पूर्वतयारी गर
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुनः बढेको छ । कर्णाली प्रदेशमा पनि संक्रमणदर दैनिक बढ्दो क्रममा देखिएको हो । केही महिना सेलाएको संक्रमणदर अहिले दैनिक ५० प्रतिशत हाराहारी पुगेको छ । परीक्षण गरिएकामध्ये ५० प्रतिशतमा कोरोना संक्रमण फेला पर्ने गरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । असारसम्म स्थिर रहेको संक्रमणदर साउन लागेयता ह्वातै बढेको निर्देशनालयको विवरणले देखाएको छ । साउनका तीन सातामा झन्डै एक सय जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण दर न्यून हुँदा पनि पछिल्लो समय संक्रमणदर बढेपछि नियन्त्रणमा चुनौती देखिएको छ ।
संक्रमणदर तीव्र बनिरहँदा सोहीअनुसारको नियन्त्रण तथा उपचारका उपायहरू भने अवलम्बन गरिएका छैनन् । जनशक्तिको अभावमा परीक्षणको दायरा बढाउनेदेखि उपचार सेवासमेत प्रभावित बनेको छ । संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि पर्याप्त जनशक्ति नै छैनन् । डोल्पा, मुगु र हुम्लामा विशेषज्ञ चिकित्सक छैनन् भने नर्सिङ तथा पारामेडिक्सहरूको प्रदेशभर नै अभाव छ । कर्णालीले हाल भौतिक पूर्वाधार र स्वास्थ्य उपकरणभन्दा बढी समस्या दक्ष तथा विशेषज्ञ जनशक्तिको झेल्दै आएको छ । दरबन्दीअनुसार जनशक्ति नभएपछि कोरोना महाहारीसँग जुध्न कठिनाइ भएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको विवरणअनुसार प्रदेशभर आठ सय ८७ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा हाल करिब तीन सय जनाको मात्रै पदपूर्ति भएको छ । एक सय ६३ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा २७ जना कार्यरत छन् ।
अहिले देखिएको संक्रमण कोरोनाको चौथो लहर हो । यो लहरमा जटिल प्रकृतिका बिरामी कमै भएपनि संक्रमण भने तीव्र रूपमा फैलिरहेको छ । बढ्दो संक्रमणदरलाई नियन्त्रण गर्न परीक्षणको दायरा बढाउन जरुरी छ । तर आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको कमीका कारण परीक्षण ल्याबहरू सञ्चालनमा आउन नसकेको देखिन्छ । कोरोना परीक्षणका लागि पीसीआर प्रयोगशाला सञ्चालनमा दक्ष जनशक्तिको आवश्यकता पर्छ । त्यस्तो जनशक्ति निकै न्यून रहेको जनाइएको छ । हाल प्रदेशभर सुर्खेतमा मात्रै पीसीआर परीक्षणको व्यवस्था छ । अन्य ठाउँमा रहेका प्रयोगशालाहरू अहिले सञ्चालनमा छैनन् । परीक्षणको दायरा साँघुरो हुँदा अन्य जिल्लाबाट पीसीआर गर्न सुर्खेत आउनुको विकल्प छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, स्वास्थ्य कार्यालय दैलेख र रूकुम–पश्चिमको सामुदायिक अस्पतालका प्रयोगशाला लामो समयदेखि बन्द छन् । गत वर्ष कोरोनाको तेस्रो लहरसम्म कर्णालीका चार वटै स्थानबाट पीसीआर परीक्षणको व्यवस्था मिलाइएको थियो । सम्भावित जोखिम न्यूनिकरणका लागि सरकारले अहिलेदेखि नै पूर्वतयारीमा ध्यान दिन जरुरी छ ।
प्रकाशित मितिः २४ श्रावण २०७९, मंगलवार ०५:०३
सम्पादकीय ।