नेतृत्वमा युवा

नेतृत्वमा युवा सहभागिताको सवाल बेलाबेलामा चर्को स्वरमा उठ्ने गर्दछ । अझ निर्वाचनको सम्मुखमा यो विषय सार्वजनिक बहसमा छाउँछ । राज्यका सबै निकायमा युवाहरूको प्रतिनिधित्व हुनुपर्ने वा बढाउनुपर्ने माग गरिन्छ । राजनीतिक होस् या अन्य सबै परिवर्तनहरूमा युवाहरूको सहभागिता, भूमिका र योगदान सधैंँ उच्चस्तरको हुन्छ । तर नेतृत्व गर्ने वा लाभ पाउनेबेलामा भने बेवास्तामा पारिन्छ । यो विगतको अनुभव हो । यद्यपि पछिल्लो समय युवा पंक्तिको हस्तक्षेप बढ्दै गएको छ । सहभागिता बढेको छ । यति हुँदाहुँदै पनि राज्यको विभेदकारी नीतिका कारण हरेक निकायमा युवाहरूलाई नेतृत्वदायी भूमिकामा जान कठिनाइ भइरहेको गुनासो सुनिने गरेको छ ।

सरकारका नीति र लक्षित कार्यक्रमले युवाहरूलाई अघि बढाउनुको साटो प्रगतिमै बाधा पुगेको गुनासो कर्णालीका युवाहरूको छ । युवामैत्री नीति नहुँदा सामाजिक जिम्मेवारीदेखि राजनीतिक अवसरहरूबाट आफूहरू वञ्चित हुनु परिरहेको जिकिर युवाहरूले गरेका छन् । वीरेन्द्रनगरमा सोमवार आयोजित युवा नीति र कार्यक्रमको कार्यान्वयनको सवाल विषयक प्रदेशस्तरीय संवादमा युवाहरूले यस्तो असन्तुष्टि पोखेका हुन् । राजनीतिमा प्रतिनिधित्व सुनिश्चित नभएकै कारण क्षमतावान युवाहरू नेतृत्व तहमा पुग्न नसकेको, राजनीतिमा ४० वर्ष मुनिका युवाहरूले कमै अवसर पाइरहेको र यसको असर देखिन थालेको कार्यक्रमका सहभागिहरूको गुनासो थियो । युवाहरूको माग कस्तासम्म छन् भने संघ र प्रदेशमा युुवालाई चुुनावमा उम्मेदवार बन्न २५ वर्ष उमेर पुग्नैपर्ने व्यवस्थाले धेरै युवाहरू वञ्चित छन्, यस्तो व्यवस्थालाई घटाएर २१ मा पु¥याउनुपर्नेमा जोड दिइएको छ । उमेर हदका कारण नेतृत्वदायी भूमिकामा युुवा न्यून भएको उनीहरूको तर्क छ । अर्कोतर्फ नीति निर्माण गर्दा युवामैत्री हुन नसकेको चिन्ता पनि आजका तन्नेरीहरूमा देखिन्छ । युवाहरूलाई नेतृत्व गर्ने अवसर नदिँदा राजनीतिक व्यवस्था बदलिएपनि संस्कार बदलिन नसकेको र यसले गर्दा देशको समग्र विकासमा बाधा भएको निश्कर्ष आजका युवाको छ ।

युवा एक उमेर समूह मात्रै नभएर पुँजी हो । शक्ति हो । सामथ्र्य हो । यसको उपयोग गर्न सकेमा मात्रै मुलुकको विकास हुन सक्दछ । आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । त्यसैले पनि हरेक निकायमा नयाँ पुस्ताको प्रतिनिधित्वको विषय उठ्ने गरेको छ । चाहे त्यो राजनीति होस् या अन्य । खास गरेर नेपाली राजनीतिको शीर्ष तहमा दशकौंदेखि एउटै समूह र सीमित व्यक्ति छन् । नयाँले अवसर पाउन सकिरहेका छन् । पुरानो नेतृत्वबाट राजनीतिक परिवर्तन भएपनि त्यसलाई उपयोग गर्ने मुलुकको विकास हुन सकेको छैन । यस्तो परिस्थितिमा राजनीतिमा युवा सहभागिताको सवाल अझ पेचिलो बनेको छ ।

प्रकाशित मितिः   २५ श्रावण २०७९, बुधबार ०५:०३