एसईईको नतिजा सार्वजनिक

परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६ सय ३३ रहेको छ । कर्णाली प्रदेशमा एक सय १४ जनाले उक्त जीपीए ल्याएका छन् ।

काठमाडाैँ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । बुधवार सार्वजनिक नतिजाअनुसार परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६ सय ३३ रहेको छ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार लाख ९५ हजार सात सय ५१ जना विद्यार्थी सहभागी भएका थिए । एसईईमा ४१ हजार ६ सय २७ जनाले ३.२० देखि ३.६०, ६९ हजार नौ सय जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार सात सय ५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएका छन् ।

सबैभन्दा धेरै एक लाख १२ हजार सात सय ३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् भने एक लाख पाँच सय ९४ जनाले १.६ देखि २ जीपीए प्राप्त गरेका हुन् । १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार पाँच सय ८६ र ०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार दुई सय ८० रहेको छ । नतिजा अनुसार कर्णाली प्रदेशमा एक सय १४ जनाले ३.६ देखि ४ जीपिए ल्याएका छन् । एसईईमा कर्णालीबाट ३७ हजार तीन सय ६२ जनाको नतिजा सार्वजनिक भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् । शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो । एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

प्रकाशित मितिः   ११ श्रावण २०७९, बुधबार १७:२८