विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावक

विद्यालय भन्ने बित्तिकै पढाइ हुने ठाउँ भनेर दिमागमा घण्टी बज्छ । कतिपय व्यक्तिहरूले यसलाई आठ घण्टाको पिँजडा भनेर परिभाषित गरेको पाइन्छ । विद्यालयलाई शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना यसको अर्काे परिभाषा पनि हो ।

पाठ्यक्रमबारे राम्रो धारणा सरकारको मात्र छ । सरकारले केही विज्ञहरू छनौट गरेर पाठ्यपुस्तक तयार गर्छ । तिनै पाठ्यपुस्तकको बारेमा अध्यापन गराउने शिक्षक र अध्ययन गर्ने विद्यार्थी दुवै अञ्जान हुन्छन् । अनि शिक्षण विधि फेल, विद्यार्थी असफल । जुन विद्यार्थी अध्ययन गर्छ र जुन शिक्षक अध्यापन गराउँछ उसकैको विचारलाई नसमेटी तयार पारिएको शिक्षा प्रणाली हाम्रो जस्तो हुन्छ भनेर विगत कयौं वर्षदेखि खस्कदै गएको शिक्षाको नतिजालाई आधार मान्न सकिन्छ ।

विद्यालयबारे समाज र समाजमा बसोबास गर्ने विभिन्न व्यक्तिहरूले अभिव्यक्त गरेका भनाइलाई हेर्ने हो भने विद्यालयप्रति आम मानिसको धारणा निराशाजनक छ । लगभग जनसंख्याको अधिकांश हिस्सा शैक्षिक संस्था र नेपाल सरकारले पठनपाठन गर्दै आएको शिक्षण सिकाई विधिप्रति आजित छन् । हैरान् छन् । गाली गर्छन् । भन्छन् । रिसाउछन् ।

नतिजामा केही पनि देखिँदैन । शिक्षण सिकाई प्रक्रिमा परिवर्तन केही हुँदैन । उही पूरानो घोक्ने र परीक्षामा ओकल्ने अभ्यास बाहेक नयाँ केही पनि भएकै छैन । विद्यार्थीको आचरणमा त्यस्तो केही बदलाब आएको छैन । बानीमा त्यस्तो सुधार केही भएको छैन । दश बजे आउने र चार बजे घर फर्कने यो विद्यार्थीको दैनिकी बनेको छ । अर्थात् विद्यालयको परिभाषा बनेको छ ।

विद्यालय भन्ने बित्तिकै हरेक दिन केही न केही नयाँ सिक्ने ठाउँ हो भनेर परिभाषाभित्र कहिले पर्ला ? हामी शिक्षाविद्हरूका परिभाषा रटेर मख्ख छौं । विद्यालयको भवन सुविधाजनक भएकै कारणले गुणस्तरीय शिक्षाको ट्याग लगाई दिएका छौ“ ।

हामीले कुनै विद्धानको शिक्षासम्बन्धी भनाइ ओकल्नु भन्दा पहिले तिनी विद्यार्थीहरू जसले अध्ययन गरिरहेका छन्, उनीहरूसँग शिक्षाको परिभाषा सोध्नु पर्दैन ? उनीहरूले बुझेको गुणस्तरिय शिक्षाको परिभाषा महत्‍वपूर्ण हुँदैन ? यदि हुँदैन भने हामी उनीहरूलाई किन पढाइरहेका छौ“ ? जसलाई कुनै कुरा भनिरहेका छौ“, उसको रूचि, चाहाना, विचार पहिले सोधिनु र सुनिनु पर्छ । तब मात्र सोध्ने र सुन्ने मान्छेले सही राय दिन सम्भव हुन्छ ।

विद्यालयमा विद्यार्थीहरूका लागि उपयुक्त वातावरण हुन पनि आवश्यक हुन्छ । विद्यालयको भवन, बस्ने बेञ्च, कक्षा कोठा, सँगै बसेको साथी र कक्षा कोठामा शिक्षकले पढाउने विधि यिनीहरूलाई ठिक पार्न सके विद्यार्थीको पढाइ सन्तोषजनक हुनसक्छ ।

विद्यार्थी

कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत छात्र, छात्रालाई विद्यार्थी भन्ने हाम्रो मान्यता छ । यदी औपचारिक र अनौपचारिक शिक्षाको बारेमा कुरा गर्ने हो भने एउटा व्यक्ति जिन्दगीभर विद्यार्थी रहन्छ । तर, हामीले यहाँ विद्यालयस्तरका छात्र, छात्रका बारेमा कुरा गर्न खोजिरहेका छौ“ । जसभित्र १ कक्षा देखि १० कक्षासम्मका छात्र, छात्रा पर्दछन् । कक्षा एकदेखि दश कक्षा सम्मका छात्र, छात्राहरू सबै पक्षबाट कमजोर हुने हुनाले यो समय अपरिपक्वता र उत्सुकताको समय हो । यिनीहरूलाई जे भन्यो त्यही मान्छन् । जुन जानकारी दियो, त्यसैलाई सत्य ठान्छन् ।

समाजले दिनानुदिन जे सिकाउँदै जान्छ । त्यसबाट उनीहरू आफ्नो सामाजिक विश्वास र धारणा निर्माण गर्दै जान्छन् । विद्यालयको वातावरणले जे भन्छ, त्यही उनीहरूको सत्य बनिसकेको हुन्छ । विद्यालयमा भेटिएका साथीहरू उनीहरूका आफन्त बन्छन् । चोट लाग्यो भने मलम लगाउने सहयोगी बन्छन् । उनीहरूको सुख, दुःख, हासी, मजाक सबैको एउटा अभिन्न अङ्ग बनिसकेका हुन्छन् ।

उनीहरूले एकअर्काका बानीहरू साटफेर गर्छन् । विचार आदानप्रदान गर्छन् । उनीहरू जानीजानी केही गर्दैनन् । यो उमेर र समयमा उनीहरू स्वयम् अन्जान छन्, हुन्छन् । अन्जानमै उनीहरू आफ्नो जीवनको महŒवपूर्ण समय व्यतित् गर्दछन् । पछि मात्र थाहा हुन्छ, बचपनमा बिताएको अन्जान समय कति महŒवपूर्ण हुनेरहेछ ।

शिक्षक

विद्यार्थी जीवनमा बाबा–मामुको भन्दा पनि यदि कसैको सबैभन्दा बढी डर र विश्वास लाग्छ भने त्यो शिक्षकको हो । शिक्षकले जे भन्यो, त्यो अन्तिम सत्य लाग्छ । शिक्षकले जे गर्नु भन्यो उक्त कार्य हरहालतमा गरिन्छ ।

अहिले समय फेरिएको छ, बढ्दो विज्ञान र प्रविधिका कारणले विद्यार्थीहरू पनि अपडेट छन् । जसकारण अब विद्यार्थीहरूलाई मुर्ख बनाउन वा गलत पढाउन सकिने अवस्था छैन । पहिले विद्यार्थी शिक्षकले जे भने पनि हो मा हो मिलाउथे भने अहिले प्रश्न गर्न सक्छन् । प्रतिकार गर्न सक्छन् ।

शिक्षकले अझै पनि विद्यार्थीले जुन विश्वास गर्छन् । उक्त विश्वासको मूल्य तिर्न अल्छी गरिरहेका छन् । विद्यार्थीलाई प्रश्न सोध्ने बानीको विकास गर्नमा शिक्षकहरू कतै न कतै चुकेका छन् ।

शिक्षकलाई विद्यार्थी भगवानको स्तर दिन्छन् । कक्षाकोठामा आएर परिभाषा रटाउने व्यक्तिको स्तर भगवान बराबर हुन्छ ? कि शिक्षकले पढाउने बाहेक उनीहरूका व्यक्तिगत समस्या समाधानका लागि पनि कार्य गर्नु पर्छ ? अध्यारोदेखि उज्यालो दुनियाँमा ल्याउने व्यक्ति हो, शिक्षक अर्थात् गुरु ।

अभिभावक

घरलाई पहिलो विद्यालय भनिन्छ । विद्यालय, विद्यार्थी र शिक्षकलाई अझै जागरुक बनाउन महŒवपूर्ण भूमिका अभिभावकको हुन्छ । यदि कुनै अभिभावक आफ्ना सन्तानको पढाइ कस्तो भइरहेको छ ? नियमित विद्यालय उपस्थित हुन्छ कि नाई ? सुधार्नुपर्ने कुराहरू के–के छन् ? यस्ता खालका विषयमा ध्यान दिँदैनन् भने छोराछोरीको पढाइ बिग्रने सम्भावना हुन्छ ।

त्यसैले अभिभावकले उपयुक्त समय पारेर विद्यालयमा गई आफ्ना सन्तानको पढाइबारे सोधपुछ गर्नु अनिवार्य जस्तै हुन जान्छ । विद्यालय पठाएकै भरमा मेरो छोराछोरी शिक्षित हुँदै गइरहेका छन् भन्नु मुर्खता हो । विद्यालयमा तपार्इंको छोराछोरी उत्कृष्ट छन् । तर, आचरणमा शून्य छन् भने तपाईंलाई गाली कसले गर्छ ?

अभिभावक बेलाबेलामा विद्यालयमा उपस्थित भएर आफ्नो छोराछोरीको बारेमा चासो दिइरहनु पर्छ । यसले विद्यार्थीमा सकारात्मक प्रभाव पर्छ । जसले गर्दा विद्यार्थीको पढ्नमा रूचि बढ्छ ।

आज तपाईं भनेका स–साना काम र कुरा भोलि गएर तपार्इंका छोराछोरीमा संस्कारका रूपमा विकास भइसकेका हुन्छन् । त्यसैले तपाईंले घरमा तपाईंका छोराछोरीलाई के भनिरहनु भएको छ ? आफूले के गरिरहनु भएको छ ? यिनी ध्यान दिनुपर्ने कुरा हुन् ।

अन्त्यमा, विद्यालय, विद्यार्थी, शिक्षक र अभिभावक यिनी चारवटै तत्वहरूको सन्तुलित सहकार्य हुन सक्यो भने विद्यार्थीको पढाई राम्रो हुन्छ । यति गर्नसके उनीहरू आफ्नो क्षमता अनुरूप कार्य गर्नेछन् । चाहानाअनुसार बाँच्नेछन् ।

प्रकाशित मितिः   १८ श्रावण २०७९, बुधबार ०५:०२