खानेपानी संकट टार्न जल परियोजना

कर्णालीका १७ स्थानीय तह छनोट, चार वटामा यसै वर्ष आयोजना निर्माण गरिने

सुर्खेत: खानेपानी समस्या झेल्दै आएका स्थानीय तहहरूमा जल परियोजनामार्फत योजनाहरू सञ्चालन हुने भएका छन् । खानेपानीको संकट समाधानका लागि परियोजना लागू गर्न कर्णालीका १७ वटा स्थानीय तह छनोट भएका छन् । तीमध्ये चार वटा स्थानीय तहका दर्जनौँ योजनाको काम यसै आर्थिक वर्षबाट सुरु गरिएको छ । कर्णाली जल परियोजनाले स्थानीय तहसँगको समन्वयमा काम थालेको हो । परियोजनाले अहिले छनोट भएका क्षेत्रको योजना तर्जुमा, स्टेमेट तयारलगायतका कामहरू अघि बढाएको छ । जलाधार संरक्षण तथा खानेपानी आयोजना निर्माण पूर्वका कार्यहरू भइरहेका हुन् । कर्णालीका चार पालिकाको जलउपयोग गुरुयोजना तयार भइसकेकाले यो आर्थिक वर्षदेखि काम अघि बढाइएको परियोजना उपप्रमुख नारायण वाग्लेले जनाए । जल परियोजनाले विशेष गरेर खानेपानी आयोजना निर्माण तथा सञ्चालनमा जोड दिएको उनले बताए । यूएसएआइडी कर्णाली जल परियोजनाले चार वटा जलाधार क्षेत्रमा रहेर काम थालेको छ । ‘चालु आर्थिक वर्षमा कर्णालीका चार वटा स्थानीय तहमा कार्यक्रम सम्पन्न हुुनेछन्,’ वाग्लेले भने, ‘अन्य पालिकामा आवश्यकताका आधारमा प्रारम्भिक अध्ययन तथा योजना छनोटका काम भइरहेका छन् ।’ यो वर्ष मुगुको सोरु गाउँपालिका र छायाँनाथ रारा नगरपालिका तथा कालीकोटको खाँडाचक्र नगरपालिका र सुर्खेतको बराहताल गाउँपालिकामा खानेपानी आयोजनाहरू निर्माण गरिने भएको छ ।

कार्यक्रम अन्तर्गत खाँडाचक्र नगरपालिकामा विपन्न तथा पिछडिएको बस्तीमा ६ वटा खानेपानी योजना छनोटमा परेको नगर प्रमुुख कमलबहादुुर शाहीले बताए । उनले त्यहाँ हाल परियोजनाका प्राविधिकद्वारा पूर्वाधार निर्माणका लागि सर्भेको काम चलिरहेको जनाए । स्थानीय तहको ३० प्रतिशत र परियोजनाको ७० प्रतिशत लगानीमा खानेपानी योजनाहरू अघि बढाइएको हो । मुगुको छायाँनाथ रारा नगरपालिकामा पनि ६ वटा योजना छनोट भएर काम सुरु गरिएको छ । नगर प्रमुख विष्णुकुुमार भामले सबै गरी झन्डै दुई करोडका योजना रहेको जनाए । उनका अनुसार त्यसमा पालिकाले २५ लाख बजेटको व्यवस्थापन गरेको छ । उक्त पालिकामा योजना निर्माणको काम भने कार्तिकबाट थाल्ने तयारी रहेको जनाइएको छ । परियोजनाले जनसंख्या र भूगोललाई आधार मानेर योजना छनोट गरिरहेको छ । सोरु गाउँपालिकामा आठ वटा योजना छनोटमा परेका छन् । त्यहाँ हाल सम्भाव्यता अध्ययन, योजनाको प्राथमिकरणलगायतको काम अघि बढाइएको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले जानकारी दिए ।

परियोजनाले स्थानीय तहमा खानेपानीसम्बन्धी कानुन तर्जूमा गर्न सहयोग गर्ने, खानेपानीका आयोजना सञ्चालन गर्ने, स्रोतको संरक्षण र गाउँ तथा नगर सरसफाइ योजनाहरू निर्माण गर्नेछ ।

त्यसैगरी, सुर्खेतको बराहताल गाउँपालिकामा पूर्वाधार निर्माणको काम थालिएको छ । उक्त पालिकामा खानेपानी आयोजनाको काम अघि बढेको हो । परियोजना अन्तर्गत सुर्खेतका तीन पालिका चयन गरिएकोमा चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा योजना छनोटको काम भइरहेको छ । बराहतालमा नौ वटा योजना छनोट भइसकेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले बताए । ‘स्थानीय तहमा दर्ता भएका पानीका मुल पहिचान गरी अति आवश्यक परेको ठाउँमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ काम अघि बढेको छ,’ उनले भने । आयोजनाहरू निर्माणका लागि पालिकाले पनि आवश्यक बजेटको व्यवस्था गर्न लागेको उनले बताए ।

जुम्लाको तिला गाउँपालिकामा पनि परियोजनाले काम अघि बढाएको छ । उक्त पालिकामा हाल स्टेमेट तयार गर्ने र योजना प्र्राथमिकरणका काम चलिरहेका हुन् । कालीकोटका चार स्थानीय तहमध्ये खाँडाचक्र नगरपालिकामा पूूर्वाधारको काम सुरु भइसकेको छ भने महाबै गाउँपालिका, तिलागुुफा नगरपालिका, शुभकालिका गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा योजना छनोटका काम भइरहेका छन् । यस्तै, मध्य कर्णाली जलाधार क्षेत्र अन्तर्गत दैलेखका पाँच स्थानीय तहमा पनि योजना छनोटको काम थालिएको छ । मुगुका तीन स्थानीय तहलाई समेटेर रारा खत्याड जलाधार क्षेत्र अन्तर्गत काम थालिएको छ । तिला कर्णाली जलाधार क्षेत्र अन्तर्गत कालीकोटका पाँच स्थानीय तह र जुम्लाको एक स्थानीय तहमा काम सुरु गरिएको छ । तल्लो कर्णाली जलाधार क्षेत्रमा सुर्खेतका तीन स्थानीय तहमा परियोजना लागू गरिने भएको आयोजनाले जनाएको छ ।

खानेपानीका आयोजना निर्माण तथा जलाधार संरक्षणका लागि सम्बन्धित जलाधार क्षेत्रमा कार्यालय स्थापना गरिसकिएको परियोजना उपप्रमुख वाग्लेले बताए । परियोजनाले स्थानीय तहमा खानेपानीसम्बन्धी कानुुन तर्जूमा गर्न सहयोग गर्ने, खानेपानीका आयोजना सञ्चालन गर्ने, खानेपानीका स्रोतको संरक्षण र गाउँ तथा नगर सरसफाइ योजनाहरू सञ्चालन गर्नेछ । उनका अनुसार कर्णाली, सुुदूर–पश्चिम र लुम्बिनी प्रदेशमा गरी देशभर २९ स्थानीय तहमा जल परियोजना लागू गर्न लागिएको छ । त्यसमध्ये कर्णालीका मात्रै १७ वटा स्थानीय तह छनोटमा परेका हुन् । चार वटा जलाधार क्षेत्रभित्र पर्ने पिछडिएको र खानेपानीको अभाव भएका क्षेत्रको पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ । खानेपानीको स्रोतको संरक्षण गर्ने मुख्य उद्देश्य रहेको वाग्ले बताउँछन् । परियोजना लागू गर्न छनोट भएका कतिपय पालिकामा बजेट तोकिएको छैन । स्टेमेट तयार भइसकेपछि परियोजनाले आवश्यक बजेट विनियोजन गर्ने बताइएको छ । स्थानीय तहमा सर्भे तथा जलउपयोग गुरुयोजना तयार गर्ने र त्यसमा समावेश भएका योजनाहरू कार्यान्वयन गर्दै लैजाने परियोजनाले जनाएको छ ।

प्रकाशित मितिः   ७ श्रावण २०७९, शनिबार ०५:०५