पुष्पलाल स्मृति दिवसमा वृक्षारोपण

सुर्खेत: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसमा वृक्षारोपण गरिएको छ । नेकपा (एमाले) वीरेन्द्रनगर–५ वडा कमिटीको आयोजनामा कालीका मन्दिर वेद्यडाँडा पदमार्ग आसपासमा विरुवा रोपिएको हो । वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेकपा ‐एमाले)का स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले पुष्पलालको तस्बिरमा माल्यणपर्ण गर्दे कम्युनिष्ट पार्टी निर्माणमा श्रेष्ठको योगदानको चर्चा गरे ।

पुष्पलाल स्मृतिमा वेद्यडाँडा पदमार्ग क्षेत्रमा ६ सय विरुवा रोपिएको छ । हर्रो, अमला, बेलपत्र, गुलमोहरलगायतका विरुवा रोपिएका हुन् । वडा कमिटी अध्यक्ष बासु आचार्यले कम्युनिष्ट आन्दोलनका संस्थापक नेताको सम्झनामा वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको बताए । उनले पुष्पलालको राजनीतिक व्यवहार र आदर्शलाई सबेले सधैं सम्झना गरिरहनुपर्ने जनाए । वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) का विभिन्न तहका नेता, प्रदेशसभा सदस्यहरू, नगर तथा वडाका जनप्रतिनिधि, व्यवसायी र नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो । १५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा उपचारका क्रममा भारतमा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । उनको स्मृति दिवसका अवसरमा हरेक वर्ष विविध कार्यक्रम गरिँदै आएको छ ।

प्रकाशित मितिः   ७ श्रावण २०७९, शनिबार १९:२४