आन्तरिक शक्तिको मूल्याङ्कन गर्दै एकीकृत समाजवादी
सुर्खेत: प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा भएसँगै नेकपा ‐एकीकृत समाजवादी)का नेताहरू जिल्लामा केन्द्रित भएका छन् । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर एकीकृत समाजवादीले कर्णाली प्रदेशमा आफ्नो शक्ति सन्तुलनको अवस्था बुझ्न थालेको हो । त्यसका लागि प्रदेश कमिटीका पदाधिकारीहरू जिल्ला–जिल्लामा खटिएका छन् । प्रदेश कमिटीको विस्तारित बैठकले आन्तरिक जनाधार बुझ्ने निर्णय गरेपछि पार्टीको शक्ति मूल्याङ्कन गर्न नेताहरू जिल्ला तथा निर्वाचन क्षेत्रहरूमा केन्द्रित भएको एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष मोहन बडुवालले बताए । उनका अनुसार जनस्तरमा पार्टीको आधार मापन गर्नका लागि प्रदेश कमिटीका पदाधिकारीलाई जिल्लाहरूमा खटाइएको हो ।
पार्टीको वस्तुस्थितिको पहिचान गरेर आसन्न निर्वाचनलाई परिणाममुखी बनाउन प्रदेश पदाधिकारीहरू अन्तरजिल्ला खटिएका छन् । शनिवारदेखि नेताहरू तोकिएको जिल्लामा गइसकेका छन् । पार्टीका प्रदेश कमिटी सचिवालय सदस्यसमेत रहेका बडुवालले नेताहरूले एक सातासम्म जिल्लामा रहेर पार्टीको अववस्थाको अध्ययन गर्ने छन् । त्यस क्रममा जिल्लास्थित सबै क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूसँग भेटघाट तथा छलफल गरी पार्टीको अवस्था र नेताको जनस्तरमा भूमिकाको विषयमा प्रतिवेदन तयार पारिने छ । सोही प्रतिवेदनका आधारमा पार्टीलाई प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार छनोटमा सहज हुने एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
प्रकाशित मितिः २४ श्रावण २०७९, मंगलवार ०५:०३
साझा बिसौनी ।