सडक निर्माणमा हेलचक्य्राइँ

स्थानीय सरकार गठन भएदेखि गाउँ–गाउँमा धमाधम सडकका ट्रयाक खोलिए । जनप्रतिनिधिहरूबीच बस्ती–बस्तीमा सडक पु¥याउने होेडबाजी नै चल्यो । अहिले तीनै सडकले सुविधाभन्दा बढी सास्ती दिइरहेका छन् । वातावरणीय र प्राविधिक पक्षको ख्यालै नगरि बनाइका सडकले बाढी–पहिरोजस्ता विपत्ति निम्त्याइरहेका हुन् । कर्णालीका अधिकांश स्थानीय तहले निर्माण गरेका सडक प्रयोगविहीन छन् । यी सडक हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुन्छन् । यसपटकको वर्षात् सुरु भएसँगै पालिकाको केन्द्र र वडाहरू जोड्ने सडकैपिच्छे पहिरो खसेको छ । सडकको मर्मत र स्तरोन्नति नहुँदा बर्खायाममा सडक ठप्प छन् । करोडौँ बजेट खर्चिएर बनाइएका सडकमा वर्षाले माटो बगाएपछि बाटो कि खोला चिन्नै नसकिने अवस्था छ । यसैपनि प्राकृतिक विपद्को उच्च जोखिम रहेको कर्णालीमा जथाभावी सडक निर्माण गर्दा त्यसले बाढी–पहिरो र भूक्षणको खतरा झनै बढेको छ ।

कर्णालीका १० वटै जिल्ला पहाडी र हिमाली भू–भागमा अवस्थित छन् । भौगोलिक अवस्था जटिल छ । अधिकांश भू–भागमा भिरालो जमिन छ । त्यही भिरालो जमिनमा रहेका बस्तीमाथि सडक खनिएका छन् । सडक पूर्वाधार निर्माणमा हेलचक्य्राइँ गर्दा पछिल्ला वर्षहरूमा थप जोखिम बढेको हो । ट्रयाक खुलेदेखि स्तरोन्नति नभएका सडकमा केही महिना मात्रै गाडि चल्छन् । ग्रामीण सडक हरेक वर्ष बारम्बार अवरुद्ध भइरहन्छन् । वातावरणीय प्रभाव मूल्यांकन र प्राविधिक स्टमेटविना धमाधम सडक खन्दा विपत्ति निम्तिने गरेको हो । चालकको भरमा स्काभेटर लगाएर गाउँ–गाउँसम्म सडक पु¥याए । त्यसको असर अहिले देखिन थालेको छ । अधिकांश सडक जीर्ण हुँदा सवारी साधन गुड्ने अवस्था छैन । विकास ओसार्ने मुख्य आधार सडक निर्माणमा सबै पालिकाले जोड दिएपनि त्यसको गुणस्तर र स्तरोन्नतिमा भने बेवास्ता गरेका छन् ।

छरिएर रहेका बस्तीमा हचुवामा सडक निर्माण गरिएका छन् । जसले गर्दा बर्सेनि ठूलो जनधनको क्षतिसमेत हुँदै आएको छ । सडकमा सानो पानी पर्दा पनि ठूलो पहिरो आउने, सडक चिरा पर्ने र बाढीको जोखिम बढ्ने गरेको हो । डोजरले खनेका सडकमा पहिरो खसिरहने समस्या हुन्छ । संघीय र प्रदेश सरकारजस्तै पालिकाहरूको प्राथमिकतामा पनि सडक पूर्वाधार पर्ने गरेको छ । तर, बजेटको ठूलो हिस्सा सडक निर्माणमा खर्च गरिएपनि त्यसअनुसारको उपलब्धी भने हासिल हुन सकेको छैन । अघिल्लो कार्यकालका अनुभवबाट सिकेर आगामी दिनमा नयाँ सडक निर्माणलाई भन्दा पुराना सडकको स्तरोन्नतिमा जोड दिनुपर्ने देखिन्छ । पहिरोको जोखिम रहेका ठाउँमा सडक निर्माणमा प्राविधिक पक्षको बेवास्ता गरिँदा थप जोखिम आउन सक्छ । यसतर्फ स्थानीय सरकारको ध्यान जान आवश्यक छ ।

प्रकाशित मितिः   १५ श्रावण २०७९, आईतवार ०५:०३