सार्वजनिक यातायात सुधार

कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा सार्वजनिक सवारी साधनको भरपर्दो सेवा छैन । नगरपालिकाले पाँच वर्ष अघिदेखि नगर बस सञ्चालनको तयारी गरेपनि त्यसले सार्थकता पाउन सकेको छैन । उपत्यका भित्रका छोटो दूरीमा आउजाउ गर्ने सार्वजनिक सवारी साधनका रूपमा अहिले अटोरिक्सा मात्रै छ । त्यसैको भर पर्नुपर्छ । सार्वजनिक सवारीका लागि एक मात्र विकल्प अटोरिक्साको सञ्चालन तथा व्यवस्थापन भने व्यवस्थित हुन सकेको छैन । विशेष गरेर भाडादरमा मनपरी हुने गरेको छ । अटोरिक्सा सञ्चालनमा आएदेखि सुविधा भएपनि भाडा अचाक्ली महँगो तिर्नुपरेको नगरबासीको गुनासो छ । छोटो दूरीमा पनि अटो चालकले मनपरी चर्को भाडा असुल्ने गरेका हुन् । सार्वजनिक यातायात सहज र सुलभ नहुँदा यात्रुहरू मर्कामा पर्ने गरेका छन् ।

अटोरिक्साको भाडादरबारे नगरपालिका, जिल्ला प्रशासन, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय सबैले संयुक्त रूपमा अनुगमन गर्ने गरेपनि यात्रुहरूको गुनासो कम भएको छैन । अटोमा निर्धारित भाडादर नटासेका कारण पनि यात्रुहरू ठगिने गरेको पाइएको छ । गएको वैशाखमा निर्धारण गरिएको भाडादर अनुसार पक्की सडकमा न्यूनतम् २० रूपैयाँ र त्यसपछि प्रति किलोमिटर आठ रूपैयाँका दरले भाडादर तोकिएको छ । त्यस्तै, कच्ची सडकमा न्यूनतम् २० र प्रति किलोमिटर थप १२ रूपैयाँ भाडादर तोकिएको छ । रिजर्भ जाँदा भने न्यूनतम् २० र त्यसपछि प्रतिकिलोमिटर ३० रूपैयाँ लिन पाइने व्यवस्था गरिएको छ । तर, यो भाडादर भने कडाइका साथ कार्यान्वयनमा आउन नसकेको बताइएको छ । उपत्यकाभित्रका जुनसुकै रुटमा एक सयभन्दा बढी भाडा नतोकिएपनि अटो चालकले दुई सयदेखि तीन सयसम्म भाडा लिने गरेको यात्रुहरूले बताउने गरेका छन् । प्रभावकारी अनुगमन र नियमन नहुँदा यात्रुहरू ठगिने समस्या बढ्दो छ । यात्रुहरूका गुनासो आउन थालेपछि बेला–बेलामा नगरपालिकाले अनुगमन गर्छ । अनुगमनका क्रममा अटोहरूले निर्धारण गरेको भाडाभन्दा बढी लिने गरेको पाइएको छ । यस विषयमा नगरपालिकाले व्यवसायीहरूलाई सचेत गराएको पनि छ । तर व्यवसायीहरूले त्यसलाई बेवास्ता गर्दै आएका छन् । आफूअनुकूल भाडा लिइरहेका छन् ।

अटोरिक्साको संख्या दिनप्रति दिन बढ्दै छ । वीरेन्द्रनगर नगरपालिकामा दर्ता भएर हाल आठ सय अटोरिक्सा सञ्चालनमा छन् । अटोरिक्सा सञ्चालन व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक निर्देशिका र कार्यविधि पनि बनाएको छ । अटो व्यवसायलाई व्यवस्थित गर्न २०७५ सालमै अटो सञ्चालन व्यवस्थापन निर्देशिका बनाई नगरपालिकाले सोहीअनुसार अटोरिक्सा सञ्चालन गर्न व्यवसायीलाई भनेको छ । निर्देशिकामा नगरपालिकाका विभिन्न रुटमा सञ्चालन हुने अटो रिक्साको भाडादर निर्धारण गरिएको छ । पछिल्लो पटक गएको वैशाख ५ गते भाडादर तोकिएको थियो । यसको कार्यान्वयनमा भने बेवास्ता गर्दा व्यवसायीहरूले मनपरी गरेका छन् ।

प्रकाशित मितिः   १३ श्रावण २०७९, शुक्रबार ०५:०३