असफलताकै निरन्तरता
कर्णाली प्रदेश सरकारले वार्षिक बजेट कार्यान्वयनको असफलतालाई निरन्तरता दिएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ मा पनि लक्ष्यअनुसार बजेट खर्च गर्न नसकेपछि विगतकै असफलताले निरन्तरता पाएको हो । प्रदेश सरकारले यो वर्ष कूल विनियोजित बजेटको ७७.०३ प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य लिएकोमा ६२.३७ प्रतिशत मात्रै खर्च गरेको छ । लक्ष्यभन्दा झन्डै १५ प्रतिशत कम बजेट कार्यान्वयन भएको हो । संघीय सशर्त अनुदानसहितको गरी कूल ३८ अर्ब ४७ करोड ४२ लाख ७९ हजारमध्ये असार २५ गतेसम्म २३ अर्ब ९९ करोड ७० लाख ५९ हजार सात सय ७५ रूपैयाँ खर्च भएको छ ।
प्रदेश सरकारले मात्रै चालू आर्थिक वर्षमा कूल ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट ल्याएको थियो । जसमध्ये चालूतर्फ १३ अर्ब ७८ करोड २९ लाख ९६ हजार ६ सय ९८ रूपैयाँ बजेटमा नौ अर्ब १२ करोड ८१ लाख २४ हजार तीन सय ४८ रूपैयाँ खर्च भएको छ । पुँजीगततर्फ विनियोजित २४ अर्ब ५७ करोड ४१ लाख ३२ हजार तीन सय दुईमध्ये १४ अर्ब ७५ करोड १७ लाख ८५ हजार चार सय २६ रूपैयाँ खर्च गरिएको छ । पछिल्लो १० दिनमै १० अर्ब बढी बजेट खर्च गर्दा पनि सरकारले लक्ष्य भेट्न सकेन । असार १५ देखि २५ गतेसम्म १० अर्ब २३ करोड ४९ लाख ४३ हजार रूपैयाँ खर्च गरिएको हो । यसपालि पनि बजेटको ठूलो हिस्सा असारमै खर्च भएको छ । जेठ मसान्तसम्म सरकारले समग्रमा ३०.२० प्रतिशत बजेट कार्यान्वयन गरेको थियो । त्यसयताका २५ दिनमा आधाभन्दा बढी अर्थात् ३२.१६ प्रतिशत थप बजेट खर्च भएको छ ।
सुरुवातदेखि नै प्रदेश सरकार बजेट खर्चमा असफल हुँदै आएको छ । पहिलो पटक आर्थिक वर्ष २०७४र०७५ को अन्तिम चौमासिकमा कुल एक अर्ब दुई करोड पाँच लाख बराबरको बजेट ल्याउँदा त्यसको सात प्रतिशत मात्रै खर्च भएको थियो । त्यसयता चार वटा पूर्ण बजेट कार्यान्वयनमा आइसकेका छन् । तर चार वटै आर्थिक वर्षमा प्रदेश सरकार कार्यान्वयनमा भने असफल हुँदै आएको छ । आर्थिक वर्ष २०७५र०७६ मा ३५.३७ प्रतिशत खर्च गरेको सरकारले त्यसको पछिल्लो वर्ष २०७६/०७७ मा ४९.१४ प्रतिशत बजेट कार्यान्वयन गरेको थियो । गत आर्थिक वर्ष २०७७र७८ मा ६५.०८ प्रतिशत बजेट खर्च भएको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा कम खर्च भएको छ । बजेट कार्यान्वयनको अवस्थामा उल्लेखनीय सुधार नहुँदा खर्चको लक्ष्यमा प्रदेश सरकार सधैँ असफल हुँदै आएको छ ।
प्रकाशित मितिः २८ असार २०७९, मंगलवार ०५:०२
सम्पादकीय ।