बजारमा बदमासी

बजारमा खाद्य सामग्रीमा मिसावट गर्ने र अखाद्य वस्तुको बिक्री गर्नेजस्ता बदमासी बढ्दै गएको पाइएको छ । कर्णालीका अधिकांश बजार क्षेत्रमा अखाद्य वस्तुको बिक्री हुने गरेको अनुगमनका क्रममा भेटिने गरेको हो । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत म्याद गुज्रिएका र मिसावट गरिएका अखाद्य वस्तुको बिक्री हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । विभिन्न निकायले अनुगमन गरी कैफियत भेटिएमा आवश्यक कानुनी कारबाही अघि बढाएपनि बजारको बेथिति कम हुन सकेको छैन । खाद्य वस्तुको गुणस्तर जाँच तथा अनुगमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पछिल्लो एक वर्षमा प्रदेशभरका विभिन्न जिल्लामा एक सय ३१ पटक अनुगमन गरेको छ ।

कार्यालयको कार्यक्षेत्र अन्तर्गत सुर्खेत, दैलेख, जाजरकोट, रुकुम–पश्चिम, डोल्पा र हुम्ला पर्छन् । गएको आर्थिक वर्षमा ती जिल्लाका बजारहरूबाट नौ लाख १० हजार चार सय ६३ रूपैयाँ बराबरका म्याद गुज्रेका सामान नष्ट गरिएको छ । एक वर्षको अवधिमा सात वटा खाद्य उद्योगलाई कारबाहीका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिएको कार्यालयले जनाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार कारबाहीका लागि सिफारिस गरिएको यो तथ्यांक अघिल्लो वर्षको भन्दा बढी हो । कार्यालयले गएको आर्थिक वर्षमा होटल तथा रेष्टुरेन्टहरूको ५३ पटक अनुगमन गरेको छ । त्यस्तै, खाद्य उद्योग ८० पटक र दाना उद्योगहरूमा ६ पटक अनुगमन गरिएको छ । होटलहरूमा लोगो स्तरीकरण र नवीकरणका काम एक पटक गरिएको छ । यसैगरी सडक छेउछाउमा खुल्ला रूपमा बिक्री हुने खाद्य पदार्थको स्वच्छता अभिवृद्धि तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । गत आर्थिक वर्षमा दुध, तेल तथा पानी उद्योगहरूमा २४ पटक अनुगमन गरिएको कार्यालयले जनाएको छ । ४६ वटा खाद्य वस्तुको नमुना संकलन र पाँच वटा दाना उद्योगबाट नमुना संकलन गरिएको छ । खाद्य बजार अनुगमन लक्ष्यभन्दा बढी गरिएको बताइएको छ ।

पछिल्ला वर्षहरूमा बजारमा केही सुधारका संकेत देखिएपनि व्यवसायीको प्रवृत्तिमा सुधार आउन सकेको छैन । बजारमा म्याद गुज्रेका, मिसावट गरेका र सडेगलेका सामानसमेत बिक्री गर्ने गरेको पाइएको छ । त्यस्ता अखाद्य वस्तु नष्ट गर्ने र व्यवसायीहरूलाई सचेत गराउने काम समेत गरिँदै आएको जाइएको छ । खाद्यान्न, दलहन र सोबाट बनेका, तेल तथा घ्यू, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, मसला, चिया, कफि, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, नुन, मासु र दानालगायतका वस्तुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्छ । यस्ता खालका सबैजसो खाद्य वस्तुमा व्यवसायीले बदमासी गरेर बिक्री वितरण गर्ने गरेको भेटिँदै आएको छ ।

प्रकाशित मितिः   ११ श्रावण २०७९, बुधबार ०५:०३