयमा सुुनेको भरमा पठनपाठन गर्दा सिकाइ प्रभावकारी भएको छैन,’ उनले भने । पाठ्यपुस्तकको चरम अभाव भइरहे पनि सरोकारवाला निकायले बेवास्ता गरेको विद्यालय र अभिभावकहरूको गुनासो छ । किताब आपूर्तिका लागि स्थानीय र प्रदेश सरकारले कुनै पहल नथालेको शिक्षकहरू बताउँछन् ।

गोदाममै छैनन् पर्याप्त किताब

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक पठाउन नसकेको जनाएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार थान पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले कक्षा ८ को नेपाली, सामाजिक, विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षालगायतका विषयको अलि बढी नै अभाव रहेको जनाए । छपाइमा ढिलाइ हुँदा यसवर्ष पनि कर्णालीका विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको उनले बताए । केन्द्रको प्रादेशिक गोदाम वीरेन्द्रनगरमा अहिले केही थान पुस्तकहरू छन् । तर, आवश्यकताभन्दा निकै कम भएकाले वितरण नगरिएको बताइएको छ । सामुदायिक विद्यालयका कक्षा ६÷८ का विद्यार्थीका पुस्तक पर्याप्त नभएको कार्यालयको भनाइ छ । पुस्तक आपूर्ति नहुँदा वितरणमा कठिनाइ भइरहेको प्रादेशिक कार्यालय प्रमुख थापा बताउँछन् । ‘अबको एक सातामा सबै कक्षा र विषयका पुस्तक उपलब्ध गराउने गरी समन्वय भइरहेको छ,’ उनले भने ।

व्यवसायीको अडानले किताब थन्किए

पुस्तक व्यवसायीहरूले १५ दिनभित्र अपुग पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्रको वीरेन्द्रनगरस्थित प्रादेशिक कार्यालयसँग माग गरेका छन् । पूरै सेट पाएपछि मात्रै खरिद गर्ने पुस्तक व्यवसायीको अडानका कारण भएका किताबसमेत गोदाममै थन्किएका छन् । पाठ्यपुस्तक उपलब्ध गराउन नेपाल पुुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, उद्योग वाणिज्य संघ र प्रादेशिक कार्यालयबीच पछिल्लो पटक तीन बुँदे सहमति गरिएको छ । जनक शिक्षा सामग्रीले पाठ्यपुस्तक वितरणमा उचित व्यवस्थापन गर्न नसकेको व्यवसायीको आरोप छ । पुस्तक व्यवसायीका छाता संस्थाहरूसँगको सहकार्य र समन्वयमा समानुपातिक रूपमा किताब वितरण गर्नुपर्ने माग व्यवसायीले राखेका छन् । हाल गोदाममा रहेका पुस्तकसमेत अपर्याप्त भएको भन्दै थप पुुस्तक उपलब्ध नहुँदासम्म वितरण नगर्ने सहमति गरिएको छ ।

७१ हजार थान पाठ्यपुस्तक मौज्दात

जनक शिक्षाका अनुसार कर्णालीमा हालसम्म कक्षा ४ देखि १० सम्मका १४ लाख एक हजार सात सय ८९ थानमध्ये १३ लाख २९ हजार एक सय ४१ थान किताब वितरण गरिएको छ । ७१ हजार ६ सय ३८ थान पाठ्यपुस्तक भने गोदाममा मौज्दात छन् । गोदाममा मौज्दात रहेका किताबमध्ये कतिपय च्यातिएका, पानीले भिजेका र अधुरा सेटसमेत रहेको जनाइएको छ । कर्णालीका हिमाली जिल्लामा फागुन र पहाडी जिल्लामा जेठदेखि नयाँ शैक्षिक सत्र सुरु हुन्छ । अर्धवार्षिक परीक्षाको समय नजिकिँदै गर्दा अझै पुस्तक नपाएकोमा विद्यार्थी र उनीहरूका अभिभावक निराश बनेका छन् । नयाँ किताब नपाएपछि कतिपय विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पठनपाठन थालेका छन् । जनक शिक्षाले पहिलो चरणमा दुर्गम एवम् हिमाली जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री वितरण गरेको जनाएको छ । जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पामा मागअनुसार नै सबै विषयका पाठ्यपुस्तक पठाइएको दाबी प्रादेशिक कार्यालयको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले हुम्ला, सल्यान र रुकुम–पश्चिममा नेपालगञ्ज गोदामबाटै ढुवानीको व्यवस्था मिलाइएको जनाए । सुर्खेत, दैलेख र जाजरकोटका लागि भने वीरेन्द्रनगर गोदामबाटै किताब वितरण गरिने उनले बताए ।

प्रकाशित मितिः   २७ श्रावण २०७९, शुक्रबार ०५:०५