ढकालका परिवारलाई बिमा रकम भुक्तानी

सुर्खेत: गएको स्थानीय तह निर्वाचन–२०७९ मा खटिएको समयमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी हृदयराम ढकालको बिमा रकम भुक्तानी गरिएको छ । वीरेन्द्रनगर–३ स्थित हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा खटिएका ढकालको वैशाख ३० गते साँझ मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । वीरेन्द्रनगर–११ का बासिन्दा ढकाल मतदान केन्द्रबाट घर फर्कने क्रममा वीरेन्द्रनगर–८ को कृष्ण मन्दिर टोल नजिकै दुर्घटनामा परेका थिए । निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनीसँग स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीहरूको लागि २० लाख रूपैयाँको दुर्घटना बीमा सम्झौता गरेको थियो । सोहीअनुसार प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र राष्ट्रिय बीमा कम्पनी शाखा सुर्खेतले मंगलवार एक कार्यक्रमकाबीच ढकालका परिवारलाई बिमा रकम हस्तान्तरण गरेका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल, उपप्रमुख निलकण्ठ खनाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसे, राष्ट्रिय बीमा कम्पनी शाखा सुर्खेतका प्रमुख शिवराज बिसीको उपस्थितिमा ढकालकी श्रीमती सुस्मा ढकाललाई २० लाख रूपैयाँको चेक हस्तान्तरण गरिएको हो । प्रदेश निर्वाचन अधिकारी चालिसेले स्थानीय तहको निर्वाचनमा खटिएको समयमा दुर्घटनामा परेर ज्यान गुमाएका ढकाललको परिवारलाई राहत स्वरूप बीमा रकम हस्तान्तरण गरिएको जनाए । रकम हस्तान्तरण कार्यक्रममा नगर प्रमुख ढकालले नगरपालिकाले एक राष्ट्रसेवक कर्मचारी गुमाउनुपरेको भन्दै बिमा रकमले परिवारको जीवननिर्वाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले नगरपालिकाको तर्फबाट पनि ढकालको परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

प्रकाशित मितिः   २५ श्रावण २०७९, बुधबार ०५:०३