एसईईमा कर्णालीको नतिजा कमजोर

सुर्खेत: माध्यमिक शिक्षा परीक्षा (एसईई)मा कर्णाली प्रदेशको नतिजा कमजोर देखिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधवार सार्वजनिक गरेको नतिजामा अन्य प्रदेशभन्दा कर्णालीको नतिजा कमजोर छ ।

बोर्डले पहिलो पटक प्रदेशगत रूपमा नतिजा सार्वजनिक गरेको हो । संघीयता लागू भएदेखि हालसम्म प्रदेशको आधारमा नतिजा सार्वजनिक भएको थिएन । प्रदेशअनुसार सार्वजनिक गरिएको नतिजा हेर्दा कर्णाली सबैभन्दा कमजोर पाइएको हो ।

सरकारले तोकेको मापदण्डअनुसार ४ जीपीए ल्याउने विद्यार्थीलाई सबैभन्दा ‘अब्बल’ मानिन्छ । त्यसपछि ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीलाई उच्च अंक (ए–प्लस) ल्याएको मानिएको छ । प्रदेशगत तथ्यांक हेर्दा ३.६ देखि ४ जीपीए ल्याउनेमा सबैभन्दा धेरै बागमती प्रदेशका विद्यार्थी छन् भने सबैभन्दा कम ल्याउनेमा कर्णाली प्रदेशका विद्यार्थी छन् । बागमती प्रदेशको तुलानामा कर्णालीमा ए–प्लस ल्याउने ४०.३६ गुणा थोरै विद्यार्थी छन् ।

बागमतीमा चार हजार ६ सय दुई जना विद्यार्थीले ए–प्लस ल्याउँदा कर्णालीमा एक सय १४ विद्यार्थीले मात्र सो ग्रेड प्राप्त गरेका छन् । कर्णालीभन्दा सुदूरपश्चिमको नतिजा राम्रो आएको छ । सुदूरपश्चिम प्रदेशमा एक सय ९५ विद्यार्थीले ए–प्लस ल्याएको देखिएको छ ।

बागमतीमा सहभागी परीक्षार्थीमध्ये ४.२८ प्रतिशतले ए प्लस हासिल गरेका छन् । जबकि कर्णालीमा कूल सहभागीमध्ये ०.३ प्रतिशतले मात्र ए–प्लस ल्याएका छन् । यस पटकको एसईईमा कर्णालीबाट ३७ हजार तीन सय ६२ परीक्षार्थी सहभागी थिए ।

त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउनेमा पनि कर्णाली कमजोर छ । प्रदेशका नौ सय ५१ विद्यार्थीले मात्र ‘ए’ ल्याएका छन् । सुदूरपश्चिमका एक हजार तीन सय सात, गण्डकीमा तीन हजार पाँच सय एक, लुम्बिनीका पाँच हजार दुई सय ४३ र प्रदेश नम्बर १ का ६ हजार नौ सय ५५ परीक्षार्थीले ‘ए’ ल्याएका छन् । २.८ देखि ३.२ जीपीए ल्याउनेमा पनि कर्णाली र सुदूरपश्चिम पछाडि छन् । कर्णालीमा चार हजार ३५ र सुदूरपश्चिममा तीन हजार आठ सय ३८ विद्यार्थीले उक्त ग्रेड
ल्याएका छन् ।

कर्णालीका १० हजार ७३ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन् । त्यसैगरी सात हजार सात सय ७६ जनाले १.६ देखि २.० जीपीए ल्याएको तथ्यांक परीक्षा बोर्डले सार्वजनिक गरेको छ । १.२ देखि १.६ जीपीए ल्याउने कर्णालीको संख्या कर्णालीमा दुई हजार नौ सय ९४ जना छन् भने ०.८ देखि १.२ जीपीए ल्याउने एक सय ७५ विद्यार्थी छन् ।

प्रकाशित मितिः   १३ श्रावण २०७९, शुक्रबार ०५:०१