सवारी चापसँगै बढ्दो सडक असुरक्षा

सुर्खेत: प्रदेश राजधानी भएसँगै वीरेन्द्रनगरमा सवारी साधनको चाप बर्सेनि बढ्दो छ । सवारी साधनको संख्या अत्यधिक हँुदा सडक दुर्घटनाको जोखिम पनि बढेको छ । वीरेन्द्रनगरका व्यस्त सडकमा दैनिकजसो साना–ठूला गरी दर्जनौँ दुर्घटना हुन्छन् । वीरेन्द्रनगरमा मात्रै नभइ हाल ग्रामीण भेकमा समेत सवारी साधनको चाप बढ्न थालेको जनाइएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको संख्यामा वृद्धि हुनु, सडक संरचना अव्यवस्थित हुनु तथा ट्राफिक नियमको पालना नहुनुले दुर्घटनाको जोखिम हरेक वर्ष बढ्दो क्रममा रहेको बताएको छ ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुुख ‐प्रहरी उपरीक्षक) भुुवनेश्वरी तिवारी सवारी साधनको अत्यधिक चाप भएपनि सोहीअनुसार सडक सुरक्षामा खटिने प्रहरीको संख्या भने न्यून रहेको बताउँछन् । उनका अनुसार जनशक्ति अभाव र आर्थिक कारोबारसमेत अपारदर्शी भएको गुनासो आउन थालेपछि पछिल्लो समय सवारी इन्ट्री तथा चेकजाँचसमेत सिमित ठाउँमा मात्रै गर्ने गरिएको छ । ‘सडकमा चौपाया छाडा छोड्ने, बजार क्षेत्रमा फुुटपाथमा पसल तथा निर्माण सामग्री राख्नेजस्ता प्रवृत्तिले पनि ट्राफिक व्यवस्थापनमा चुनौती छ,’ तिवारीले भने ।

गत आर्थिक वर्ष २०७८÷०७९ मा सवारी दुर्घटनामा परी कर्णालीमा एक सय ८० जनाको ज्यान गएको प्रदेश ट्राफिक प्रहरीको तथ्यांक छ । गएको वर्ष विभिन्न सडक दुर्घटनामा तीन सय ६२ जना गम्भीर घाइते र पाँच सय ८८ जना सामान्य घाइते भएका थिए । प्रहरीको विगत तीन वर्षको तथ्यांकअनुसार कर्णाली प्रदेशभर सडक दुर्घटनामा परी तीन सय ९२ जनाको ज्यान गएको छ ।

सडक दुर्घटनाको जोखिम बढ्न थालेपछि न्यूनीकरणका लागि प्रहरीले सचेतनादेखि कारबाहीसम्मका कार्ययोजना अघि सारेको छ । दुर्घटना कम गर्न उच्च जोखिममा रहेका सडक खण्डहरूमा तत्काल टाइम कार्ड लागू गर्न लागिएको प्रहरी उपरीक्षक तिवारीले बताए । प्रहरीका अनुसार मुख्यगरी कर्णाली राजमार्गमा दिनहुँजसो सवारी दुर्घटना भइरहेका छन् । यो राजमार्गमा जीर्ण र साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढी रहेको हो । कर्णाली राजमार्ग लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन । टाइम कार्ड लागू भएपछि दुर्घटना न्यूनीकरण हुने ट्राफिक प्रहरीको विश्वास छ । ‘जोखिम धेरै भएका कर्णाली राजमार्गसहित अन्य सडक खण्डमा तत्काल टाइम कार्ड लागू गर्दैछौँ,’ तिवारीले भने, ‘सुर्खेत–दैलेख सडक खण्डमा यसअघि नै टाइम कार्ड लागू गरिसकिएको छ ।’ यो सिस्टम लागू गर्दा सार्वजनिक सवारी साधनको गति नियन्त्रणमा आउने र दुर्घटनाको जोखिम कम हुने उनी बताउँछन् ।

त्यस्तै, सडक सुरक्षाका लागि प्रहरीले पार्किङ व्यवस्थापन, सडक बत्ति जडान, ट्राफिक संकेत र बेवारिसे पशुचौपाय व्यवस्थापनलगायतका योजना ल्याएको छ । ती योजना सम्बन्धित सरोकारवाला निकायको समन्वय तथा सहकार्यमा अघि बढाइनेछ । नयाँ सवारी चालकलाई कक्षा सञ्चालनदेखि विद्यार्थी सचेतनासम्मका कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रहरीले सडक सुरक्षा कायम गर्न ‘लभ थट्टी’ कार्यक्रम, प्रत्येक वर्ष साताव्यापी रूपमा ट्राफिक ‘डे’ मनाइने जनाइएको छ । दुर्घटना न्यूनीकरणका लागि कारबाहीभन्दा पनि चेतनामूलक कार्यक्रममा बढी जोड दिइएको प्रहरीको दाबी छ । गएको एक वर्षमा नियमविपरीत सञ्चालन भएका सवारी साधन र चालकको कारबाहीबाट प्रदेशभर तीन करोड ३२ लाख ६३ हजार राजस्व संकलन भएको छ । यस्तै, चालक र यात्रुमैत्री कक्षा सञ्चालन, मादक पदार्थ सेवनविरुद्ध अभियानसमेत सञ्चालन गर्ने योजना रहेको प्रदेश ट्राफिक प्रहरीले बताएको छ । प्रहरी उपरीक्षक तिवारीले मुख्य राजमार्ग, सहायक मार्ग र बजार क्षेत्रमा आवश्यकता अनुसार विभिन्न स्थानमा सीसीटिभी जडान र ट्राफिक लाइट राख्न पहल गरिने बताए । त्यसका लागि स्थानीय तह र उद्योग वाणिज्य संघहरूसँग पहल गरिने भएको हो ।

सुुरक्षा र सवारी व्यवस्थापनका लागि ओभरहेड ब्रिज, सब–वे र जेब्राक्रसिङ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको प्रहरीले जनाएको छ । यात्रु सहायता कक्ष स्थापना गर्ने, स्थानीय निकाय, यातायात व्यवसायी, नागरिक समाज र प्रहरीबीच समन्वय प्रभावकारी बनाउने तथा आर्थिक अनियमिततामा शून्य सहनशिलताको नीति अवलम्बन गरिने प्रहरी उपरीक्षक तिवारीको दाबी छ । सवारी चालक अनुमति–पत्र ‐लाइसेन्स) को लिखित र ट्रायल परीक्षामा सीसीक्यामेराको प्रयोग बढाउने र जुुम्लामा लिइँदै आएको लाइसेन्स प्रणालीलाई पारदर्शी निष्पक्ष र जनउत्तरदायी बनाउने लक्ष्य राखिएको जनाइएको छ । भौतिक पूर्वाधार र स्रोत–साधनको अभावमा सेवा प्रवाहमा भने कठिनाइ छ । प्रदेशभर दुई सय नौ जना ट्राफिक प्रहरी कार्यरत छन् भने प्रदेश ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवनसमेत छैन । वीरेन्द्रनगरस्थित उपत्यका नगर विकास समितिले उपलब्ध गराएको स्थानबाट प्रदेश ट्राफिक प्रहरीको कार्यालय सञ्चालन भइरहेको छ । कर्णाली प्रदेशमा दर्ता भइ सञ्चालनमा रहेका विभिन्न प्रकृतिका सवारी साधन मात्रै १९ हजार एक सय एक छन् । सवारी साधनको तुलनामा ट्राफिक जनशक्ति निकै कम छ । खासगरी सडक प्रयोगकर्ता तथा सवारी चालकलाई ट्राफिक सचेतनाको अभाव र अटेरीपनाका कारण पनि ट्राफिक नियमको उल्लघंन हुने गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मितिः   १३ श्रावण २०७९, शुक्रबार ०५:०५