दसैँलगत्तै उम्मेदवारी दर्ता
सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन तालिका स्वीकृत भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका क्रममा आइतवार स्वीकृत गरेको निर्वाचन कार्यतालिका अनुसार दसैँको टीका लगत्तै उम्मेदवारी दर्ता हुने भएको छ ।
असोज २३ गते आइतवार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुनेछ । उक्त दिन दसैँको कोजाग्रत पूर्णिमा पर्दछ । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दसैँपछि हुने भएता पनि समानुपातिक तर्फको बन्दसूचि भने दसैँअघि नै पेश गर्नुपर्ने छ । आयोगद्वारा स्वीकृत आन्तरिक तालिका अनुसार असोज २ र ३ गते दलहरूले समानुपातिकतर्फको बन्दसूचि पेस गर्नुपर्ने छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार असोज २३ गते उम्मेदवारी दर्ता गरिनेछ । भदौ २५ देखि निर्वाचन कार्यक्रम सञ्चालन गर्न लागेको आयोगले चुनाव सफल बनाउनका लागि दसैँका बेलामा पनि काम जारी राख्ने भएको छ । यसका लागि घटस्थापनाको भोलिपल्ट, अर्थात् असोज ११ गते निर्वाचन अधिकृतहरूको नियुक्ति गरिने छ भने टीकाको दुई दिनपछि असोज २१ गते निर्वाचन कार्यालय स्थापना गरिने स्वीकृत कार्यतालिकामा उल्लेख छ ।
दसैंसँगै जुधाएर कार्यतालिका आए पनि यो आन्तरिक तालिकालाई सामान्य फेरबदल गरेर मात्रै प्रकाशित गरिने आयोगका अधिकारी बताउँछन् ।
स्वीकृत आन्तरिक तालिका यस्तो छ:
प्रत्यक्षतर्फ:
- भदौ २५ः निर्वाचन कार्यक्रम सञ्चालन
- असोज ११ः निर्वाचन अधिकृतहरूको नियुक्ति
- असोज २१ः निर्वाचन कार्यालय स्थापना
- असोज २३ः उम्मेदवारी दर्ता
- असोज २८ देखि कार्तिक २५ गतेसम्मः मतपत्र छपाइ
- कार्तिक २७ः मतपत्र ढुवानी
- मंसिर १ः प्रचार प्रसार बन्द
- मंसिर ४ः बिहान ७ गतेदेखि साँझ ५ बजेसम्म मतदान ।
समानुपातिकतर्फ:
- भदौ १ः निर्वाचन कार्यक्रम सञ्चालन
- भदौ २०ः मतपत्र छपाइ सुरु
- असोज २ र ३ः बन्दसूची पेस गर्ने
- कार्तिक २७ः मतपत्र ढुवानी
- मंसिर १ः प्रचार प्रसारमा बन्द
- मंसिर ४ः बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान ।
साझा बिसौनी ।