पश्चिमका प्रस्तावित शिक्षालय: कतै सम्बन्धनको पर्खाइ, कहीँ बजेट अभाव
सुर्खेत: पाँच वर्षअघि चौकुुने गाउँपालिकाको पहिलो गाउँसभाले वडा नं. ५ को तोस्रामा वन विज्ञान क्याम्पस सञ्चालन गर्ने नीतिगत निर्णय ग¥यो । त्यसका लागि क्याम्पस व्यवस्थापन समिति गठन गरियो । प्रस्तावित नरहरीनाथ वन विज्ञान क्याम्पस स्थापनास्थल जानकी, मालिका र मायाताल सामुुदायिक वनको गरी ३० बिगाह जग्गामा तारबार भयो । बजेट व्यवस्थापन गरेर २०७४ बाटै क्याम्पसका भौतिक संरचना निर्माणको काम अघि बढाइयो । एक वर्षअघि नै निर्माण सम्पन्न भइसकेको क्याम्पसको दश कोठे भवन अहिलेसम्म प्रयोगमा भने आउन सकेको छैन । सम्बन्धित निकायबाट अध्यापन अनुमतिका लागि स्वीकृति मिलेको छैन । सम्बन्धन नपाउँदा त्यहाँका भौतिक संरचना बेवारिसे बनेका छन् ।
क्याम्पस सञ्चालनको सम्बन्धनका लागि चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा फाइल पेस गरिएको छ । अध्यापन स्वीकृतिका लागि प्रक्रिया थालेको लामो समय भइसक्दा पनि अझै अन्योल कायमै रहेको क्याम्पस पूर्वाधार निर्माण समितिका संयोजक हरिप्रसाद अधिकारीले बताए । ‘प्रक्रियागत रूपमा फाइल पेस गरेपनि त्यसको नतिजा आउन सकेको छैन्,’ उनले भने, ‘सम्बन्धनको टुँगो नलाग्दा क्याम्पस सञ्चालनमा अन्योल देखिएको छ ।’ उक्त प्रस्तावित शिक्षालयको भवन निर्माणमा सांसद पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको २५ लाख र गाउँपालिकाको २९ लाख गरी ५४ लाख रकम खर्च भएको छ । त्यस्तै, क्याम्पस क्षेत्रको घेरबारका लागि डिभिजन वन कार्यालय सुुर्खेतमार्फत पाँच लाख बजेट खर्च गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट अनुमतिका लागि अनुगमन गर्न आएका प्रतिनिधिले क्याम्पस सञ्चालनका लागि उपयुुक्त ठाउँ नभएको बताएका थिए । स्थानीयका अनुसार फिल्ड अवलोकनका क्रममा उनीहरूले क्याम्पस सञ्चालनका लागि आवश्यक जनसंख्या, विद्युुत, सञ्चारजस्ता पूर्वाधार नरहेको औंल्याएका हुन् । अवस्था अवलोकनको प्रतिवेदन भने अहिलेसम्म आएको छैन ।
नागरिकस्तरबाट थालिएको क्याम्पस सञ्चालन अभियानको स्वामित्व सरकारले नलिँदा पनि प्रक्रियागत काममा ढिलाइ भइरहेको पूर्वाधार निर्माण समिति संयोजक अधिकारी बताउँछन् । उनी भन्छन्, ‘क्याम्पस सञ्चालनको अपनत्व स्थानीय र प्रदेश सरकारले लिन नसक्दा सोचेअनुरूप काम अघि बढ्न सकेन ।’ उनका अनुसार क्याम्पसका लागि दश कोठे दुई वटा भवन बनेपनि सामुुदायिक वनको जग्गा स्वामित्वमा आएको छैन । यस्तो अवस्थामा क्याम्पसले सम्बन्धन नपाउँदा पनि स्थानीय सरकारलेसमेत कुुनै चासो नदिएको बताइएको छ । सरोकारवालाको बेवास्ताका कारण जुन उद्देश्यले क्याम्पस सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको थियो त्यो नै अस्तव्यस्त बनेको अधिकारीको भनाइ छ ।
चौकुुने गाउँपालिकाकै वडा नं. ७ गुटमा कृषि क्याम्पस सञ्चालनका लागि २०७५ भदौदेखि भौतिक संरचना निर्माणको काम थालियो । हाल त्यहाँ क्याम्पसको भवन निर्माणको काम भइरहेको छ । क्याम्पसको १८ कोठे भवनको टेण्डरमार्फत निर्माण कार्य चलिरहेको हो । उक्त प्रस्तावित क्याम्पस सञ्चालनका लागि बजेट जुटाउन महायज्ञ सञ्चालन गरिएको थियो । २०७६ कार्तिक २२ देखि २९ गतेसम्म महायज्ञ लगाएर डेढ करोड रकम संकलन गरियो । सो रकम भवन निर्माणको लागि जग्गा खरिदमा खर्च गरिएको थियो । व्यक्तिको ९२ रोपनी जग्गा खरिद गरी भवन निर्माण थालिएको कृषि क्याम्पस सञ्चालन समितिका अध्यक्ष मोहन बडुवालले बताए । उनका अनुसार १८ कोठे भवन अन्तर्गत आउँदो मंसिरसम्म नौ कोठे भवनको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । २०८० जेठसम्म भवन निर्माणका सबै काम सम्पन्न गरिसक्नुुपर्ने सम्झौता छ । चौकुनेमा कृषि क्याम्पस सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा एक करोड बजेट विनियोजन गरेको थियो । उक्त भवनको निरन्तरताको लागि गएको आर्थिक वर्ष २०७८÷०७९ मा पनि एक करोड बजेट प्रदेश सरकारले दिएको थियो ।
क्याम्पस सञ्चालन गर्न धमाधम संरचना बनिरहेपनि अध्यापन अनुमतिको भने यहाँ पनि टुँगो लागेको छैन । ‘हामीले यो अवधिसम्म पढाइ सुरु गरिसक्ने लक्ष्य राखेका थियौँ,’ बडुवालले भने, ‘तर अहिलेसम्म सम्बन्धित निकायबाट सम्बन्धन पाउन सकिएको छैन ।’ उनका अनुसार यसअघि क्याम्पसको सम्बन्धनका लागि मध्यपश्चिम विश्वविद्यालयसँग प्रक्रिया अघि बढाइएको थियो । कोरोना महामारीले गर्दा काम समयमा नै सम्पन्न नभएपछि उक्त विश्वविद्यालयसँगको सम्बन्धन प्रक्रिया भने टुटेको छ । हाल क्याम्पसको सम्बन्धनका विषयमा त्रिभुुवन विश्वविद्यालयसँग संवाद र आवश्यक पहल भइरहेको बडुवालले बताए ।
सोही गाउँपालिकाको तोस्रामा जनजागृति माध्यमिक विद्यालयको निर्माणाधीन भवन दुुई वर्षदेखि अलपत्र छ । विद्यालयमा सिभिल इन्जिनियरिङको तीन वर्षे डिप्लोमा पढाइ सञ्चालनका लागि चार कोठे भवन निर्माण थालिएको थियो । प्रदेश सरकारले २० लाख बजेट दिएपछि भवनको काम सुरु गरिएको विद्यालयका प्रधानाध्यापक दिपेन्द्र शर्माले बताए । उनका अनुसार प्रदेशबाट भवन निर्माणका लागि २० लाख बजेट उपलब्ध भएपनि त्यसमध्ये चार लाख मात्रै खर्च भयो । काम समयमै सम्पन्न नहुुँदा १६ लाख बजेट फ्रिज गयो । २०७७ असारसम्म निर्माण सम्पन्न हुुनुपर्नेमा ढिलाइ गरिँदा बजेट कार्यान्वयन नभएको हो । विद्यालयको भवनका लागि प्रदेशको चार लाख, गाउँपालिकाको १४ लाख र विद्याललयको दुुई लाख गरी जग मात्रै बसालिएको छ ।’ बाँकी काम लथालिङ्ग अवस्थामा छ । प्राविधिक शिक्षाका लागि भवन निर्माण सुरु गरिए पनि बजेट अभावमा काम अघि बढ्न नसकेको प्रधानाध्यापक शर्मा बताउँछन् । निर्माण पूरा गर्न प्रदेश सरकारसँग थप रकमका लागि पहल भइरहेको उनले बताए ।
रजनी याेगी ।