‘फोहोर सफा नगरी विश्राम लिन्नँ’

सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक फोहोर सफा नगरेसम्म विश्राम नलिने बताएका छन् । पार्टीको मंगलवार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले राजनीतिको फोहोर सफा गर्नका संकल्प गरेको बताउँदै यसका लागि सहयोग गर्न सबैसँग अपिलसमेत गरे ।

‘अहिलेका राजनीतिक दलहरूको विकल्प नखोजेसम्म देशको समृद्धि सम्वभ छैन’ उनले भने, ‘विधि मिच्नेहरूबाट देशको भविष्य खोज्न सकिँदैन ।’

अब देशका विभिन्न ठाउँमा देखिएका फोहोर आफ्नो नेतृत्वमा सफा हुने सभापति लामिछानेले दाबी गरे । ‘अब म कसैलाई कुर्दिनँ,’ उनले भने, धेरै ठाउँमा देखिएका फोहोरलाई देखाउँदै गएँ तर फोहोर टिपिएन भरोसा गर्नलायक व्यक्ति कोही आएन, कोही आइदियोस् र जनताका समस्या सुनिदियोस् भनेर कुरिरहेको थिएँ तर कोही नआएपछि अब म आफै मैदानमा आएको छु ।’

लामिछानेले कर्णालीको कालीकोटमा बनाएको रास्कोट अस्पतालको ब्याजमार्फत आफू भोट माग्न नआएको टिप्पणी गरे । ‘मैले अस्पताल बनाएको छु भनेर भोट माग्न आएको हैन,’ उनले भने, ‘अब तपाईंको भोट खेर नजाओस्,’ उनले भने, ‘भविष्य निर्धारण गर्न विधिको शासन चाहिन्छ, विधि मिच्नेबाट देशको भविष्य खोज्न सकिँदैन ।’ अब परिवर्तन गर्ने संकल्प गरेर राष्ट्रिय स्वतन्त्र पार्टी आएको उनको भनाइ छ ।

नेताहरूले गरेका गल्तीका एक–एक हिसाब जनताले खोज्नु पर्नेमा समेत लामिछानेले जोड दिए । ‘कर्णालीका जनताहरू बिहान बेलुकी छाक टार्नका लागि भारतमा श्रम बेच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘नेतृत्वमा बसेकाहरू काठमाडौंमा चयनका साथ आराम गरिरहेका छन्, अब यस्तो नेतृत्व फेर्नुपर्ने बेला आएको छ ।’ उनले भोट हालिसकेपछि प्रश्न गर्ने बानीको विकास गर्न पनि कर्णालीवासीलाई आग्रह गरे ।‘अब यस्तो मतदाताको खाँचो छ जसले मत हालिसकेपछि कानमा तेल होइन घण्टी बजाओस् र आफ्ना नेताहरूलाई प्रश्न गरोस्,’ उनले भने ।

प्रकाशित मितिः   १८ श्रावण २०७९, बुधबार ०५:०१